बेनी–जोमसोम–कोरला सडकमा ४ पुल निर्माण सुरु

२०७४ बैशाख १८ सोमबार १०:५०:०० मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १८ वैशाख । म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हुँदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ ।

दानाको घट्टेखोला, मुस्ताङ घाँसाको खहरेखोला, मार्फाको स्याङखोला र कागबेनी खोलामा पक्की मोटरेबल पुल निर्माण सुरु भएको हो । यी स्थानमा मोटरेबल पुल नहुँदा खोलामा बाढी आउँदा सडक अवरुद्ध हुने गरेको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गतका मोटरेबल पुल निर्माण कार्य सडक डिभिजन कार्यालय बाग्लुङले ठेक्का प्रक्रिया अघि बढाएको थियो । चार वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु २४ करोड ८८ हजार ३०२ मा ठेक्का सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका लेखा अधिकृत कर्णबहादुर बोहोराले बताए ।

चारवटै पुल निर्माणका लागि सम्झौता गरेका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन् । दानाको घट्टे खोलामा फेवा नयाँबाटो जेभीले रु पाँच करोड ७६ लाख ८० हजार ५५६ र घाँसाको खहरेखोला सिरुवा कन्ट्रक्सनले रु पाँच करोड ९२ लाख २९ हजार १०५ मा ठेक्का सम्झौता गरेका छन् ।

यसैगरी मार्फाको स्याङखोलाको ११५ मिटर लामो पुल निर्माणका लागि मुक्तिनाथ श्रीगीता जेभीले रु नौ करोड ५१ लाख १९ हजार १३७ र कागबेनी खोलाको पुल बनाउन गभाला रफिना जेभी काठमाडाँैले रु दुई करोड ८८ लाख ५१ हजार ५०४ मा ठेक्का सम्झौता गरेका छन् । चारवटै पुल २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

बेनीदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकालाई जोड्ने १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि सडक विभागले बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरेको छ । ७६ किमी दूरीको बेनी–जोमसोम सडकलाई कालोपत्र र ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि गर्न लागिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दी–मुस्ताङखण्डको काम गर्न सञ्चालित आयोजनाले जोमसोम कोरलाखण्डमा सात र बेनी जोमसोमखण्डमा चार वटा प्याकेजमा स्तरवृद्धिको काम अघि बढाएको छ ।

सडक स्तरवृद्धि र कालोपत्रसँगै हाल रहेका बेलिब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ । बेनी–जोमसोमखण्डमा सात वटा बेलिब्रिज छन् भने जोमसोम कोरलाखण्डका खोलामा पुल नहुँदा मौसमी रुपमा यातायातका साधन सञ्चालन हुने गरेका छन् । रासस

ताजा खबर