च्छोरोल्पामा बज्न थाल्यो फोनको घण्टी

२०७४ जेठ १६ मंगलबार ०८:३८:०० मा प्रकाशित

दोलखा, १६ जेठ । गीत सुन्न र गेम खेल्न मात्रै प्रयोग हुँदै आएका दोलखाका अत्यन्त दुर्गम वेदिङ गाउँका मोबाइल सेटमा अहिले निरन्तर फोनको घण्टी बज्न थालेको छ । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने पर्यटकीय वेदिङ गाउँमा नेपाल टेलिकमले जीएसएम प्रविधिको मोबाइल फोन सेवा सञ्चालन गरेपछि बेदिङवासीको मोबाइलमा फोनको घण्टी बज्न थालेको हो । नेपाल टेलिकमले बेदिङमा मोबाइलको टावर राखेपछि रोल्वालिङ क्षेत्रको बेदिङ, ना, निवारे लगायतका ठाउँमा मोबाइल सेवा सुरु भएको हो ।
बेदिङस्थित ना भ्यु होटलकी निम्फुटी शेर्पाले बेदिङमा मोबाइल सञ्चालन भएपछि देश विदेशबाट फोनको घण्टी बज्न थालेको बताईन् । मोबाइल सञ्चालनपछि गौरीशंकर हिमालको काखमा अवस्थित बेदिङमा पुग्ने पर्यटकहरु समेत खुशी हुने गरेको उनले सुनाइन् । ‘उनीहरु फोन र इन्टरनेटसमेत चलाउन पाउँदा खुशी छन्, यो सन्देश संसारभर गएको छ,’ उनले भनिन् । रोल्वालिङ क्षेत्र ठुलो संख्यामा पर्यटकहरु पुग्ने क्षेत्र हो । बेदिङ र च्छोरोल्पा हुँदै लासिलाप्चा भञ्ज्याङ पार गरी सगरमाथा क्षेत्र जाने र आउनेहरुको संख्या पनि उल्लेख्य हुने गर्दछ ।
सो क्षेत्रमा मोबाइल फोन सञ्चालन भएपछि मोबाइल सेट नभएका बेदिङवासीहरु काठमाडौंबाट सेट मगाउन थालेको बेदिङस्थित साङाछोलिङ गुम्बाका प्रमुख लामा ङावाङ तेञ्जिङ लामाले बताए । महँगो प्रविधिको स्याटेलाइट मोबाइल फोन चलाउँदै आएका लामा सस्तो जीएसएम प्रविधिको फोन चलाउन पाउँदा खुशी लागेका बताउँछन् ।
तर रोल्वालिङ क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती नासम्म फोन चले पनि च्छोरोल्पा हिमताल क्षेत्रमा भने नचलेको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले बताए । बहुचर्चित च्छोरोल्पा हिमताल विष्फोटन भएमा सूचना दिने ‘मास एसएमएस अलर्ट प्रणाली’ लाई समेत लक्षित गरी संचालन गरिएकोमा सो क्षेत्रमा सेवा नपुगेपछि समस्या भएको उनले बताए । च्छोरोल्पा क्षेत्रमा मोबाइल सेवा विस्तारका लागि बेदिङस्थित टावरबाट क्षमता वृद्धि गरिने र त्यसबाट पनि त्यस क्षेत्रमा फोन नचले रिफ्लेक्टर राखेर भए पनि सेवा पु¥याइने टेलिकमका दोलखा प्रमुख अर्यालले जानकारी दिए ।
विष्फोटनको उच्च जोखिममा रहेको च्छोरोल्पा हिमताल विष्फोटन भएमा सूचना दिनका लागि अहिले महँगो भीस्याट प्रविधिको प्रयोग हुँदै आएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का कार्यक्रम संयोजक दीपक केसीका अनुसार अहिले सो प्रविधिबाट सीमित मानिसहरुलाई एसएमएस हुनेमा टेलिकमको जीएसएम प्रविधिसँग जडान भएपछि सो नेटवर्कमा भएका सबै मोबाइलमा ‘मास एसएमएस’ जाने उनले    बताए । करिब दुई महिनाभित्रमा ‘मास एसएमएस अलर्ट प्रणाली’ मा जाने गरी तयारी भैरहेको उनले बताए ।
बेदिङमा टावर निर्माण गर्नका लागि नेपाल टेलिकमले हेलिकप्टरबाट सामान ओसारेको थियो । सो क्षेत्रमा मोबाइल सेवा सुरु गर्नका लागि वेदिङमा नेपाल टेलिकमले एक करोडको लगानीमा टावर निर्माण गरेको छ । टावर निर्माणका लागि आवश्यक जग्गा भने सगरमाथा आरोही फिन्जो शेर्पाले उपलव्ध गराएका हुन् । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने बेदिङका ८५ बढीले २ सय भन्दा बढी पटक विभिन्न विश्व कीर्तिमानसहित सगरमाथा आरोहण गरिसकेका छन् ।
यसअघि गौरीशंकर गाउँपालिकाको सिमीगाउँभन्दा केही माथिसम्म मात्रै मोबाइल सेवा उपलव्ध थियो । वेदिङमा स्याटेलाइट प्रविधिको टावर निर्माणपछि चरिकोट लगायतका ठाउँमा मोबाइल नेटवर्क नहुँदा पनि बेदिङमा मोबाइल फोन चल्ने नेपाल टेलिकमका अर्यालले जानकारी दिए ।

ताजा खबर