नक्कली भिषामा नेपाल छिर्न खोजेपछि..

२०७५ श्रावण २३ बुधबार १२:०९:०० मा प्रकाशित


काठमाडौं, २३ साउन । असार ३१ गते क्यामरुनका एक जोडी रोमारिक बेट्टाट एनगुइफाङ र भेनेस्सा येनेन कतार एयरवेजबाट दिल्लीको बाटो हुँदै नेपाल आएका थिए ।

अध्यागमन विभागले उनिहरुको भिषा जाँच गर्ने क्रममा नक्कली भिषा लिएर आएको थाहा पाएपछि उक्त जोडीलाई फर्काउने निर्णय गरेको थियो ।

उनिहरु शंकाको घेरामा पर्नुको कारण उनिहरु दिल्लीबाट काठमाडौं आउँदा कतार एयरवेजबाट आएका थिए । दिल्लीबाट नेपाल आउँदा नेपाली र भारतीय एयरलायन्सहरु प्रशस्तै हुँदाहुँदै कतार एयरवेजबाट आएपछि उनिहरुमाथी थप छानविन भएको थियो ।

अनुसन्धानको क्रममा उनिहरु दिल्लीबाट कतार गएकोमा कतारमा छिर्न नदिएपछि नेपाल आएको पत्ता लागेको थियो । त्यसमाथी नेपाल आउने क्रममा नक्कली भिषा लिएर आएपछि उनिहरुलाई नेपाल छिर्न नदिइने निर्णय भएको थियो ।

रोमारिक र भेनेस्साले एकतर्फि टिकटमात्र लिएर आएकाले उनिहरुलाई साउन २१ गतेमात्र फर्काउन सकिएको थियो । यसरी नक्कली भिषामा आएकामा उनिहरुलाई जनही रु १०,००० जरिवाना तथा एक वर्ष नेपाल आउन प्रतिबन्ध पनि लगाइएको जानकारी अध्यागमन विभागले दिएको छ ।

पछिल्ला समय अफ्रिकी मुलुकबाट नेपालमा गलत कागजात लिएर आउनेको संख्या बढ्दो क्रममा छ ।

 

ताजा खबर