कैलाश मानसरोवरले हजारौंको ध्यान तान्यो,भारतीय दर्शनार्थी बढ्दै

२०७५ भदौ ५ मंगलबार १९:५४:०० मा प्रकाशित

रसुवा । भारी वर्षा र ठाउँ ठाउँमा सडक अवरोध भए पनि रसुवागढी नाकाबाट मानसरोवर कैलाशतर्फ जाने धार्मिक यात्रु दिनानुदिन बढ्न थालेका छन् । 

रसुवागढी नाकाबाट मानसरोवर कैेलाशको दर्शनार्थ जाने भारतीय तीर्थयात्रुको सङ्ख्या गत वैशाखदेखि यही भदौ ४ गतेसम्म चार हजार ७३२ पुगिसकेको अध्यागमन कार्यालयले जनाएको छ । गत साउन ११ गते टिमुरे नजिक घट्टेखोलाको पुल र भदौ २ गते धुञ्चेस्थित त्रिशूली नदी क्षेत्रको सडकमा अवरोध आए पनि सडक पार गर्दै सो अवधिमा मात्रै ७३१ भारतीय तीर्थयात्रु मानसरोवर कैलाश गएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ । 

प्रवेशाज्ञा प्रणालीबाट टे«किङ एजेन्सीमार्फत् स्थलगत र हेलिकोप्टरबाटस्याफ्रुबेंसीतर्फ मानसरोवर यात्रु आवतजावत गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । हुम्लाको सिमकोटदेखि हेलिकोप्टरबाट हिल्सा हँुदै मानसरोवर जाने भारतीय तीर्थयात्रु भने गत वैशाखदेखि मोटर बाटो प्रयोग गरेर रसुवा हुँदै जान थालेको अध्यागमन कार्यालयका प्रमुख मनोजकुमार पोखरेलले बताए। 

सिम्रिक एयरका अनुसार हवाई मार्ग हुँदै हुम्लाको सिमकोटबाट हिल्सासम्म हेलिकोप्टर प्रयोेग गर्ने भारतीय यात्रु दैनिक २०० भन्दा बढी रहेको वरिष्ठ पाइलट सुरेन्द्र पौडेलले बताए। समुद्री सतहदेखि १२ हजार ५०० फिटमा रहेको नेपाल चीनको सीमा हिल्सा क्षेत्रमा हेलिकोेप्टरबाट छाडिएका ती यात्रु मानसरोवर पुगेर तीन दिनमा पुनः फर्कने गरेको बताइएको छ । यात्रुको सुविधाका लागि विभिन्न कम्पनीका आठ हेलिकोप्टर छन् । 

पहिलो चरणमा सडक व्यवस्थित गर्ने, निर्बाध रुपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्ने, पर्यटकमैत्री बजार व्यवस्थापन गर्ने, पर्यटकको सुविधाका लागि सरोकार निकाय वा सङ्घसंस्थाबाट रात्रिकालीन सेवाका साथै अध्यागमन कार्यालयको कामलाई डिजिटल प्रणालीमा लान प्रयास गर्ने काम जारी रहेको रसुवाका प्रजिअ कृष्ण पौडेलले बताए। 

यस्तै पर्यटक एवं मानसरोवर कैलाश जाने भक्तजनको चापलाई ध्यानमा राखी प्रहरी सुरक्षा गस्ती तीव्र पारिएको छ । प्रअिजका अनुसार क्षति भएका सडक सुधारको कार्य अगाडि बढिसकेको छ । 

पर्यटक र तीर्थयात्रु काठमाडौँस्थित टूर तथा ट्राभल एजेन्सीमार्फत जाने गरेका छन् । काठमाडौँदेखि मानसरोवर कैलाश पु¥याई पुनः फिर्ता ल्याउन भारतीय तीर्थयात्रुका लागि एक लाख २० हजार भारु र नेपालीका लागि रु एक लाख ३० हजार शुल्क लाग्ने गरेको बताइएको छ । 

भारतीय धार्मिक यात्रुका लागि काठमाडौँबाट मानसरोवर कैलाश पु¥याई पुनः काठमाडौँ लान नौ दिनको समयावधि लाग्छ । 
यही भदौ २ गते धुञ्चे, त्रिशूली खोलामा अवरुद्ध सडकमा मोटरबाट ८५ यात्रुका साथ गएका भारत तामिलनाडूका बालाजे जीले पहाडमा पहिरो र तराईमा डुबान हुने प्राकृतिक नियम भएकाले बाटामा मोटर साटफेर गर्दै निर्धक्कताका साथ मानसरोवर कैलाश जान सबै भक्तजनलाई आग्रह गरे। काठमाडौँदेखि रसुवागढी पुग्दा सुरक्षा निकाय र टे«किङ कम्पनीबाट सद्भाव पाएको उनले प्रतिक्रिया दिए। रासस

ताजा खबर