सिन्धुलीले गर्यो राष्ट्रकवि दम्पत्तिको सम्मान  

२०७४ श्रावण ५ बिहीबार ११:२४:०० मा प्रकाशित

काठमाडौं,५ साउन । सिन्धुली बाङ्मय प्रतिस्ठानले राष्ट्रकवि माधव घिमिरे दम्पत्तिलाई सम्मान गरेको छ ।

राष्ट्रकवि घिमिरे दम्पत्तिलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल’ ले दोसल्ला ओढाएर सम्मान गरे। नेपाली साहित्यका धरोहर राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट बुधबार राजधानीमा सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

त्यस अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाब्यकार उमानाथ शास्त्रीजस्ता मुर्धन्य साहित्यकारलाई जन्म दिएको संस्मरण गर्दै त्यहाँका साहित्यकारहरुबाट सम्मानित हुन पाउँदा आफू हर्षले गद्गद् भएको बताए। उनले सिन्धुली जिल्ला टेक्ने आफ्नो अझै चाहना रहेको बताउँदै नेपाली साहित्यमा सिन्धुली जिल्लाका श्रष्टाहरुको योगदानलाई भुल्न नसकिने बताए।

प्रतिष्ठनाका अध्यक्ष अञ्जुलले नेपाली साहित्यमा यति उचाइ लिएको साहित्यकार ब्यक्तित्वलाई सिन्धुली जिल्लाका सम्पूर्ण साहित्यकारहरुको तर्फबाट सम्मान गर्न पाउँदा आफूहरुले गौरव महसुस गरेको बताए। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनाअनुसारको साहित्यकारहरुको एकै ठाउँमा वस्ती बसाउने योजनामा प्रतिष्ठान अघि बढेको बताए।

त्यस अबसरमा साहित्यकारहरुले राष्ट्रकविसँग अन्तक्र्रियासमेत गरेका थिए । उनीहरुले राष्ट्रकविले जीवनकालमा प्राप्त गरेका पदक, सम्मान पत्र, उपहारलगायत रहेको संग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रकवि घिमिरेलाई सम्मान गर्न  शारदा पहाडी, गोविन्दराज शिवाकोटी, लीलानाथ घिमिरे, अम्बिका शर्मा, सीता श्रेष्ठ, कृष्णहरि घिमिरेलगायतका २० जना श्रष्टा राष्ट्रकवि घिमिरे सदन पुगेका थिए ।  
 

ताजा खबर