निशानलाई नेपाल आईडल बनाउन बाबुले लैनो गाई बेचे

२०७४ श्रावण ४ बुधबार १५:००:०० मा प्रकाशित

काठमाडौ, ४ साउन । छोरो निशान भट्टराई नेपाल आईडल बनेको हेर्ने रहरले उर्लाबारीका नित्यानन्द भट्टराईले घरको लैनो गाई बेचेका छन् । मोरंगको उर्लाबारीबाट अडिसन दिएका निशानलाई आईडल बनाउन मद्दत गर्ने उदेश्यले लैनो गाई बेचेको नित्यानन्दले सरल पत्रिकालाई बताए ।

अहिले टप टेनमा पर्न सफल भएका निशान उर्लाबारी नगरपालिका – ७ का हुन् । २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको पक्षमा प्रचार गर्न केही साताअघि मात्रै लैनो गाई ६० हजारमा विक्री गरेको बताए ।

उनले छोरालाई नेपाल आइडल बनाउन र घरखर्चका लागि पनि पैसा आवश्यक परेर गाई बेचेको बताए । छोरा यत्रो कार्यक्रममा भाग लिएको देख्दा एकदमै प्रफुल्लित भएको बताउँदै भट्टराईले भने –‘खुशीको सीमा नै छैन । खुशीले गर्दा गाई बेचेकोमा दुःख पनि लागेको छैन ।’ 

 निशान भन्छन् , ‘गाई बेचेको कुरा सत्य हो । हरेक बुवा आफ्नो छोराका केही होस् भन्ने नै चाहन्छन् र उहाँले पनि ममा केही देख्नु भएर नै यस्तो गर्नु भएको हो ।’

सामान्य परिवारमा जन्मिएका निशानको स्कूल भर्ना भएदेखि गीतसंगीत प्रतिको लगाव देखेर त्यसलाई सम्मान गर्दै उनले पढेको स्कूल भृकुटी मोडल स्कूलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो ।

यस्तै मिस नेपालको उपाधि जितेकी निकीता चाण्डक पनि उर्लाबारीका कै हुन । उनलाई मिस नेपाल बनाउन अभियानकै रुपमा लागिपरेका थिए । यसरी उर्लाबारीकै निकिता चाण्डकले मिस नेपालको उपाधि हात पारेकी थिइन् ।

अहिले निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन गरिएको छ ।
 

ताजा खबर