कात्तिकदेखि बत्ती बाल्ने लक्ष्य

२०७४ बैशाख २१ बिहीबार १३:११:०० मा प्रकाशित

फिदिम, २१ वैशाख । पाँचथर र ताप्लेजुङ जिल्लालाई छुट्याएर बग्ने कावेली नदीमा निर्माण भइरहेको कावेली बी ‘वान’ जलविद्युत आयोजना आगामि कार्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
२०७२ असोजदेखि निर्माणको चरणमा प्रवेश गरेको आयोजनाको हालसम्ममा पाइपलाइनको ९० प्रतिशत, ब्यारेजको ७५ प्रतिशत र पावर हाउसको ८० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । ७५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सिभिल इन्जिनियर माधव भुर्तेलले बताए । आयोजना सम्पन्न भएपछि २५ मेगावाट विद्युत उत्पादन हुने भुर्तेलले बताए ।
सम्झौता अनुसार १० वैशाख २०७४ भित्रमा आयोजनाको काम सम्पन्न गर्नुपर्ने भए पनि महाभूकम्प, भारतीय नाकाबन्दी, निर्माण कार्यलाई नै प्रभावित पार्ने गरी काबेलीमा आएको बाढी लगायतका कारणले समयमै काम सम्पन्न गर्न नसकिएको आयोजनाका इलेक्ट्रिकल इन्जिनियर शिव महर्जनले बताए । काममा कुनै अवरोध नआएमा आगामी कार्तिकसम्ममा आयोजना सम्पन्न हुने उनले दाबी गरे ।
काबेली बी ‘वान’ पाँचथरको साविक थर्पु, नागी र अमरपुर त्यस्तै ताप्लेजुङको थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु र सिनाम गाविसलाई प्रभाव क्षेत्र बनाएर निर्माण भइरहेको हो । पाँचथरको थर्पु दाहाल गाउँस्थित काबेली नदीमा ब्यारेज बनाइ पाँच हजार ८० मिटर पाइपलाइन मार्फत नागीको पिपले स्थित पावर हाउसमा पानी खसाइनेछ । आयोजनाको ब्यारेजमा छ वटा ब्यारेज ढोका र चार इन्टेक ढोका रहनेछन् ।
अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लागत चार अर्व रहेको छ । उक्त आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा पाँच वटा बैंकहरुले ७० प्रतिशत लगानी गरेका छन् । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि करीब २५ किलोमिटर सडक निर्माण गरिदिनुका साथै विद्युतिकरणका लागि समेत सहयोग गरेको सिभिल इन्जिनियर भुर्तेलले बताए । त्यस्तै प्रभावित क्षेत्र पाँचथरको नागीबासीलाई एम्बुलेन्स खरिद गरिदिने र अमरपुरबासीलाई खानेपानीको मुहान खरिद गरिदिने सम्झौता भइसकेको उनको भनाई छ ।
अबको छ महिनामा आयोजनाबाट विद्युत उत्पादन हुने गरी काम अघि बढिरहे पनि एक सय ३२ केभीए विद्युत प्रशारणलाइन काबेली करिडोर समयमै सम्पन्न नहुने निश्चित जस्तै भएकाले उत्पादित विद्युत निर्यात गर्न नसक्दा आयोजनालाई प्रत्येक २४ घन्टामा २५ लाख घाटा हुने देखिएको आयोजनाले जनाएको छ ।

ताजा खबर