उच्च सम्मान भएको महसुस- प्रधानसेनापति

२०७४ जेठ १४ आइतबार १६:२९:०० मा प्रकाशित

काठमाडौं,१४ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारबाट द्रुत मार्ग निर्माणको जिम्मेवारी पाउनुलाई राष्ट्रनिर्माणमा नेपाली सेनाले पु¥याएको योगदानको कदर र व्यावसायिकताको उच्च सम्मान भएको महसुस गरेको बताएका छन्।

द्रुत मार्ग निर्माणको सन्दर्भमा नेपाली सेनाले गठन गरेको अधिकारसम्पन्न निर्देशक समितिका संयोजक एवम् बलाध्यक्षरथी पूर्णचन्द्र थापाले राजधानी प्रवेश गर्ने यातायातको चापलाई दृष्टिगत गरी वैकल्पिक राजमार्गका रुपमा अघि बढाइएको राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुत मार्ग निर्माणलाई नेपाली सेनाले गौरव र चुनौती का रुपमा लिएको बताए।

नेपाली सेनाको द्रुत मार्ग निर्माण आयोजना प्रमुखको जिम्मेवारीमा रहेएका उपरथी योगेन्द्र खाँणले ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँको चाल्नाखेल, मकवानपुरको इपा–पञ्चकन्या, छतीवन बाराको रतनपरी हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिने ७६।२ किमी दूरीको द्रुत मार्ग निर्माणले इन्धनमा बचत, ढुवानीमा सहजता र सवारी साधनको आयु बढाउनाका साथै देशको समग्र आर्थिक विकासमा ठूलो योगदान पु¥याउने बताए।

भविष्यमा भारत र चीनलाई जोडेर पारवाहन मार्गका रुपमा विकसित हुने द्र्रुत मार्गको महत्वलाई बारामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलले अझ उजागर गर्ने छ । सेनाले उक्त राजमार्ग १० स्थानमा विभाजन गरी काम गर्ने जनाइएको छ ।

चार लेनको उक्त द्रुत मार्गको कुल लागत एक खर्ब १२ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको उक्त आयोजना चार वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ । उक्त सडक ललितपुरमा आठ, काठमाडौंमा चार, मकवानपुरमा ५६ र बारा जिल्लामा आठ किमी रहने छ । उनान्सय पुल र डेढ किमीको दुईमुखे सुरुङ हुने सो राजमार्ग पार गर्न एक घन्टा समय लाग्ने छ । रासस

ताजा खबर