दुई वर्षमा ७ करोड कमाउने हाकिमलाई वधाई

२०७५ भदौ ५ मंगलबार ११:३७:०० मा प्रकाशित

मैले आजसम्म देखेको र अनुभव गरेको हाल नेपालका विभिन्न निकाय, विभाग, शाखा कार्यालय, निगम, प्रशासन, शैनिक, प्रहरी, स्वास्थ्य क्षत्रेमा कार्यरत बहुसंख्यक व्यक्तिहरु जो सेवा प्रवेश गर्नुभन्दा अगाडि प्राय त्रिभुवन विश्वविद्यालयको कुनै आंगिक क्याम्पसमा अध्ययन गरेका जो काठमाडांै लगायत विभिन्न शहरमा कोठा भाडामा बसेर अध्ययन गरेको भन्ने सुनिन्छ। जव उहाँहरु नायव सुव्वा वा अधिकृत स्तरको जागिर शुरुवात गर्नुहुन्छ तव उहाँहरुले आफ्नो पारिश्रमिकले सोचे जस्तो जीवन यापन गर्न सक्नुहुन्न र ठूला महत्वकांक्षी योजना बनाउँदै सो पूरा गर्नका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्नुहुन्छ।

यसको नतिजाको रुपमा उहाँहरुले आम्दानी गर्ने ठाउँ बनाउनु हुन्छ। अन्य जनताको सेवा सुविधा, विकास निर्माणका लागि ध्यान दिनका लागि समय पनि उपलव्ध हुँदैन। उहाँहरुको जीवनशैली र आर्थिक अवस्था केहि वर्षमानै देख्न सकिने गरेर पविवर्तन हुन्छ। देशको सरकारी निकाय भनेको राष्ट्र हितका लागि तथा जनता प्रति समर्पित हुनुपर्नेमा हामीकहाँ भने आफ्नो हितका लागि र आफ्नो एकाघरका सदस्यको हितका लागि ध्यान केन्द्रित गर्दै जाने गरेको नतिजा देख्न सकिन्छ। राजनैतिक पार्टी र उनका अग्रपंतिका कार्यकर्ताको त  के बयान गर्न सकिएला र? 

केहिदिन अगाडिमात्र एकजना सरकारी कर्मचारी भाईले २ वर्ष लेखा अधिकृत जागिरको दौरानमा नै ७ करोड कुम्ल्याउन भ्याएको भन्ने सञ्चारमाध्यमबाट थाहा पाईयो। उन्को को कोसँगको साँठगाँठमा त्यत्रो ठूलो विकासको काम गरिरहेका थिए,त्यो च्यानलमा अर्को कसले ल्याङ् गर्दिए जस्तो छ। हाम्रो देशमा सम्भावना नै नभएको देख्नेहरुलाई उनले आफ्नो गतिलो उदाहरण प्रस्तुत गरिदिए। कहाँ छैन सम्भावना, कसले भनेको सम्भावना छैन भनेर? ती भाई यदि चाईनामा जन्मिएको भए, यतिबेला परिवारको सदस्यहरुलाई सुँक्कसुँक्क पार्ने हैसियतमा हुन्थे। तर भाई यो नेपाल हो केहि छैन, चिन्ता नगर। भाई तिमीले त्यत्रो कुम्ल्याउँदा तिम्रो च्यानलका अरु सापले कति कुम्ल्याए मिल्यो भने त्यो चाहिं भन्देउ है। तर तिमीलाई गाह्रो छ होला त्यो भन्न किनकि तिमीलाई बचाउनका लागि उनिहरु लाग्नु पर्ने होला कि कसो? तिमी जस्ता व्यक्तिले नेपालको कर्मचारी तन्त्रको पहुँच र क्षमता कतिसम्म छ भन्ने बारेमा राम्रोसँग देखाई दियौ हामीलाई। सम्भावना धेरै भएको उदाहरण पनि दियौ त भाई नेपालमा सम्भावना नै छैन भन्ने हरुलाई।

दैनिक अखवारहरुमा आउने खवर मध्ये यो कर्मचारीले यति कुम्ल्याएछ, यति रकम लिँदालिँदै समातिएछ, अर्कोले चाहिं रकम हात थाप्दै गर्दा समातिएछ, कुन चाहिंले हो १०० मेगावाटको जलविद्युत निर्माण गर्न सकिने बजेट पचाईदिएछ, उस्को कहाँसम्मको च्यानल थियो त्यो चाहिं खुलाएन छ। अझै पनि उसको गुनासो ठूलो छअरे भन्ने विषयमा अखवारमा पढ्न पाईन्छ। उ यदि चाईनामा जन्मिएर हाम्रो नेपालमा जस्तै गरेको भए यतिबेला परिवारको सदस्यले वार्षिकी मनाईरहेका हुन्थे। यति कुरा जानकारीमा छ भने धन्न नेपालमा जन्मिएछु भन्दै नेपाल आमालाई धन्यवाद दिएर बसम् है।

नेपालमा निजामति कर्मचारीको कुल संख्या ९५,००० (श्रोतः नेपाल किताबखाना) जना छन र तीमध्ये २८, ४२६ जना रा.प.अ. द्वीतिय श्रेणीसम्मले आफ्नो औकात र बलबुताले भ्याएसम्म स्वार्थ अनुकूल कलम घुमाउन र काम कारबाही गर्न सक्ने हैसियत राख्दछन्। सबैले एकै किसिमको व्यवहार गर्दछन् भन्ने कदापि होईन तर ठूलै जमातले यसो गर्ने गरेका उदाहरणहरु दैनिक अखवारमा आउने गरेकोले यसलाई उजागर गर्न खोजेको मात्रै हूँ।

धेरै वर्ष अगाडि सुनेको एउटा उदाहरण प्रस्तुत गर्नु पर्दा तराईको एक जिल्लामा एउटा सरकारी कार्यालयले स्थानिय वासिन्दाको जीवन यापन सहज गराउने उदेश्य बमोजिम माछापाल्ने व्यवसाय संचालनका लागि केन्द्र सरकारबाट ६ लाख बजेट माग गरेछन्, केन्द्र सरकारले पनि सोहि माग भए अनुसार त के दिए होलान् र आफ्नो हिस्सा त पक्कै छोडेनन् होला, मिलाएर बजेट पारित गरिदिएछन्। त्यो बजेट लिएर उक्त सरकारी कार्यालयले माछापालन व्यवसाय संचालन गर्नका लागि कागजमै पोखरी खनेछन्, कागजकै पोखरीमा माछा पालन व्यवसाय शुरुवात् गरेछन्। माछाका भूराहरु पनि कागजकै बनाएर पोखरीमा हालेछन्।

कागजकै दाना बनाएछन्, पोखरीमा आवश्यक पानीका लागि नयाँ प्रविधि बिकास गरेर कागजबाटै पानी निकालेछन्। सरकारी कर्मचारीको प्रक्रिया अनुसार केहि वर्ष पश्चात कागजको पोखरी आविष्कार गर्ने सापको सरुवा भएछ र नयाँ सापले सो ठाउँमा सरुवा पाएछन्।

अनि नयाँ साप पनि कहाँ कम हुनु र! उहाँले पनि अगाडिका सापले गर्नुभएको बिकास निर्माण र आविष्कार सम्वन्धि खोजी गर्दै जाँदा गतिलो कागजको पोखरी फेला पारेछन् र उनी मनमनै निकै खुशी हुँदै त्यतिनै बेला उनलाई नयाँ आईडिया फुरिहालेछ। तत्कालै केन्द्र सरकारलाई नयाँ योजनाको रुपमा हालको पोखरी व्यवस्थित गर्न निकै गाह्रो भएको अवस्था तथा गर्मी मौसाममा लामखुट्टेको टोकाईले स्थानीय बासिन्दामा सरुवा रोगको ठूलो महामारी फैलिन सक्ने समस्याको जानकारी गराउँदै भएका माछा पनि मरिरहेको, स्थानीय वासिन्दाले पनि यो पोखरी अन्यत्र सार्नका लागि दवाव दिएको आदि ईत्यादि व्याख्या गरेर श्रीमान् समक्ष यो पोखरी पुरेर उक्त स्थानमा बगैंचा बनाउनका लागि आवश्यक बजेट ७ लाख स्वीकृत गरिपाउँ भनेर विन्ति फाराम पेश गरेछन्।

केन्द्रीय सरकार पनि के कम त्यसको केहि हिस्सा लिएर बजेट स्विकृति गरिदिएछन्। त्यसपछि उक्त कार्यालयका सापले त्यो पहिलाको कागजको पोखरी पुरेर उक्त स्थानको व्यवस्थापन गरिदिएछन्।

हाम्रो देश बिकासै नभएको भन्न त मिल्दैन नि हो! बिकास गर्दै फेरि त्यसलाई हटाउँदै, आजसम्म हाम्रो बिकास भएको उदाहरणहरु धेरै नै छन्। यस्ता यस्ता नयाँ नयाँ आविष्कार पनि हाम्रो देशमा धेरै नै भैरहेको छ। 

आज पनि हामी बिकास गर्न भनेर नै कस्सिएका छौं। हामी कहिले काहिं नेपालमा अवसर नै छैन भनेर पनि भन्ने गरेका छौं, हेरौं त अवसर कति छन्ः कागजको पोखरी खन्दा होस् या २ वर्ष जागिर खाँदा होस् या १०० मेगावाटको जलविद्युत निर्माण गर्न सकिने बजेट पचाउँदा होस्, अवसर नै नभएको ठाउँ त कहाँ हो र? 
 

ताजा खबर