पुष्पकमलको खाटदेखि विद्यादेबीको कारसम्म

२०७४ श्रावण ४ बुधबार १२:०५:०० मा प्रकाशित

सहनशिलता, अरुका प्रति सम्मान दर्शाउने र हिंसालाई दुरदुर गर्ने हिजोको नेपाली समाज आज छैन । नकारात्मक सोचाई, विपक्षी र आफुलाई मन नपर्नेलाई भित्तैमा पुग्ने गरी खुइल्याउने र अनावश्यक बिषयलाई लगातार उछाल्ने चरीत्र मौलाउँदै गएको छ हाम्रो समाजमा । यसले नेपाली समाजमा विभाजन ल्याउने व्यक्ति वा समूहको स्वार्थलाई मलजल गरिरहेको छ।

हामी सबै आफूलाई अरुले सम्मान गरुन्, माया गरुन् र दुव्र्यवहार नगरुन् भन्ने चाहन्छौ तर आफंै चाहिँ यसको ठीक उल्टो बाटो हिँडिरहन्छौं । भेटेसम्म अरुलाई लखेट्छौं, लुट्छौं र उनीहरुका इज्जत र सम्मानमा चोट पुर्याउने घातक प्रयत्न गरिरहन्छौं । हामी प्रजातन्त्र भन्छौं, स्वतन्त्रता भन्छौ मानवअधिकारका कुरा गर्छौं । भष्टचार रहित समाज चाहिन्छ भन्छौ तर हाम्रा व्यवहारहरु त्यस्ता छैनन् । पैसा र पद पाउनका लागि जे पनि गर्न तयार हुन्छौं तर अरुले पाउने लागे भने रोक्न कुनै कसर बाँकी राख्दैनौं ।

विगत पाँच वर्षका नेपालमा भएका घटनाक्रमलाई हेर्यौं भने मात्र पनि हामी कता गइरहेका छौं भन्ने स्पष्ट चित्र पाउन सकिन्छ । हामी गलत बाटोमा छौं, प्रत्येकलाई थाहा छ, तर त्यो बाटो हामी छाड्न सकिरहेका छैनौं । कार्यपालिका र न्यायपालिकालाई स्वतन्त्र राख्नुपर्छ भनेर आवाज उठाउने हाम्रा नेताहरुले न्यायपालिकामाथि धावा वोल्ने कुचेष्टा गरिरहे र गरिरहेका छन् । जबजब न्यायपालिकाका निर्णयहरु आफु प्रतिकुल आए त्यसबेला नेताहरु न्यायपालिकाप्रति धारेहात लाउने गर्छन्। तर तिनै नेताहरु न्यायपालिका प्रमुखलाई कार्यपालिका प्रमुख बनाएर चुनावमा गएको हामीले बिर्सेका छैनौं । शक्ति पृथकीकरणको सिद्धान्त आफ्ना स्वार्थका लागि तिलाञ्जली दिने तिनै नेताहरु न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गर्यो भनेर प्रधानन्यायाधीशमाथि वदनियतपूर्ण तरिकाले महाअभियोग प्रस्ताव दर्ता गर्छन् । निकट इतिहार यसको साक्षी छ।

प्रजातन्त्रका लागि जीवनभरी लडार्इँ गरेका मानिसहरु खुँखार प्रजातन्त्र विरोधीलाई संवैधानिक निकायको प्रमुख बनाउँछन् । तर वीष पिलाइएको सर्प आफैंमाथि आइलाग्छ भन्ने कुरा नागरिक समाजले, जनताले सम्झाउँदा पनि विवादास्पद व्यक्तिलाई उनीहरु नियुक्ति दिन पुग्छन् । लोकमान एक पात्र हुन् ।
प्रजातन्त्र नागरिकका लागि हुनुपर्ने हो । तर यहाँ यो नेताका लागि त्यो पनि ठूला पार्टीका ठुलै नेताका लागि मात्र भएको छ । उनीहरु मिलेसम्मका पद तथा पुरस्कारहरु आफू र आफ्नै परिवारमा र आफ्नै पार्टीका चाकरीवाज हनुमानहरुमा सीमित गर्न खोज्छन् । न्यायालयका न्यायाधीश देखि राजदूतहरु, विश्विद्यालयका उपकुलपति देखि लिएर क्याम्पसका प्रमुखहरु भागबण्डाका आधारमा नियुक्त हुन्छन् । पार्टीले नियुक्त गरेका पार्टीका कार्यकर्ता न्यायाधीशहरु र विश्वविद्यालयका उपकुलपतिहरुबाट कस्तो परिणाम आउँछ त्यो त जुँघा चल्यो कुरा बुझ्यो भनेजस्तै हो । न्यायालयमा पनि गाईले राडी खान छोडेको छैन भनेर कानून व्यवसायी नै चर्चा गरिरहेका छन्। विश्वविद्यालयको भूमिका त्यहाँका अग्नपीडित पुस्तकालयले नै बताईरहेका छन्। अरुले गर्दा राजनैतिकरण गरेको देख्ने नेताहरु आफूले त्यही काम गर्दा विजयी ठान्ने प्रवृतिले सिंगो नेपाली समाजलाई अधोगतितिर धकेलिरहेको छ, तर हामीले अझै चेतेका छैनौं ।

आफूले चुनाव जिते ठिक अरुले जिते धाँधली भन्ने र चुनावी परिणामलाई नमान्ने धम्की दिनेहरुलाई नेता मानिरहनु पर्ने अवस्थामा छन् नेपालीहरु । भ्रष्टाचार, दुराचार र यौनाचार जस्ता खराब कुरालाई निरुत्साहित गर्न कलम चलाउनुपर्ने पत्रकारहरु आफैं नै फिरौती, व्याल्कमेलिङ र यौन दुराचार गर्न पुग्छन् । न्यायाधीश बिचौलियाको हातबाट घुस खान्छन् र फैसला गर्छन, हाकीम घुस खाएर जनताको काम गर्छन् र कर्मचारी युनियनका नेताहरु भ्रष्ट कर्मचारीसँग मिलोमतो गरी आफ्नै सहकर्मीको नियमित बढुवा र सरुवा प्रक्रियामा लाखौंलाख रुपैयां माग्न हिच्किचाउँदैनन् । व्यापारीले जे वेचेर र जतिमा वेचेर पनि नाफा खान पाउँछ यहाँ । कर्मचारी शिक्षकहरु राजनीति गरेर, कार्यालयमै बस्दै नबसी तलब बुझ्छन् । जनता यो सबै टुलुटुलु हेर्छ ।

हाम्रो समाज र राजनीति यी र यस्ता  कुराले आक्रान्त छ र जनता पनि चुप लागेर सहेर बसिरहेको छ । यसको निदान कसले र कहिले खोज्ने कसैलाई थाहा छैन । यद्यपी जनताको खबरदारी यस्ता धेरै विकृति र विसंगती अन्त्य गर्न पर्याप्त हुन्छ तर उनीहरुलाई सहि नेतृत्व दिनेको अभाव छ ।

तर पनि टाउको दुखेकेको दवाई नाइटोमा लाउने आमप्रवृतिबाट जनता पनि अछुतो देखिदैन । कुनै नकारात्मक कुरा बाहिर आयो भने त्यसको पछि दौडिने होड्मा हुन्छौं हामी नेपालीहरु । हामीलाई आम जनताको समस्या भन्दा प्रधानमन्त्रीले प्रयोग गरेको खाटको बढि चासो हुन्छ र खाटको निहुँमा सम्मानित संस्था बिरुद्ध वीषवमन गरिरहन्छौं हप्तौसम्म । एकलाख मूल्य पर्ने खाट आज धेरै मान्छेहरु प्रयोग गर्छन् तर निर्वाचित प्रधानमन्त्रीले त्यो खाटमा सुत्नु अपराध मानिन्छ यहाँ । हामी खाटको दाम एकलाख रुपैयाँ पर्यो पर्ेन पत्ता लगाउन प्रयाश गर्देनौ तर त्यसमा सुत्नेको निरन्तर खेदो गर्छौ ।

यसपाली हामी खाटबाट कारमा उक्लेका छौं । राष्ट्रपति जननिर्वाचित सर्बोच्च संस्था हो  । त्यहाँ अहिले बिद्यादेबी भण्डारी छन् । हिजो डा.रामवरण यादव थिए । भोलि पनि नेपाली जनताकै छोरा या छोरीले त्यो सम्मानित संस्थाको नेतृत्व लिनुपर्छ । यो नियमित काम हो । यसपाली राष्ट्रपति भण्डारीले १६ करोड मूल्यको कार माग गरेको भनेर त्यही संस्थाको मानमर्दन हुनेगरी पुष्टी नभएको समाचार भाइरल गराइयो । कार माग भएको हो कि होइन भनेर पुष्टी गर्न कसैले चाहेन न त राष्ट्रपति सचिवालयले नै त्यसको सही समयमा रेस्पोन्स नै गर्यो। अपुष्ट समाचारको बारेमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्यो।

यता सामाजिक सञ्जालको चरम दुरुपयोग भएको कुरामा कसैको खासै चासो देखिएन । राष्ट्रकै गरिमाको सार्बजनिक रुपमा खिल्ली उडाइरहँदा संचार सम्बध्द संस्था समेत मौन जस्ता देखिए। नबोली नहुने बेलामा मौन बस्ने यस्ता लाटोबुंगो संस्थाको के काम भन्ने जस्ता टिप्पणी पनि सुनिए।

 थाहा छैन राष्ट्रपतिले कार मागेको हो कि होइन सरकारले किन्दिन लागेको हो कि होइन तर हामी एकोहोरो गाली गरिरहेका छौं र खुइल्याई रहेका छौं हाम्रा सम्मानित संस्थाहरुलाई । प्रधानमन्त्रीले राष्ट्रपतिलाई १६ करोडको कार किन्न लागेको कुरा खण्डन गरिसक्दा पनि हामी कराइरहेका छौं एकहोरो । हामी किन नेपालका सर्वेच्च संस्थामाथि प्रहार गरिरहेका छौं । सायद कसैलाई थाहा छैन । तर हामी कराउन छाडेका छैनौं । वास्तवमा हामीबीच मौलाएको नकारात्मक सोच नै यसको कारण हो । यो खुइल्याउने संस्कृतिले एकदिन हामी सबैलाई निल्ने छ । सबैलाई हेक्का रहोस् !
  तस्बीर:वीवीसी
 
 

ताजा खबर