बाबुराम र प्रचण्डका अक्षम्य गल्ती

२०७५ भदौ १७ आइतबार १०:३३:०० मा प्रकाशित

कुनै पनि व्यक्ति, त्यो पनि समकालीनका बारेमा केही लेख्नु अलिकति अप्ठ्यारो र अलिकति जोखिमको पनि विषय हो । लेखनको पात्र रिसाउँछ कि भनेर सोच्ने हो भने त त्यस्तो काममा हात नहाल्नु नै बेस हुन्छ । म चाहिँ आफ्नो ब्रह्मले देखेको कुरा लेख्दा कोही रिसाउँछ भने रिसाइरहोस् भन्ने सोच भएको मानिस भएकाले त्यस्तो समस्याबाट मुक्त छु । म जसको बारेमा लेख्न खोज्दैछु यिनी अन्तर्यमा म जस्ता मान्छेसँग पहिले नै रिसाइसकेका छन् त्यसैले पनि रिसाउने पो हो कि भन्ने डर मानिरहनु परेन भनेर ढुक्क छु ।

मैले आज जसका नाममा यी दुई चार हरफ कोर्ने जमर्को गरिरहेको छु ती व्यक्ति हुन् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । यो सानो लेख लेख्ने प्रेरणा भने मेरा प्रिय भाइ जीबा लामिछानेले यिनका विषयमा फेसबूककै भित्तामा लेखेको टिपोटले दिएको हो । यिनका बारेमा मैले कुन नयाँ कुरो लेख्छु होला र ? भनेर तपाइँहरूलाई मेरो यो अभ्यास नै बेकम्मा लाग्यो होला । हो, लामै समयको दोहोरो परिचय र केही समयको संगत भए पनि मसँग गोर्खा लुइँटेलतिरका यी इन्जिनियरका बारेमा लेख्ने खासै नयाँ कुराहरू भने छैनन् । त्यसैले पढ्नेहरूलाई मेरा यी हरफहरू बेकारका लाग्न सक्छन् । त्यसो भयो भने मलाई माफ गरिदिनु होला ।

बाबुरामले उच्च शिक्षा हासिल गरेका छन् । कडा मेहेनत गरेर नै हुनु पर्छ आफ्नो कुनै पनि कक्षामा कहिल्यै दोस्रो नभएको इर्ष्यालाग्दो रेकर्ड बनाएका छन् यिनले । कोर्सबूक बाहेक पनि धेरै पढ्ने मानिस मानिन्छन् यी । विकास र मार्क्सवादको सम्बन्धको सेरोफेरोमा पर्ने विषयमा पीएचडी गरेका व्यक्ति भएकाले यिनले यी दुइटै गहन र जटिल विषयका पाएसम्म धेरै पुस्तक पढे होलान् भन्ने सहज अनुमान गर्न सकिन्छ । भ्रान्त साम्यवादी उग्रवादका अनुयायी यिनले त्यस विचार-डबलीसम्म आइपुग्ने क्रममा साम्यवाद र त्यसका विपर्याय अरू वाद सम्बन्धी साहित्यको पनि विशद अध्ययन गरे होलान् ।

तर, बाबुरामको करीब ४ दशक लामो राजनीतिक जीवनमा उनले लिएका निर्णयहरू र गरेका कामहरूको अलि गहिरिएर अध्ययन गर्ने हो भने एउटै निश्कर्षमा पुग्न सकिन्छ - यिनले अक्षरहरू त धेरै नै पढेछन् तर विद्या आर्जन गर्न भने सकेन छन् । विद्याले मानिसलाई विनयी बनाउँछ । विद्याले मानिसमा सहृदयता भरिदिन्छ । विद्याले मानिसको मनबाट आफू मात्र ठीक भन्ने रूढाग्रह हटाइदिन्छ । विद्याले व्यक्तिमा आफ्नो-पराइ, धनी - गरीब, बलिया-निर्धा, बुद्धिमान - मूर्ख सबै प्रकारका मानिसहरूलाई समभावले हेर्ने दृष्टिकोणको विकास गराइदिन्छ । विद्याले मानिसलाई हाँस्न र हँसाउन सिकाउँछ । यी सबैभन्दा महत्वपूर्ण कुरो, विद्याले एउटा व्यक्तिभित्र आफ्नो ज्यानै जाने भए पनि एउटा मानिसले गर्नै नहुने कुरा नगर्ने चट्टानी साहस भरिदिन्छ ।

डाक्टर भट्टराईको देह- मुद्रा, भाव-भंगिमा, र सार्वजनिक जीवनको लामो क्यारिअरमा उनले गरेका निर्णय र कामहरू हेर्दा उनले त्यति धेरै पढेर पनि विद्याले प्रदान गर्ने माथि लेखिएका एउटा गुण पनि लिन नसकेको प्रष्ट थाहा हुन्छ । 

यिनले मार्क्सवाद र अरू विपर्याय वादहरूका विषयमा लेखिएका जतिवटा किताब खारे पनि एक्काइसौं शताब्दीको नेपालको सामाजिक आर्थिक वास्तविकताको बारेमा भुटिभाङ थाहा पाएका रहेन छन् भन्ने कुरा रुकुम रोल्पातिरबाट छापामार लडाइँ थालेर अन्त्यमा केन्द्रीय सत्ता कब्जा गर्ने जस्तो हावादारी अभियानमा पार्टीलाई झोस्ने प्रस्तावमा सहमति जनाएकोबाट प्रष्ट हुन्छ । यिनले लिएका ठूला डिग्रीहरूले यिनलाई सहज मानवीय विवेकबाट टाढा पो धकेलिदिएका रहेछन् ।

 यिनको हृदयमा मानवताप्रति कुनै सम्मानको भाव छैन । यिनको नजरमा मान्छेको ज्यानको कुनै मूल्य नभएकोले गर्दा नै हो यिनी तथाकथित जनसरकारको प्रमुख हुँदा यिनको पार्टीको भन्दा फरक मत राख्ने सय्यौं निर्दोष मानिसहरूको सफाया गरिएको थियो । आफ्नो दुस्साहसी राजनीतिक अभियानको वलिवेदीमा यिनको पार्टीले १७ हजार भन्दा बढी मानिसहरूको हत्या मात्र गरेन, हज्जारौँलाई घाइते र घरबारविहीन बनाएर अलपत्र पनि पारिदियो ।

- भोलि जनतासँग जवाफदेह हुनु पर्दछ भन्ने सामान्य कुराको हेक्का नराखेर यिनको पार्टीले जसरी बम र बारूदको दुरुपयोग र्गयो, जसरी अर्बौं रुपियाँ पर्ने सार्वजनिक सम्पत्ति नष्ट र्गयो र यिनले जुन निस्पृह भावले हिंसा र आतंकको त्यो ताण्डवलाई देखेको नदेखै गरिरहे त्यसले प्रमाणित गर्दछ यिनमा दूरदृष्टि, सहज विवेक, र मानवीय सम्वेदनाको नितान्त अभाव छ ।

 - प्रधानमन्त्री भएका बेलामा यिनले गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारी र दैलेखका डेकेन्द्र थापा हत्याकाण्डको अनुसन्धान प्रक्रिया रोक्न जुन शैलीमा प्रयास गरे त्यो सरासर गलत थियो । कानूनको रक्षा गर्नुपर्ने पदमा पुगेको व्यक्तिले त्यो गर्नै नहुने काम थियो । यिनले ओखलढुंगाका हत्याको मामिलामा दण्डित बालकृष्ण ढुंगेललाई पक्राउ पर्न नदिन पनि ठूलै कसरत गरेका थिए । ती घटनाहरूले पुष्टि गर्दछन् यी डाक्टरको मनमा विधि विधान, पदीय मर्यादा र न्यायपालिकाप्रति अलिकति पनि सम्मान छैन ।

- यिनलाई नेपालको इज्जत, अखण्डता, स्वाधीनता र अहिलेको समयमा सवैभन्दा जरूरी भएको सामाजिक सद्भावप्रति कुनै लगाव छैन । यस देशमा जातीय राज्यको विषाक्त बतास यी र यिनका नेता प्रचण्डले नै चलाएका हुन् । भारत र मधेसका प्रसंगमा पनि यिनी सबैथरी जनताको सदभावपूर्ण प्रयत्नबाट मजबूत हुने सिङ्गो राष्ट्र नेपाललाई भन्दा भारत र त्यसको स्वार्थका प्यादा बनेका केही नेताहरूका पक्षमा रहँदै आएका छन् ।

- भट्टराई र प्रचण्डले मिलेर लोकतान्त्रिक पद्धतिमा चल्न कष्टकर अभ्यास गरिरहेको देशलाई थप दिग्भ्रमित बनाउँन सर्वोच्च अदालतको बहालवाला प्रधान न्यायाधीशलाई सुनको किस्तीमा राखेर प्रधानमन्त्रीको पद मात्र सुम्पेनन् अख्तियारले नै दण्डित गरेको व्यक्ति लोकमान सिंह कार्कीलाई त्यहीँको प्रमुख बनाइदिएर संवैधानिक सिद्धान्त र कानूनको राज्यको धज्जी उडाइदिए ।

- बाबुरामलाई स्वच्छ छविको नेता मानिन्छ । मलाई पनि लाग्छ उनी घूस खाँदैनन् । तर उनको पहिलेको पार्टीले जनयुद्धका नाममा गरेको लूट(खसोट, खासगरी नक्कली लडाकूहरूको तलबी भर्पाइ खडा गरि चप्काएको ७र८ अर्ब रुपियाँका बारेमा यिनले अहिलेसम्म मौनव्रत लिएको देख्दा यिनको स्वच्छ छविमा गाढा दाग छ भन्न मन लाग्छ ।

- भट्टराईले ढिलै भए पनि प्रचण्डको हैकमको साङ्लो चुँडालेर थोरै साहस देखाएका हुन् । तर यिनले देखाउनु पर्ने तहको साहस अझै देखाउँन सकेका छैनन् । यिनले कथित जनयुद्ध शुरु गराएर नेपाली जनता र विश्व मानवता प्रति जुन घोर अन्याय गरेका थिए त्यसका लागि नयाँ शक्ति पार्टी खोल्ने बेलामा नै सारा संसारसँग कान समाएर माफी माग्ने हिम्मत जुटाउन सक्नु पर्दथ्यो ।

- भट्टराईको स्वभाव रुखो छ । गम्भीर प्रकार्को हीन ग्रन्थी भएको मान्छे जस्तो सधैं अररो देखा पर्छन् । हाँस्न पनि जान्दैनन् जस्तो छ । देशका लागि साँच्चिकै उपयोगी व्यक्ति हुनचाहने हो भने यिनले कडा तपस्या गरेर आफूलाई पूरै बदल्न सक्नु पर्दछ । यस जुनीमा यसो गर्न सम्भव होला न होला भन्न सकिँदैन ।(वरिष्ठ पत्रकार अधिकारीको फेसबूक वालबाट साभार)

ताजा खबर