ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति

२०७४ श्रावण ४ बुधबार १०:४३:०० मा प्रकाशित

काठमाडौं,४ साउन । हृदयाघातका कारण दुई हप्ताअघि निधन भएकी निर्देशक निलु डोल्मा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।  डोल्माको परिवार र कलेजबीच आइतबार ओस्कारमा पढ्ने ३  जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए ।

कलेज प्रशासन र  डोल्माकी आमाबीच भएको सम्झौता अनुसार ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन् । छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ ।

निलुको नाममा प्रदान गरिने छात्रवृत्तिसँगै ओस्कार कलेजमा छात्रवृत्तिको संख्या २२  पुगेको कार्यकारी अधिकृत विनोद पौडेलले जानकारी गराए । ओस्कारलाई यसअघि नै नेपाल चलचित्र विकास बोर्डले १० जनालाई सिंगापुरको इनफिनिटी स्टुडियोले ५ जनालाई छात्रवृत्ति दिँदै आएको छ भने कलेज स्वयंले ४ जना महिलालाई ५० प्रतिशत छुटमा पढाउँदै आएको छ । छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ ।

  ओस्कारका ६ विद्यार्थी छनोट

यसैबीच ओस्कार कलेजका ६ जना विद्यार्थी थाईल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि छनोट भएका छन् । यही महिनाको जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन् । १० दिनसम्म चल्ने प्रतियागितामा कलेजबाट  असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेति, सजल लोप्चन, दिवस अम्गाइँ र जेसन लोप्चन छानिएका छन् । ६ जना जोडीको रुपमा तीन समूहमा विभाजित भइ प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाई भाट जित्नेछ भने थप ८ फिल्मले ३० हजार थाई भाट प्राप्त गर्नेछन् । ओस्कार फिल्म कलेज नेपालको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र फिल्म कलेज हो । 

ताजा खबर