जोशीको नाम अनुमोदन गर्नुहुँदैन, निरु पाल,संसदीय सुनुवाई विशेष समिति सदस्य

२०७५ श्रावण १७ बिहीबार १३:५३:०० मा प्रकाशित

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भयो । किन ?

खै, अनिर्णयको बन्दी किन बनाउन खोजेका छन्, मलाई पनि थाहा छैन । पटकपटक बैठक बस्ने, निर्णय गर्न नसक्ने क्रम चलिरहेको छ । मेरो बिचारमा यो राम्रो होइन ।

संसद र न्यायालयमा पार्टीको हस्तक्षेप बढेको हो त ?

न्यायालय जस्तो ठाउँमा पार्टीको हस्तक्षेप नहुनुपर्ने हो । तर अहिले हस्तक्षेप गरिएको हो कि भन्ने लागेको छ । न्यायालय जस्तो स्वच्छ ठाउँमा पनि पार्टीले हस्तक्षेप गर्यो भने यो दुर्भाग्य हुन्छ ।

हिजोको बैठकमा केके भयो ? निर्णय हुन नसक्नुको कारण के हो ?

बैठक बस्छ । बैठकमा साथीहरुले हामीलाई छलफल गर्न अझै समय चाहियो भन्नुहुन्छ । खै कोसँग छलफल गर्न समय चाहिएको हो मलाई त थाहा नै छैन । पछिल्लो तीन चार दिनदेखि एक दिन समय भयो भने सर्वसम्मत हुन्छ भन्नुहुन्छ तर भएको छैन ।

छलफलका लागि समय कसले माग्यो ?

प्रतिपक्षी दल नेपाली कांग्रेसका साथीहरुले छलफलका लागि समय माग्नुभएको हो । उहाँहरुले बैठकबाटै बाहिरिन्छौँ भनेपछि हामीले पनि सकेसम्म सर्वसम्मत निर्णय गरौँ भनेर लचिलो भइदिएका हौँ ।

तर सत्तारुढ दलले नै संसदीय सुनुवाई विशेष समितिलाई खेलौना बनायो भन्ने आरोप छ नि ?

मलाई त्यस्तो लाग्दैन । सत्तापक्षले त महानता देखाएको छ । समितिमा सत्तापक्षको दुई तिहाई बहुमत हुँदाहुँदै पनि सकेसम्म सर्वसम्मत नै गरौँ भन्ने हाम्रो चाहना हो । त्यसै पनि अधिनायकवाद लाद्यो भन्ने उहाँहरुको आरोप छ । पहिलो समितिको पहिलो निर्णय नै किन दुई तिहाईबाट गर्ने भनेर लचिलो बनिरहेका छौँ । यो उदारतालाई उहाँहरुले कसरी लिनुहुन्छ, त्यो मलाई थाहा छैन ।

१८ गते अर्को बैठक बस्ने भनिएको छ । उक्त बैठकले त प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा निर्णय गर्ला नि ?

हिजोको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले १८ गतगेको बैठकमा सकेसम्म सर्वसम्मत नभए बहुमतका आधारमा भए पनि निर्णय गर्ने आश्वासन दिनुभएको छ । हामी पनि निर्णय गर्नुपर्छ भन्ने पक्षमा छौँ । सकेसम्मसर्वसम्मत नभए बहुमतका आधारमा भए पनि भोली निर्णय गर्छौँ ।

निर्णयका लागि पार्टी नेतृत्वसँग सोध्नुपर्ला नि ?

हामीले निर्णयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग सल्लाह गरेका छैनौँ । संसदीय सुनुवाई समिति भनेको आफैँमा अधिकारसम्पन्न समिति हो । संवैधानिक परिषदले गरेको सिफारिस जस्ताको तस्तै लागु गर्नुपर्छ भन्ने बाध्यता हामीलाई छैन । समितिले स्वविवेक प्रयोग   गर्छ ।

तर जोशीलाई अस्विकृत गराउन प्रधानमन्त्रीले तपाईंहरुलाई निर्देशन दिनुभएको छ भन्ने आरोप छ नि ?

यो सरासर झुट कुरा हो । प्रधानमन्त्रीज्यूले अहिलेसम्म हामीलाई निर्णय गर्नुस् भन्नुभएको छ, तर जोशीलाई फाल्नुस् वा बचाउनुस भनेर भन्नुभएको छैन । उहाँसँग हामीले छलफल पनि गरेका  छैनौँ । संसदीय सुनुवाइ विशेष समिति आफैंमा पावरफुल छ । हामी पार्टीका कार्यकर्ता मात्रै होइनाँै । देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ । हामी रबर स्ट्याम्प होइनौँ ।

पार्टीले ह्विप जारी गर्यो भने त मान्नुपर्ला नि ?

पार्टीको ह्विप लाग्ला, तर यो विषयमा पार्टीले ह्विप नै लगाएको छैन ।

भोली के निर्णय होला ? तपाईको विचार के हो ?

एउटा निरु पालको निर्णय लागु हुन सक्दैन । निरु पालले के चाहन्छ भन्ने कुरा फरक पाटो हो । मेरो व्यक्तिगत कुरा भन्नुहुन्छ भने दीपकराज जोशीको बारेमा जेजे टिका टिप्पणी आएका छन्, त्यो कारणले चाँही उहाँलाई अनुमोदन गर्नु हुँदैन भन्ने हो । गलत गर्ने मान्छेलाई मेरो संरक्षण हुँदैन ।
(निरु पाल नेकपाकी सांसद हुन्, उनीसँग बिहीबार नेपाली रेडियो नेटवर्कले गरेको कुराकानीको सार)
 

ताजा खबर