ऋण काडेर सडक बिस्तार

२०७४ बैशाख २१ बिहीबार १२:४९:०० मा प्रकाशित

सन्देश सुब्बा - पाँचथर, २१ वैशाख । जिल्लाको याङ्वरक गाउँपालिका–१, च्याङथापुस्थित ढाँडेगाउँबासीले ऋण काडेर सडक बिस्तारको काम सुरु गरेका छन् । गाउँलाई यातायात सेवाको पहुँचमा पु¥याउन सो गाउँका दल बहादुर राई, मनोज राई र तीर्थ तुम्बापोले आफ्नो नाममा कपाली तमसुक बनाई एक लाख ऋण काडेर सडक बिस्तारको काम थालेका हुन् ।
उनीहरुले स्थानीय प्रेम प्रसाद भण्डारीसँग ऋण लिएर च्याङ्थापु बजारबाट करीब दुई किलोमिटर टाढा रहेको ढाँडेगाउँ जाने एक सय ५० मिटर सडकको ट्रयाक खोलेका हुन् । सडक विकासको प्रमुख आधार भएकाले गाउँमा सडक पु¥याउन आफूहरुले कपालि तमसुक लेखेर भए पनि सडक बिस्तारको काम सुरु गरेको मनोज राईले बताए । उक्त ऋण तिर्न सम्भावित स्रोतहरुको खोजि भइरहेको मनोजले बताए । उनले भने ‘कतै पनि स्रोत नजुटे ब्यक्तिगत रुपमै ऋण तिर्ने आँटले काम थालेका हौं ।’
गाउँमा उत्पादिन हुने विभिन्न कृषिजन्य वस्तुहरुको निर्यात गर्न सहज होस भन्ने उदेस्यले ऋण काडेर सडक खनेको अर्का ऋणी तीर्थले बताए । विगतमा पटक–पटक सडकको माग गर्दा समेत स्थानीय निकाय र दलहरुबाट आफ्नो गाउँको आवाजको सुनुवाइ नभएकाले गाउँमा सडक पु¥याउँन आफैं लागिपरेको उनले बताए । उक्त सडकलाई च्याङथापु बजारको कुवापानी देखि ढाँडेगाउँ हुँदै लुङ्रुपाको वासुम जोड्ने दीर्घकालीन लक्ष्य रहेको अर्का ऋणी दल बहादुरको भनाई छ ।
बहुचर्चित मध्यपहाडि लोकमार्गको सर्बे समेत सुरुमा यहीं हुँदै भएको तर पछिबाट राजनीतिक शक्ति प्रयोग गरी च्याङथापुदेखि फलैंचाको तिम्तिम्बु–साँगा हुँदै लगिएको उनले गुनासो गरे । उक्त स्थानबाट बिस्तार गर्दा लोकमार्गको दुरी कम हुने र लागत समेत घट्ने उनले बताए ।

ताजा खबर