‘ म विरुध्द ठूलो षड्यन्त्र गरियो’

२०७४ श्रावण ५ बिहीबार ११:५६:०० मा प्रकाशित

चुनाव लड्नुभयो तर मतपरिणाम आएको छैन,कस्तो अनुभव गर्नुहुन्छ?

आज देशमा स्थानीय तहको चुनाव भएको छ त्यसमा म एकदमै खुशी छु। स्थानीय तहको चुनावले सरकार,देश र जनता सबैमा उत्साह जागेको छ । मेरो उम्मेदवारी परेको भरतपुर जिल्ला चर्चाको शिखरमा रह्यो । सबैतिरबाट चर्चाको बिषय बन्यो। मिडियाको त झन् केन्द्रविन्दु नै भयो । अब यस्तो परिस्थिति होला भनेर मैले सोचेकी पनि थिइन। यस्तो परिस्थितिको सामना गर्नुपरेको छ, एकदमै दुखित बनाएको छ। अहिलेसम्म पनि परिस्थितिको सामना गरिरहेकी छु। हामी सबै के हुन्छ र कहिले हुन्छ भन्ने कुरा पर्खेर बसेका छौं। निर्णय सर्वोच्च अदालतमा बिचारधीन छ र सर्वोच्चले निर्णय दिन पनि सकेको छैन। यसले सबैलाई दुखित र निराश बनाएको  छ । छिटो भन्दा छिटो निर्णय भईदिए हुन्थ्यो भनेर हामी पर्खिरहेका छौं । खै अब के हुने हो!

कहिलेसम्म रिजल्ट आउँला भन्ने आशा गर्नुभएको छ त? 

खै कहिलेसम्म भन्ने नै भएन । सर्वोच्च अदालत खाली समय मात्र तोक्छ । अब ८ गतेको समय तोकेको छ । त्यो पनि के हुने हो थाहा छैन । अब आशा गरेर बस्ने बाहेक अरु के नै बिकल्प रह्यो र । यसले हामीलाई एकदमै निराश बनाएको छ र हामी छिटो भन्दा छिटो रिजल्ट बाहिर आए हुन्थ्यो भनेर बसेका छौं । प्रचलित नियम र कानुनका आधारमा अदालतले चाँडै फैसला देओस भन्ने हाम्रो चाहना हो । फैसला नआउँदा उम्मेदवार र यहाँका जनतालाई बढी नै टर्चर भएको छ।

तपाईको मिसन राजनीति नै हो कि अरु नै केही छ?

म जनयुद्धकाल देखि नै राजनीतिमा लागेकी हुँ । आफ्नो सबै इच्छा र चाहनालाई त्यागेर जनताको सेवा  गर्छु भनेर म राजनीतिमा लागेकी हुँ । आज २० वर्ष भयो राष्ट्र र जनताको सेवा गर्छु भनेर हिँडेकी, जुन निरन्तर छ र निरन्तर रहन्छ । मैले आफ्नो एसएलसीको परीक्षा पनि जनयुद्ध कै बीचमा दिएकी हुँ । मुलुक परिवर्तनको लागि केही नभनी आन्दोलनमा होमिएकी हुँ । जनता र राष्ट्रको हित बाहेक मेरो मनमा अरु केही पनि छैन।

प्रचण्डजीको परिवारमा राजनीतिक उत्तराधिकारी तपाईँ कि प्रकाश?

उत्तराधिकारी अहिले नै तोक्न मिल्दैन । यो त राष्ट्रको आवश्यक्ता र समयको माग अनुसार हुने कुरा हो । हाम्रो पार्टीको अध्यक्ष प्रचण्डजी मुख्य अभियन्ता भएर देश र जनताको लागि गरेको कामको मूल्याङकन तपाई आफँै पनि गर्न सक्नुहुन्छ । उहाँ देश र जनताको लागि कति लाग्नु भएको छ भन्ने कुरा मलाई भन्दा बढि तपाईंलाई नै थाहा छ । फेरि उत्तराधिकारी परिवार भित्र कै हुनुपर्छ भन्ने पनि हुँदैन । परिवार बाहिरको पनि हुनसक्छ । हाम्रो पार्टीले अहिलेको चलनचल्तीलाई मान्दा पनि  मान्दैन । उत्तराधिकारी परिवार भित्रकै हुनुपर्छ भनेर हाम्रो पार्टीले कहिले भन्दैन।

तपाईं त काठमाडौबाट संसदीय चुनाव लडेको नेता किन चितवन महानगर पुग्नुभयो, यहीँ पनि त चुनाव लड्न सक्नुहुन्थ्यो नि?

म पहिले सभासद भएर काम गरेकी हूँ । दोस्रोमा चुनाव नै लडेकी थिएँ । अब अहिले उम्मेदवार बनें । मलाई उम्मेदवार नै बन्नुपर्छ भन्ने बाध्यता पनि थिए । यो रहर पनि होइन । पार्टी र जनताले मप्रति विश्वास देखाएको र मभित्रको क्षमतालाई बाहिर उजागर गर्नको निम्ति मैले मेयर पदमा उम्मेद्वारी दिएकी थिएँ । मलाई पार्टीले सर्वसम्मत निर्णय गरेर पठाएको हो । म पार्टीको इमान्दार सिपाही भएकी हुनाले मैले पार्टीको निर्णय स्वीकार गरेकी हुँ।

भरतपुरमा नै मतगणना रोकिनु नियोजित थियो कि संयोग मात्र हो , कि तपाईं विरुध्दको षाडयन्त्र हो,के भन्नुहुन्छ?

हो, म माथि षड्यन्त्र नै भएको हो । मतगणनाको क्रममा चार हजारको मतान्त्तर हुँदासम्म पनि हामी जनाताको माग अनुसार धैर्यसाथ बसेका थियौं । जब ७३३ मतको फरक आयो, हामीले मत घटाउँदै लग्यौं । त्यसपछि त घटनाक्रम यति धेरै देख्न थालियो कि भन्ने कुनै आधार नै छैन । प्रतिस्पर्धी साथीहरु अनावश्यक गतिविधि गर्नतिर लाग्नुभयो । मतपेटिकाको छिनाझम्टी नै हुनथाल्यो र केही मत च्यातिए पनि । प्रतिस्पर्धीहरुले माओवादीले चार पाँचवटा मत च्याते भनेर आरोप पनि लगाउनु भयो तर बाँकी ८५ वटा मत च्यातिएको जिम्मेवारी एमालेले लिने कि नलिने त?

हामीलाई एकदमै बद्नाम गर्ने काम भयो । शुरुदेखि नै उहाँहरुले यति धेरै प्रहार गर्नुभयो कि, यतिसम्म पनि भयो कि कांग्रेस–माओवादीका नेताहरु मैदानमा छन् भन्ने हिसाबले प्रचारप्रसार नै गर्न थाल्नु भयो । म माथि भष्ट्रकरणको आरोप समेत लगाइयो । घटना एकदमै दुखदायी छ, जुन हुनै हुँदैनथ्यो । अब घटना भयो भनेर बस्ने भन्दा पनि निकास खोज्नेतिर लाग्नु उचित हुन्छ जस्तो मलाई लाग्छ । अब कसरी समाधान गर्ने भनेर हिड्नुपर्छ । अब नियम र कानुनलाई आत्मसाथ गरेर अगाडि जानु नै उचित हुन्छ।  
प्रस्तुति : सुकृत नेपाल       

ताजा खबर