पोखरामा पाँच हजार साधकको ध्यानस्थल बन्दै

२०७५ श्रावण ९ बुधबार १६:२८:०० मा प्रकाशित

पोखरा । पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा ८० मिटर उचाइको विशाल बुद्धको मूर्तिसहित पाँच हजार साधकले एकै साथ ध्यान गर्ने ध्यानस्थल बन्ने भएको छ। 

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका–११ स्थित उक्त स्थलमा कूल एक सय ७८ रोपनी क्षेत्रफलभित्र बुद्धमूर्ति सहितका संरचना निर्माण गर्न लागिएको हो। 
समितिका सचिव राजबहादुर गुरुङका अनुसार बुद्ध मण्डला निर्माणका लागि देश विदेशमा रहेका विभिन्न व्यक्तिको दान तथा सहयोगबाट १० रोपनी क्षेत्रफलको जग्गा प्राप्त भएको छ। एक सय ७० रोपनी जग्गा धारापानी सामूदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको छ। 

“सम्पूर्ण जग्गाको उपयोग हुने गरी विशाल बुद्धमूर्तिसहित ध्यानस्थल, स्तुपा, पुस्तकालय, पर्यटन केन्द्र लगायतका संरचना निर्माण गरिने छ,” उनले भने, “गुरुयोजनाका साथ विस्तृत डिजाइन अघि बढीसकेको छ ।” 

बुद्ध मण्डला निर्माणसँगै यो एसिया क्षेत्रको विशिष्ट पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्दै सचिव गुरुङले यसबाट भएको आम्दानी यस प्रदेशको शिक्षा स्वास्थ्य, बालबालिकालगायत क्षेत्रमा लगानी गरिने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपालको संसद्मा गर्नुभएको सम्बोधनका क्रममा नेपाल–भारतलाई बुद्ध सर्किटसँग जोड्ने भनेसँगै नेपालमा बुद्ध सर्किटको विषयले चर्चा पाएको सचिव गुरुङले बताए। 

उनका अनुसार भारतीय प्रधानमन्त्रीको संसद्को सम्बोधनपछि पोखरालाई कसरी बुद्ध सर्किटसँग जोड्न सकिन्छ भन्ने सम्बन्धमा तत्कालिन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको संयोजनमा बैठक बसी शुरुमा सिद्धार्थ यशोधराको मूर्तिसहितको पार्क निर्माणको तयारी स्वरुप समिति गठन गरिएको थियो । 

“प्रारम्भमा सिद्धार्थ यशोधराको मूर्तिसहितको पार्क निर्माण गर्ने विषय अघि बढेपनि विज्ञबाट बुद्धलाई संसारले चिन्ने भएका कारण बुद्धमूर्ति नै राख्न सुझाव आएअनुरुप धर्मकाया बुद्ध मण्डला निर्माणको सोच अघि बढाइएको हो,” – उनले भने। 

बुद्ध मण्डला निर्माणका लागि चीनको साङघाइमा बस्ने सिङ्गापुरे नागरिक क्याथरिङ तानले डिजाइन गरिरहेका र त्यसले अन्तिम रुप प्राप्त गर्ने अवस्थामा रहेको उनले जानकारी दिए। 

पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने काहुँमा ऐतिहासिक धरहरा पनि रहेको छ । 
पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको आगमनमा चाप आए पनि काहुँ र यहाँस्थित धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको स्थानीयवासी बताउँछन् । 

यहाँस्थित धरहरा २०२६ सालमा निर्माण गरिएको हो । उक्त ठाउँ समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा पर्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्र्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । यहाँ पोखराको चापापानीबाट लगभग साढे सात किलोमिटर लम्बाइको सडकमार्फत पुग्न सकिन्छ । 

बाइसे चौबिसे राज्यकालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर यहाँको महत्वपूर्ण तीर्थस्थल हो । पोखरालाई बुद्ध सर्किटसँग जोड्ने लक्ष्यअनुरुप नै बुद्ध मण्डला निर्माणको अवधारणा अघि बढेको बताउने धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सल्लाहकार तीर्थ श्रेष्ठ यसले विश्वका बौद्ध धर्मावलम्बीका साथै अन्य पर्यटकलाई पनि आकर्षित गर्ने बताउँछन्। 

बुद्ध मण्डला निर्माणसँगै समग्र पोखराको पर्यटकीय विकासका साथै धार्मिक पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएकोछ । काहुँ डाँडामा बुद्ध मण्डला निर्माण भएसँगै पोखरा आउने पर्यटकको बसाइँ थप एक दिन लम्बिने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापा बताउँछन्। 

“पोखरा आफैंमा सुन्दर छ, निर्माणाधिन बुद्ध मण्डला जस्ता संरचनाले यहाँको सुन्दरतालाई अझै उजागर गर्छ,” उनले भने, “बुद्ध मण्डला विश्वकै पर्यटकको आकर्षक गन्तव्य बन्नसक्छ ।”  राससमा वासुदेव पौडेलको रिपोर्ट 
 

ताजा खबर