दीपाको शब्दखेती

२०७५ भदौ १ शुक्रबार २१:५७:०० मा प्रकाशित

जीवन, वादल बर्षा र घाममा

तिमीलेझैं जिउने कला सिक्न पाए

कर्मको भीर पहरामा हाँसी हाँसी फुल्न पाए

इन्द्रेणी पनि जीवनको छेवैमा खस्थ्यो होला

जसलाई टिपेर तिमीलाई चढाउँथें म । 

सुनाखरी शीर्षकमा यति सुन्दर कविता लेख्ने दीपाको जीवन  वगैंचाको फूल जस्तै छ । 

उनलाई माटो र बोट बिरुवा मन पर्छ । जीवनको उर्जाशील समय यही माटो र फूलको हेरचाहमा खर्चेकी उनी कुनै बेला सफल अर्किड व्यवसायी पनि थिइन् । 

 एक गाउँ एक उत्पादनको कोअर्डिनेटरको भूमिका समेत  निभाएकी दीपा अहिले पनि त्यही लहरोको तान्द्रोमैं अल्झिरहेकी छिन् । केही वर्षदेखि अमेरिकाको बोस्टनमा बस्दै आएकी उनलाई अहिलेपनि  आफ्नै रस्तीवस्ती र पाखा पखेरीको यादले लफक्कै भिजाउँछ  ।

तिम्रो सपनाको म, स्पन्दनका रागहरु र छुटेको बागदाता समेत तीनवटा कविता संग्रह र प्रतिरुप नाउँको गीति एल्वम प्रकाशन गरेकी दीपाको कुनै ठूलो सपना थिएन । रुकुम, रोल्पा जस्ता पछि परेका सुदुर गाउँमा गएर गुरुआमा बन्ने अभिलाषा थियो ।जतिबेला उनी स्कुल पढ्थिन् । उनकी आमा जासुसी उपन्यासको पाठक थिइन् । उनका बुबा पनि शंकर लामिछाने, इन्द्रबहादुर राईका पुस्तक पढ्थे ।  सम्झँदै रमाइलो लाग्छ घरमा पढने वातावरण भएरै होला पुस्तकालयबाट मोटो मोटो किताव छानेर घर लैजान्थिन् उनी । भन्छिन् –‘किताब त लान्थें , तर के पढ्थें आफैंलाई थाहा छैन ।’

पुष्प व्यवसायीको काम छाडेपछि भने उनको दैनिकी फेरियो । उनी अमेरिका पुगिन परिवारसँगै ।

सुनाखरीसँगै मगमगाइरहेको उनको आफ्नै माटोबाट टाढा बन्नु प¥यो । त्यसैले होला उनी लेखनमा मोडिइन् । अहिले त लेख्ने बानी नै परिसक्यो । भन्छिन्– ‘जसरी फूल खेती गरें अहिले त्यसरीनै शव्दको खेती गरि राखेकी छु ।’

कसैले उनलाई ‘शब्द परी’ भनिदिएछ । त्यसपछि त के चाहियो ? उनलाई यो उपमाले निकै मन छोयो । यसै शीर्षकमै कविता नै लेखिदिइन् ।

काममा जाने र घरमा फर्कने बेला ट्रेन स्टेशनमा पनि उनी केही लेखिरहेकी हुन्छिन् । अमेरिकाको जहाँ गएपनि नेपालकै झल्को आइरहन्छ । तर, उनले आफ्नो लेखनमा उताको बिम्बको भेउ पाइसकेकी छैनन् । भरखरै मात्र त्यता पुगेकाले होला मैले प्रयोग गर्ने बिम्बहरुमा अमेरिकाको बिम्ब भेट्नै सक्दिन । नेपालकै बिम्ब आईरहन्छ । जस्तो कि उनैले लेखेको कविता देउरालीमा छुटेको मन जस्तै-

हिँडेर जहाँ पुगेपनि

बिब्ल्याँटो परिस्थितिले पच्छाइरहने

अभावहरु लहर बनेर आइरहन्छन्

जीवन किनारको छेउछाउ झकझकाइरहन्छ नदी

रहरहरु बगर हुनु अगावै छुटेका सपनाहरु

फर्किआएर आफ्नै माटोमा सजिन आतुर

समय पो किन फर्की आउँदैन

भाग्यको छातीमा टेकेर गएदेखि ।


 

ताजा खबर