भूकम्प पीडितलाई सडक उपहार

२०७४ जेठ १८ बिहीबार ०८:२०:०० मा प्रकाशित

नवराज सापकोटा- काभ्रे, १८ जेठ । जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारी क्षेत्रका भूकम्प पीडितलाई लक्षित गरी सडक स्तरोन्नती हुने भएको छ । भुकम्प आपतकालिन सहायता कार्यक्रम अन्तरगत उक्त सडक निर्माण तथा स्तरोन्नती हुने भएपछि स्थानिय हर्षित छन् ।
खोपासी, ढुंर्खक, च्याम्राङबेसी, मिल्चे बोरान सडकको खोपासी देखि च्याम्राङबेसी खण्ड स्तरोन्नती हुने भएको हो । उक्त सडकको उद्योगराज्यमन्त्री कञ्चनचन्द्र वादेले एक कार्यक्रम बीच शिल्यान्यास गरे ।
नेपाल सरकार, एसियाली विकास बैक, र स्वीस सरकार विकास सहयोग कार्यक्रमको साझेदारीमाा संघिय मामिला तथा स्थानीय विकास मान्त्रालय मार्फत भूकम्प आपतकालिन सहायता आयोजनाले आगामी १३ महिना भित्र उक्त सडक मर्मत सम्पन्न गर्ने गरी काम थालेको हो ।
जिल्लाको डाँडापारी क्षेत्र जोड्ने उक्त सडक निर्माणकै क्रममा छ । च्याम्राङबेसीसम्म ट्रयाक निर्माण पछि यातायातका संचालन भए पनि यात्रा जोखिमपूर्ण रहेको स्थानियको भनाई छ । च्याम्राङबेसी देखि मिल्चे बोराङसम्म ट्रयाक खोल्ने क्रम जारी छ ।
महाभारत पर्वतमा पर्ने सडकको अधिकांश क्षेत्र जोखिमपूण छ । चट्टानयुक्त पहाडी भू–भागका कारण करोडांै खर्चेर पनि उक्त सडक कछुवा गतिमा अघि बढेको स्थानियको दुखेसो छ । भूकम्पबाट अत्यन्तै प्रभावित यस क्षेत्रका बासिन्दा पैदल यात्रा पछि छोटो दुरी भए पनि जोखिम सडकका कारण घण्टौ लगाएर सदरमुकामसम्म पुग्न बाध्य छन् ।
नाली सहित ६.५ मि चौडामा निर्माण हुने उक्त सडकको कुल लागत २१ करोड ५६ लाख रुपैयाँ रहेको छ । सडक शिलान्यास गर्दै राज्य मन्त्री वादेले भने –“पूर्वाधारको विकास नै सम्बृद्धिको आधार हो सडक विस्तार पछि स्थानियको आय स्रोत पनि बढ्नु पर्छ ।” राजधानीबाट दक्षिण तराई जोडने मार्गको रुपमा यसको चर्चा भए पनि काम हुन नसकेको बताउँदै तराई जोड्ने उपयुक्त मार्गको रुपमा विकास गर्न लागि पर्ने उनले थपे । यस मार्गलाई धरानको चतरासम्म जोड्न अध्ययन भइरहेको उनले बताए ।

भुकम्प आपतकालिन सहायता आयोजनाका परियोजना प्रमुख ईश्वर चन्द्र मरहठ्ठाले भूकम्प पीडितका लागि निजी आवाससँगै सडक संजालको पनि विस्तार गर्ने योजना रहेको उल्लेख गरे । जिल्लाको विकट क्षेत्रमा ढुवानीको समस्या भएका बेला छोटो समयमै परियोजना सम्पन्न गरेर निजी आवास निर्माणका लागि सहजता निर्माण गर्न आयोजन सहयोगी बन्ने उनले दावी गरे ।
बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उक्त सडक स्थानियका लागि राहत मात्र नभएर दिगो आर्थिक रुपान्तरणको माध्यम बन्ने बताए ।

ताजा खबर