भीमसेन थापा पहिलो प्रधानमन्त्री होइनन्, केपी ओली अठ्तीसौं होइनन् 

२०७५ भदौ ३ आइतबार १६:३८:०० मा प्रकाशित

धेरैलाई भ्रम छ- नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापा हुन् । यो भ्रमबाट सुरु हुन्छ अहिलेका केपी ओली नेपालका कतिऔं प्रधानमन्त्री हुन् भन्ने अन्यौल ।

कसैले ओलीलाई चालीसौं, कसैले अठ्तीसौं, कसैले एकचालीसौं प्रधानमन्त्री लेख्ने गरेका छन् । हुन् चाहिँ कतिऔं ? अन्यौल छ ।

यो अन्यौलको चर्चा गरिनुको कारण छ । हालै मात्र भैरव रिसाल र भरतराज पोखरेलको कृति ‘नेपालका मन्त्री र सांसदहरु’ प्रकाशित भएको छ । यो महत्वपूर्ण कृतिले पनि प्रधानमन्त्रीको संख्या निकर््यौल गर्न सकेको छैन ।

विगतमा सामान्य ज्ञानका कतिपय किताबहरुले भिमसेन थापालाई पहिलो प्रधानमन्त्री लेखिदिए । वास्तवमा उनी प्रधानमन्त्री नभएर मुख्तियार   थिए ।

सामान्य ज्ञानका किताबहरुले पनि त्यसै लेखेका थिएनन् । विसं २००८ मा वालचन्द्र शर्माले ‘नेपालको ऐतिहासिक रुपरेखा’ कृति प्रकाशित गरे । त्यसमा उनले भिमसेन थापालाई पहिलो प्रधानमन्त्री लेखिदिए । थापापछिका मुख्तियारहरुलाई पनि उनले प्रधानमन्त्री नै लेखिदिए । 

२०१५ मा ढुण्डिराज भण्डारीले ‘नेपालको ऐतिहासिक विवेचना’ कृति लेखे । त्यसमा उनले भिमसेन थापा पहिलो प्रधानमन्त्री होइनन्, माथवरसिंह हुन् लेखे । वालचन्द्रले भिमसेन थापा कसरी पहिलो प्रधानमन्त्री भन्ने पुष्टि गर्न कुनै तथ्य दिएका थिएनन्, ढुण्डिराजले ऐतिहासिक दस्तावेजहरुलाई उदृत गरे ।


भिमसेन थापाबारे गहिरो अध्ययन गरेर चित्तरञ्जन नेपालीले ‘जनरल भिमसेन थापा’ कृति लेखे । यसमा उनले थापालाई प्रधानमन्त्री नलेखेर मुख्तियार नै लेखे ।

भित्ताको कमाल

प्रायजसो मिडियाले केपी ओलीलाई अठ्तीसौं प्रधानमन्त्री लेख्ने—भन्ने गरेका छन् । अन्यौलमा परेर मिडियाले अठ्तीसौं लेख्नु—भन्नुको कारण हो प्रधानमन्त्री कार्यालयमा रहेको एउटा कोठाको भित्ता । भित्तामा नेपालका पूर्व प्रधानमन्त्रीहरुको फोटो लहरै टाँगिएको छ । र, भिमसेन थापाको पनि टाँगिएको छ । यो भित्ताका फोटो हेरेर गणना गर्ने हो भने केपी ओली अठ्तीसौं प्रधानमन्त्री ठहरिन्छन् । सामान्यतया संचारकर्मीहरुले त्यही भित्तालाई हेरेर ओली अठ्तीसौं प्रधानमन्त्री लेखेको हुनुपर्छ ।

भित्ता नै तथ्य हो त ? अहँ, होइन ।

भित्तामा फोटो टाँगिनु एउटा कुरा हो, तथ्य अर्कै कुरा हो । त्यो भित्तालाई फैलाउने काम गर्यो प्रधानमन्त्रीको आधिकारिक वेवसाइटले । सो वेवसाइटले नेपालका ‘पूर्व प्रधानमन्त्री’ हरुको सूची दिएको छ । सूची प्रकाशनको आधार प्रधानमन्त्री कार्यालयको भित्ता नै हो भन्ने निर्विवाद छ ।

वेवसाइटको सो सूचीलाई ‘नेपालका पूर्व प्रधानमन्त्रीहरु’ भनिएको छ । जसमा ओली अठ्तिसौं प्रधानमन्त्री भनिएको छ । पूर्व प्रधानमन्त्रीको गणना भिमसेन थापाबाट गरिएको छ । सुवर्ण शमशेर र खिलराज रेग्मीलाई पनि प्रधानमन्त्रीको समूहमा राखिएको छ, जो मन्त्रिपरिषद अध्यक्ष मात्र थिए ।

मन्त्रीपरिषदका अध्यक्ष रहेका सुवर्ण र खिलराजलाई प्रधानमन्त्री मान्ने हो भने पनि ओली अठ्तीसौं ठहर्दैनन् । राजा ज्ञानेन्द्र र महेन्द्रलाई पनि गणना गर्नुपर्ने हुन्छ ।

माथवर नै पहिलो हुन्

प्रधानमन्त्री पदवी पाउने माथवरसिंह नै पहिलो थिए भन्ने ऐतिहासिक दस्तावेजहरुबाट देखिन्छ । उनलाई त्यसबेला प्रधानमन्त्री पनि भनिएको थिएन, ‘प्राइमिनिस्टर’ भनिएको थियो । नेपाली अनुवाद ‘प्रधानमन्त्री’ गरियो ।

भिमसेन थापाबाट मुख्तियारी परम्परा सर्वसाधारणमा आएको चाहिँ हो । त्यस अघि काजी नै प्रधानमन्त्री जस्तो पद थियो । भिमसेन थापाले सर्वसाधारणबाट पहिलो पटक मुख्तियार पद पाए । 

मुख्तियारलाई प्रधानमन्त्री मान्ने हो भने काजीलाई पनि मान्नुपर्ने हुन्छ । जस्तो कि इतिहासका चर्चित पात्र दामोदर पाण्डे पनि काजी थिए ।

माथवर पहिलो प्रधानमन्त्री हुन् नै, माथवरको हत्यापछि फत्यजंग मुख्तियार भए, उनलाई प्रधानमन्त्री भनिएन । फत्यजंगपछि जंगबहादुर ‘प्राइमिनिस्टर’ बने ।

दुर्लभ दस्तावेजीकरण

भैरव र भरतराजको कृति ‘नेपालका मन्त्री र सांसदहरु’ कृति परिमार्जित स्वरुप हो । २०६१ मा भैरव र राममणि रिसालले ‘नेपालका मन्त्रीहरु’ नाममा यो कृति निकालेका थिए । त्यसअघि नै वासुदेव शर्मा लुईंटेलले ‘मन्त्री पात्रो’ निकालेका थिए । 

वासुदेवले निकालेको मन्त्री पात्रो देख्न पाइएको छैन, तर, इतिहास दस्तावेजीकरणमा त्यो कृतिको महत्वपूर्ण योगदान छ । निश्चय पनि कृति पातलो थियो होला । त्यसबेलासम्म नेपालमा धेरै मानिस मन्त्री बनेका थिएनन् ।

भैरव राममणिको ‘नेपालका मन्त्रीहरु’ कृतिमा ०६४ सालसम्मका मन्त्री प्रधानमन्त्रीहरुको सूची थियो । इतिहासको कुन कालखण्डमा कोको प्रधानमन्त्री भए भन्ने महत्वको जानकारी हो, मन्त्री चाहिँ कोको भए ? यो पनि उत्ति नै महत्वपूर्ण जानकारी हो । ‘नेपालका मन्त्रीहरु’ सानो आकारमा एक सय ३४ पृष्ठको थियो । अहिले भैरव भरतराजले निकालेको कृति चाहिँ ठूलो आकारमा तीन सय ३२ पृष्ठको छ । 

०६४ सालमा निस्केको नेपालका मन्त्रीहरु भन्दा हालै प्रकाशित नेपालका मन्त्री र सांसदहरु तीन गुणा ठूलो आकारको छ । आकार वृद्धिले यस बीचमा मन्त्री प्रधानमन्त्रीहरु कति थपिए भन्ने पनि झल्काउँछ।

यो कृति यसकारण पनि संग्रहणीय र महत्वपूर्ण छ कि यसमा ०७ सालपछिका सबै मन्त्रीहरुको नाम छ । अर्काे महत्वपूर्ण पक्ष हो, ०१५ सालको संसदको माथिल्लो र तल्लो सदनमा हुने सबैको नाम छ । राष्टिय पञ्चायतका सदस्यहरु सबैको नाम छ । ०४८ सालपछिको संसदको दुवै सदनका सबै सदस्यको नाम छ । पछिल्लो संविधानसभा र अहिलेका सांसदहरुको नाम पनि स्वतः छ ।

प्रदेश सांसद र मन्त्रिमण्डलको पनि नामावली छ । अर्थात्, यो कृतिमा ०७ सालपछिको सिंगो नेपालको परिदृष्य छ ।

दुर्लभ दस्तावेजीकरण भएको छ कृतिमा । यो स्रोत ग्रन्थ हो । यसले प्रधानमन्त्रीको निकर््यौल गर्नैपथर््यो । कृतिमा प्रधानमन्त्रीको नामावलीको आधार प्रधानमन्त्री कार्यालयको वेवसाइटलाई नै बनाएको देखिन्छ ।

यो कृतिले आगामी संस्करणमा प्रधानमन्त्रीको संख्या निकर््यौल गर्नु आवश्यक छ । लेखकद्धय र प्रकाशक सिकाइ समूहको यतातिर ध्यान जाओस् ।

निर्क्यौल कसरी गर्ने ?

प्रधानमन्त्रीको संख्या निर्धारण अत्यावश्यक छ । यो विषयमा अन्नपूर्ण पोष्टमा दिनेश लुईंटेलले पनि कलम चलाएका छन् । इतिहास अध्ययन र समकालीन पत्रकारितालाई जोड्न सक्ने क्षमताका राजकुमार दिक्पालले पनि यसमा ध्यान दिनुपर्छ । हुनत दिक्पाल प्रवाशी बनेका छन् तथापि प्रवाशबाटै कलम चलाइरहेका पनि छन् ।

माथवरसिंहबाट गणना गर्दा केपी ओली एकतिसौं प्रधानमन्त्री हुन् । तर, प्रधानमन्त्रीको गणनामा मन्त्रिपरिषद् अध्यक्ष, काजी, मूलकाजी, मुख्तियारहरुलाई पनि मिसाउनै पर्ने हुन्छ ।

एउटा राज्यले आफ्ना प्रधानमन्त्रीको संख्या पनि निर्धारण गर्न नसक्ने हुन्छ र ? हुनत भिमसेन थापालाई नै पहिलो प्रधानमन्त्री मान्दा के बिग्रन्छ भन्ने मत आएको छ । यसो गर्न पनि नसकिने होइन । तर, दामोदर पाण्डे सहितका त्यस अघिका ‘प्रधानमन्त्री’ अर्थात् काजीहरुलाई चटक्कै बिर्सन मिल्छ र ? उनीहरुको नाम कटाउन र हटाउन मिल्छ र ?

संख्यामा त्रुटी भयो भने इतिहासको सहि र वस्तुनिष्ठ ब्याख्यामा त्रुटी हुन जान्छ ।

यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयले अलिकति वुद्धि पुराएको देखिन्छ । मुख्तियारलाई मुख्तियार नै लेखेको छ, प्रधानमन्त्री लेखेको छैन । सुविधाका लागि मूल शीर्षकमा ‘नेपालका प्रधानमन्त्रीहरु’ लेखिएको हुनसक्छ । त्यसैगरी सुवर्ण शमशेर र खिलराजलाई मन्त्रिपरिषद्को अध्यक्ष नै लेखेको छ ।

प्रधानमन्त्री कार्यालयले यति लेख्दैमा विषय निरुपण हुँदैन । पहिलो प्रधानमन्त्री को हो ? जसो गरे पनि तथ्यले पहिलो प्रधानमन्त्री माथवरलाई नै देखाउँछ । माथवरबाटै गणना थाल्ने हो भने भिमसेन थापा लगायतका इतिहासका आदरणीय पात्रहरु छुट्न जान्छन् । वास्तवमा उनीहरु प्रधानमन्त्री थिएनन् तर सो सरह अथवा त्योभन्दा माथिको पदमा थिए । तिनको नाम बिनाको सूची पूर्ण हुन सक्दैन ।

‘नेपालका प्रधानमन्त्री’ नभनेर ‘नेपालका कार्यकारी प्रमुखहरु’ भनेर गणना गर्न पनि सकिन्छ । र, यसरी गणना गर्दा सूची निर्माण नेपाल एकीकरणबाट थाल्नु उपयुक्त हुन्छ । यस्तो सूची निर्माणको बाटो खोल्न सक्ने सबैभन्दा उपयुक्त कृति ‘नेपालका मन्त्री र सांसदहरु’ हुनसक्छ । आउँदो संस्करणमा निकर््यौल गर्ने अपेक्षा गरौं । 

अन्त्यमा,

‘नेपालका मन्त्री र सांसदहरु’ कृतिको आउँदो संस्करण कहिले निस्कन्छ होला ? धेरै विक्री भएर नयाँ संस्करण निस्कनु बेग्लै कुरा हो । यहाँ प्रश्न ‘परिमार्जित नयाँ संस्करण’को हो । यो सरकार स्थिर भयो, जनादेश अनुसार नै चल्यो र चल्न पायो भने आउँदो संस्करणका लागि पक्कै पनि धेरै वर्ष कुर्नुपर्ने छ । किनभने मन्त्री प्रधानमन्त्रीहरुको नाम थप्न नपरेपछि ‘परिमार्जित नयाँ संस्करण’ निकाल्नै पर्दैन ।

कामना गरौं, नेपालका दल र नेताहरुले ‘नेपालका मन्त्री र सांसदहरु’ को परिमार्जित दोस्रो संस्करण प्रकाशित हुने मौका सजिलै नदिउन्, धेरै वर्ष पछाडि धकेलिदिउन् ।
 

ताजा खबर