सिर्जनशील सिर्जु

२०७५ श्रावण २९ मंगलबार २१:३८:०० मा प्रकाशित

एक दशकअघि काठमाण्डौं आउँदा उनको सीमित सपना थियो ‘पपुलर सिंगर’ बन्ने । 

समय यसरी बदलियो कि उनीसँग यतिबेला धेरै विकल्प एकैचोटी आएका छन् । गायिकाको लोभलाग्दो छविमा मात्र सीमित छैनन उनी । मोडलिङमा पनि त्यत्तिकै जमेकी छिन् सिर्जु अधिकारी । 

‘सवैकुराले साथदियो भने फिल्ममा नायिका बनेर देखिनपनि सक्छु’ मुस्कुराउँदै सुनाउँछिन् सिर्जु ।

 सानैदेखि आधुनिक गीत मन पथ्र्यो । पछि दोहोरी गीत गाउँदा गाउँदै लोक र दोहोरी गीतले मज्जाले तान्यो । अहिले देश विदेशमा हुने सांगीतिक कार्यक्रममा उनको गज्जबको ‘डिमाण्ड’ छ । यसो हुनुमा उनको परफर्मेन्स दर्शक श्रोताले निकै मन पराएका छन् ।

‘म आफुलाई ‘स्टेज परफर्मर’ हुँ जस्तो लाग्छ ’ सिर्जु भन्छिन्– ‘ नेपालीहरु धेरै बसोबास भएका थुर्पै देश पुगेपछि उनीहरुको सुखदुखमा साथदिन आइपुगें भन्ने लाग्दो रहेछ । नेपाली दाजुभाइ दिदीवहिनीप्रति निकै गर्व महसुस हुन्छ ।’

दाङ तुल्सीपुरबाट काठमाण्डौं आएर चर्चा कमाइरहेकी यी गायिकाको फिगर कोकाकोला, प्यार प्यार, छेकेन जामाले, झुम्के बुलाकी जस्ता गीत युटुबमा निकै मन पराइएका छन् । विदेशी भूमिमा हुने कार्यक्रममा उनको डिमाण्ड यस्तै गीतमा हुने गरेको छ ।

यस वाहेक उनी संगीतकार पनि हुन् । उनले संगीतबद्ध गरेका केही आधुनिक गीतपनि श्रोताहरुले मन पराएका छन् । ‘फुच्ची फुच्ची’ बोलको गीत प्रमोद खरेलले गाएका छन् । यो गीत अष्ट्रेलियामा छाँयांकन गरिएको हो ।

गायिका, मोडल, संगीतकार र गीतकारको रुपमा चिनिएकी सिर्जुको खास परिचय के हो त ? उनी अलमलिइन । ‘म आफैं कन्फ्युज छु । मलाई धेरैले मोडल भनेर चिन्नुहुन्छ , कसैले गायिका भनेर चिन्नुहुन्छ । उनी भन्छिन्– ‘खासमा म फुल प्याकेज सिर्जु नै हुँ । ’ 

देशभित्रका थुप्रै शहरमा र युरोप, जापान , मलेशिया , ओमान, वहराइन, दुवही लगायतका देशमा कार्यक्रम सम्पन्न गरेकी सिर्जु छिटै लण्डनमा हुने कार्यक्रममा भागलिन जाँदैछिन् । 

अहिले श्रोताले रोमान्टिक गीत मन पराइरहेको उनको बुझाई छ । फास्ट बिटका गीतहरु स्टेजमा जमिरहेको उनी सुनाउँछिन् ।

अहिलेका लोकगीतले बजार तताएको छ । तीज आउनुभन्दा केही महिना अघिदेखिनै तीज गीतको रेकर्डिङ र सुटिङले सवैजसो कलाकार व्यस्त छन् । यस्तै मेसोमा उनको व्यस्ततापनि कम छैन । आफुलाई सवै खाले गीत मन पर्ने उनी सुनाउँछिन् । संगीतकार आलोकश्रीको संगीतमा उनको आधुनिक गीत छिटै आउँदैछ । 


 

ताजा खबर