प्रधानमन्त्रीको हिमालयन एयरलाईन्स प्रेम, यस्तो छ रहस्य

२०७५ श्रावण ३० बुधबार १४:५०:०० मा प्रकाशित

काठमाडौं । उच्च हिमाली भेगमा लेक लागेका 'बिरामी' पर्वतारोही र पदयात्रीलाई उध्दार गर्ने नाममा भैरहेको ठूलो चलखेलमा संलग्न व्यवसायीमाथि कार्वाही गर्न भएको सिफारिस कार्यान्वयन हुनेमा सम्बध्द विज्ञले शंका व्यक्त गरेका छन्।  

सत्तारुढ दलका शीर्ष नेतासँगको घनिष्ठ सम्बन्धले कार्बाही सिफारिस गरिएका व्यक्तिहरुले मुक्ति पाउने खतरा रहेको भन्दै जानकार सूत्रले चिन्ता व्यक्त गरेको छ।

कथा यस्तो छ

नेपाल घुम्न आउने पर्यटकलाई दूषित खाना दिई सुनियोजित रुपमा बिरामी बनाएर हेलिकप्टरबाट फर्जी उद्धार र उपचार गर्ने केही एजेन्सीले हेलिकप्टर कम्पनी तथा अस्पतालसँग मिलेर विदेशी बीमा कम्पनीबाट वर्षौंदेखि करोडौं रुपैयाँ असुल्दै आएको एक सरकारी छानविन कार्यदलले पत्ता लाएको छ। 

छवि धुमिलिने चिन्ता

  यसबारेमा नियमित जस्तै चर्चा हुनथालेपछि सरकारले जेठ अन्तिम साता पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले सन् २०१५ देखि २०१८ मेसम्म भएका ७ हजार ५ सय ५५ वटा हेलिकप्टर उद्धार उडानमाथि छानबिन गर्दा यस्तो फर्जी धन्दाको अन्तरकथा थाहा भएको हो।

के हो दूषित खाना

पर्यटकलाई दिईने खानामा अखाद्य वस्तु मिसाएर खुवाउने र तत्कालै अस्वस्थ्य पार्ने गलत धन्दा यस क्षेत्रकै व्यवसायीले गर्ने गरेको एक जानकार सूत्रले सरल पत्रिकालाई बतायो। खानामा मुसाको लिँड,बेकन पाउडर र मैनबत्तिको धुलो मिसाएर खुवाएपछि पर्यटकलाई तत्काल अस्वस्थ्यता हुने अनि उध्दारका नाममा लाखौं कमाउने गलत प्रवृत्ति लामो समयदेखि यस क्षेत्रमा हावी भएको सूत्रको भनाई छ। यसोगर्दा ती बिरामीलाई यात्राका क्रममा नाम्चे,तेंगबोचे,दिंगबोचे,लौकोच र गोरक्षक भन्ने स्थानबाट गन्तव्यसम्म नपुर्याई उध्दार गरी काठमाडौं ल्याउने चलन चलाईएको समाचार सूत्रले बतायो।

को को हुन् फर्जी उध्दार गर्ने कम्पनी

यसरी पर्यटकको फर्जी उद्धार गर्ने कम्पनीको संख्या १७ रहेको कार्यदल सम्बध्द सूत्रले बताएको छ। यी सबै कम्पनीका मालिकहरु सत्तारुढ दलका उच्च नेताहरुसँग घनिष्ठ सम्बन्ध राख्छन् भन्ने कुरा पनि थाहा भएको छ। 

  प्रधानमन्त्री ओलीको हिमालय एयरलाइन्स प्रेम

यहाँ कार्बाहीको सिफारिस गरिएकामध्ये एकजना हुन्,हेलिकप्टर कम्पनी एयर डाईनेस्टीका मालिक आङछिरिङ शेर्पा। उनी यति एयर लाईन्सका पनि मालिक हुन्। अन्तर्राष्ट्रिय उडान भर्ने हिमालयन एयरलाईन्स पनि शेर्पाकै हो । शेर्पा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका भरपर्दा मित्र मानिन्छन्। ओलीलाई राजनीतिमा अघि बढ्न शेर्पाको निकै ठूलो लगानी रहेको पूर्व एमालेका एक नेता बताउँछन्। थाहा नै छ,प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा जाँदा राष्ट्रिय ध्वजावाहक जहाजलाई पन्छाएर हिमालयन एयरलाइन्स चढ्ने गरेका छन्।

प्रचण्डको आशिर्वाद  

यसैमा कार्वाहीमा पर्ने संभावना भएका केही हेलिकप्टर कम्पनी नेकपाका अध्यक्ष पुष्पकमल दाहालको आशिर्वाद पाएर मुक्त भएको सूत्रले बतायो। 
आशिर्वाद पाउनेमध्ये एक हुन्, सेभेन समीट ट्रेक एण्ड एक्स्पीडिसनका मालिक टासी लाक्पा शेर्पा। दाहाललाई ‘बुवा’ भन्ने शेर्पा स्वर्गीय प्रकाश दाहालका मित्र मानिन्छन्।

त्यसैगरी मिडियाको शक्तिका आडमा कार्बाहीको सूचिबाट हट्न सफल अर्का व्यवसायी हुन् सिम्रिक एयरका मालिक क्याप्टेन रामेश्वर थापा। अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष थापाले पनि दाहालसँग भेटेपछि कार्यदलले उनको छानविन नगरेको एक समाचार सूत्रले बताएको छ।

कसले कति लिएछन्

  उद्धारमा संलग्न ट्राभल र टुर, रेस्क्यु एजेन्सीहरूले एकपटक एकजना विदेशी पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गर्दा ५० हजार युरो (६३ लाख) रुपैयाँसम्म बीमा दाबी गरेको देखिएको छ। एउटा चार्टर सेवा दिने कम्पनीले २०७२ भदौमा काठमाडौंबाट हुम्लाको सिमाना हिल्सा पुगेर आठ घण्टा हेलिकप्टर उडानबाट एकजना पर्यटक उद्धार गरेबापत २० लाख रुपैयाँ बिमाबाट लिएको पनि भेटियो। तर, छानबिन समितिले त्यस समयमा त्यस कम्पनीले कुनै पनि पर्यटक उद्धार गरेको रेकर्ड फेला पार्न सकेन।

कार्यदलले पर्यटकलाई ‘बिरामी’ बनाएर गरिएको हेलिकप्टर उद्धारमा ६० लाखसम्मको उपचार खर्च र ६३ लाखसम्मको उद्धार उडानबापत बीमा दाबी गरिएको फेला पारेको थियो।  ७ सय पृष्ठको छानबिन प्रतिवेदन यतिबेला पर्यटन मन्त्रालयले थप अनुसन्धान र कारबाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत थप चारवटा निकायलाई बुझाएको छ ।

कार्बाही गर्न निर्देशन

यसैबीच पर्यटन मन्त्रालयले नेपाल प्रहरीको महानगरीय आयुक्त कार्यालय, राजस्व अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, नागरिक उड्डयन प्राधिकरणलाई सम्बन्धित क्षेत्राधिकारभित्र पर्ने एजेन्सीलाई कारबाही गर्न निर्देशन दिएको छ। कार्बाही गर्नुपर्नेमा काठमाडौंका तीनवटा हेलिकप्टर कम्पनी, ६ वटा अस्पताल र ८ वटा ट्राभलरट्रेकिङरउद्धार कम्पनी छन्।

 यीमध्ये बल्खुको बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुतलीको स्वाकोन हस्पिटल प्रालि र कपुरधाराको सिवेक अस्पताल प्रालिले चिकित्सकीय मर्यादाविपरीत फरक–फरक शीर्षकमा बिलबीजक खडा गरेको औंल्याउँदै यी अस्पतालको कारोबारमाथि थप छानबिन र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिईएको एक उच्च प्रहरी अधिकृतले बताएका छन्।

स्वाकोनले २ हजार २३ जना पर्यटकको उपचारबापत ३१ करोड ९८ लाख रुपैंयाँ असुलेको कार्यदलले पाएको छ। यो स्वाकोन अस्पतालका संचालक हुन् श्रीराम केसी। यस्तै नर्भिक इन्टरनेसनल हस्पिटलले त एकजना बिरामीबाट एकरातको शुल्क बापत ३ लाख असुलेकामा पछि सम्बन्धित व्यक्तिले दवाव दिएपछि पचास प्रतिशत रकम फिर्ता गरेको जानकार सूत्रले बताएको छ।

 यसैगरी कार्यदल सूत्रका अनुसार, इराले ११ सय ३० बिरामीबाट ११ करोड ३२ लाख, सिवेकले १७ सय ६३ बिरामीबापत १४ करोड २३ लाख र बयोधाले ६ सय ९७ बिरामीबाट १५ करोड ८० लाख हाराहारी बिमा रकम लिएका छन्। त्यसैगरी बयोधाले एकजना बिरामीबाट २४ लाखसम्म असुलेको कार्यदलले फेला पारेको छ। यी सबैले राजस्व हिनामिना गरेकाले छानबिन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ।  

हेलिकप्टर कम्पनीको मनपरी
 
हेलिकप्टर कम्पनीहरूले उच्च मूल्यमा सेवा दिएको, गलत विवरण राखेर बिल जारी गरेको, एउटै उडानमा धेरै पर्यटक ल्याई प्रत्येकका नाममा फरक–फरक बिल जारी गरेको, कतिपयलाई उपचारसमेत नगराई कागजात तयार पारी बिमा रकम लिएको समितिले फेला पारेको छ। यस्तो ठगीमा एयर डाइनेस्टी हेली सर्भिस, मनाङ एयर र हेली एभरेस्ट छन्।

हेली एभरेस्टले यस अवधिमा २२ सय ३० वटा उद्धार गरेकामा प्रतिरुट ८ हजार अमेरिकी डलरसम्म असुलेको प्रतिवेदनमा उल्लेख छ। कतिपय बिरामी भर्ना गरेको अस्पताल नै खुलाइएको छैन। यसले ईजी हेली चार्टर सर्भिस नामको यसैको भगिनी संस्थासँग मिलेमतोमा फर्जी उद्धार गरी राजस्व छलेको प्रतिवेदनमा उल्लेख छ। ईजीले एउटा उद्धार उडानबापत ५० हजार युरो (६३ लाख रुपैयाँ) सम्म बीमा दाबी गरेको देखिएको छ।
मनाङ एयरले प्रतिरुट ९ लाख रुपैयाँसम्म लिएको छ। यसले साढे ४ वर्षमा १९ सय १० वटा उद्धार उडान गरेको थियो। यी उडानमा ल्याइएका बिरामीलाई नर्भिक, बयोधालगायत अस्पतालमा भर्ना गरिएको कम्पनीले जनाए पनि अधिकांशको अस्पताल विवरण मिल्दैन। छानबिन कार्य दलले हेलिकप्टर उडाउने १० वटै कम्पनीको विवरण अध्ययन गरेको बताईएको छ।

एयर डाइनेस्टीले गरेका १३ सय ४५ वटा उद्धार उडानमा प्रतिउडान ११ लाखसम्म लिएको औंल्याएको छ। उसले उच्च हिमाली क्षेत्रबाट उद्धार गरिएका पर्यटकलाई ग्रान्डी, शिक्षण अस्पताल महाराजगन्ज, मेडिसिटी, बयोधा र पोखराको मणिपालमा भर्ना गरेको विवरण छानबिन समितिलाई बुझाए पनि विवरण प्रस्ट छैन। अनुसन्धानले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थलको निगरानी र कार्यशैलीप्रति पनि प्रश्न गरेको छ।

छानबिन समितिले १३ लाखदेखि २३ लाखसम्म असुलेको फेला पारेको छ । यी तीनसहित अन्य ७ वटा हेलिकप्टर कम्पनीको साढे ३ वर्षको कारोबारबारे थप अध्ययन गर्न प्रतिवेदनले प्राधिकरणलाई निर्देशन दिएको छ।

यसमा ट्रेकिङ र टुर तथा रेस्क्यु एजेन्सीतर्फ इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन डोमेस्टिक, माउन्टेन रेस्क्यु सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ, अल्पाइन रेक्यु, कैलाश चार्टर रेस्क्यु, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस मुछिएका छन्।

इगल हेलीले २०७२ भदौमा काठमाडौंबाट हिल्सा पुगेर आठ घण्टा लामो उद्धार गरेबापत २० लाख रुपैयाँ बीमाबाट लिएको थियो। तर, छानबिन समितिले त्यस समयमा कम्पनीले कुनै पनि पर्यटक उद्धार गरेको रेकर्ड फेला पारेन । माउन्टेन हेलीले उद्धार गरेको भनेको मितिमा जारी गरेका बीजकलाई छानबिन कार्यदलले भिडाउँदा उद्धारबापत बिमा दाबी गरेको तर कसैको पनि उद्धार नभएको पाइएको छ।

फ्लाइट कनेक्सनले पर्यटन विभागबाट अनुमति नलिई ९ सय १५ वटा उद्धार गरेको तथा प्रतिउद्धार ५६ प्रतिशतसम्म नाफा लिएको प्रतिवेदनमा औंल्याइएको छ। यसले प्रतिपर्यटक उद्धारमा करिब ५ लाख हेलिकप्टर उडानको बीमा दाबी गरेको छ। माउन्टेनले गरेका १ सय १२ पर्यटकको उद्धारमा ६३ प्रतिशतसम्म नाफा लिएको छ। यसले प्रतिपर्यटक हेलिकप्टर खर्च साढे ५ लाख हाराहारी बिमामार्फत दाबी गरेको छ।

हिमालयन सोसियल जर्नीले ७३ जना पर्यटक उद्धार गरेर स्वाकोन अस्पतालमा भर्ना गरेको विवरण कार्यदललाई दिए पनि अस्पतालमा उनीहरूको उपचार भएको देखिँदैन। यसले बीमाबाट प्रतिपर्यटक साढे ४ लाखसम्म रकम लिएको छ। विदेशी बिमाको एजेन्टका रूपमा काम गर्दै आएको अल्पाइनले ३ सय ९४ पर्यटकको उद्धार गर्दा प्रतिपर्यटक ४ लाख रुपैयाँसम्म असुली औसत ३२ प्रतिशत नाफा लिएको देखिन्छ।

  कैलाश चार्टरले ४९ प्रतिशतसम्म नाफा लिई प्रतिपर्यटक ८ लाखसम्म हेलिकप्टर उद्धारको रकम बिमाबाट लिएको छ। यी आठवटै कम्पनीले राजस्वसमेत हिनामिना गरेकाले छानबिन गर्न राजस्व अनुसन्धान विभागलाई भनिएको छ। त्यसैगरी समिट हेलिकप्टर्स प्रालि, माउन्टेन हेलिकप्टर्स प्रालि, माउन्टेन हेली चार्टर प्रालिका उद्धार विवरण पनि एकअर्कासँग मिल्दैनन्।

कार्यदलले हिमालयन, नेपाल रेस्क्यु, माउन्टेन रेस्क्यु, माउन्टेन हेली र इगल हेलीले राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति नलिई उद्धार भाडा डलरमा लिएको औंल्याउँदै राष्ट्र बैंकलाई कारबाही गर्न पत्राचार गरेको छ।

ताजा खबर