आज इद–उल–जुहा मनाइँदै

२०७५ भदौ ६ बुधबार ११:०८:०० मा प्रकाशित

पोखरा, ६ भदौ । इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।

तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिए ।

पोखरामा दश हजारको हाराहारीमा रहेका मुश्लिम समुदाय खुशीयालीका साथ पर्व मनाउन जुटेको उनले बताए । यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको धर्मगुरु मियाँले बताए ।


उपराष्ट्रपति पुनद्धारा बकर इदको शुभकामना

काठमाडौँ, ६ भदौ । उपपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–इद (इद उल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले आज जारी गरेको शुुभकामना सन्देशमा सो पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन् ।

सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच आपसमा सुदृढ एकता कायम राख्ने र देशमा बकर–इद (इद उल जोहा) पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सन्देशमा नेपालको विविध धार्मिक तथा साँस्कृतिक मान्यताको धनी हाम्रो देशमा मनाइने बकर–इद पर्वको विशेष महत्व रहेको र यस पर्वका अवसरमा मुलुकमा स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण मद्दत पुग्ने उल्लेख छ । रासस

ताजा खबर