‘मेरो जीवनमा कोही पनि हाकिम छैन क्या !’  

२०७४ श्रावण २ सोमबार १४:०१:०० मा प्रकाशित

 आजकल कुन विधामा लेख्दै हुनुहुन्छ?

 एउटा किताब लेख्दै थिएँ, जुन आधा लेखेपछि रोकिएको छ । अब त्यसलाई पूरा गर्न अहिले खासै जाँगर पनि छैन । खाली जस्तो पनि भईयो। अनि खाली समयलाई कसरी उपयोग गर्ने भनेर सोच्दासोच्दै फिल्म लेख्ने कुरा भयो । फिल्म लेख्नु पर्यो भन्ने पहिला देखि कै कुरा थियो । लामो समय देखि आख्यानमा नै काम गरिरहेको हूँ। ठूल्ठूलो किताबमा काम गर्दा एउटै काममा मात्र अल्झेको जस्तो हुँईदोरहेछ। त्यसैले एउटा बेग्लै विधामा काम गरुँ न त भन्ने सोचकै क्रमममा फिल्मको स्क्रिप्ट लेख्ने काममा पुगियो।

चलचित्र लेखेबापत ठूलै कमाई भएको चर्चा छ ?

चर्चा त भइ नै हाल्छ। मैले जीवनमा कहिले पनि काम गर्दा पैसालाई प्राथमिकता दिईन। दत्तचित्त भएर काम गर्यो भने परिणाम स्वरुप पैसा पाईँदोरहेछ । सरस्वती खुशी बनाएपछि लक्ष्मी पक्कै आउँदिरहिछन्। अहिले फिल्म लेखनमा लागेको छु । दशलाख पारिश्रमिक दिने सहमति भएको छ। एउटा क्रियटिभ काममा, कला क्षेत्रमा काम गर्न पैसा त चाहियो नै । तर पैसा नै सबैकुरा पनि होइन।

कुनैपनि सिर्जनाको ठूलो महत्व हुन्छ । अलि राम्रो पैसा पायो भने तपाईँले सानातिना कामहरुमा अल्झिरहनु पर्दैैन। आर्थिक रुपमा अलिकति सुरक्षित भैयो भने धेरै राम्रा र सुन्दर सिर्जनाहरु गर्न सकिन्छ । त्यो हिसाबमा मैले फिल्म लेख्ने प्रसंग चल्दा यो कुरा अफर गरेको हूँ,यसमा उहाँहरु तयार हुनुभयो । हाम्रोवीचमा यसरी काम गर्ने सहमति भएपछि मैले काम शुरु गरेको हूँ।

अरु लेखक भन्दा बढी रोयल्टी पाउने लेखकमा तपाईंको नाम धेरैले लिन्छन् नि?

मुख्य कुरा के हो भने म एकदमै सोझो तरिकाले काम गर्छु। म त्यस्तो व्यापारिक उदेश्यले पैसा मात्र भनिरहने लेखक होईन। तर मलाई श्रमको उचित मूल्य पाउनुपर्छ भन्ने लाग्छ । म मुद्दा लडेर पैसा लिने खालको पनि परिन। म धेरै लफडा हुने ठाउँमा काम पनि गर्दिन। म सजिलो छु र प्रकाशकहरुसँग पनि त्यहि अनुसार कुरा हुन्छ। ‘कर्नाली ब्लुज’ अलि थोरै थियो ‘फिरफिरे’ अलि धेरै पढेका छन्। पुरा समय लेखक नै बन्छु र मलाई त्यहि अनुसार रोयल्टी आउँछ भन्ने हिसाबले नै जागिर छोडेर बसेको हुँ।

‘फिरफिरे’ लाई ‘कर्नाली ब्लुज’ को दोस्रो भाग भनेर टिप्पणी गरेको सुन्नु भएको छ?

 शुरुशुरुमा यस्तो कुरा आएको हो । अब त डेढ दुई वर्ष नै भइसक्यो। यति धेरै पाठकले पढिसक्नुभयो। खै त त्यस्तो कुरा त आउँदैन ! तर कस्तो हुन्छ भने अहिले योजना बनाएर लेखिन्छ । मैले यो कुरा धेरै ठाउँमा पनि भनिसकें । पश्चिम नेपालको धेरै कथा नआएको भएर मलाई लेखुँला भन्ने भयो । ‘फिरफिरे’ मा केही कुराहरुले आफूलाई छोएको र यो बिषयमा बोल्नुपर्छ एउटा लेखकले भन्ने हिसाबमा काम गरियो । आफुले देखेको भएर गरेको हो र त्यो चाहि आफु जुन माटोमा जन्मियो हुर्कियो त्यसप्रति केही उत्तरदायित्व हुन्छ भन्ने हिसाबले गरेको हो । म फेरि एउटा ‘शानदार खतरनाक’ कथा खोज्दिन । एउटा सामान्य कथालाई आफ्नो जुन प्रतिभा छ, आफ्नो जुन शैली होला मलाई त्यसलाई सकेसम्म महत्वूुर्ण बनाउँ न त भन्ने लाग्छ । ती दुइ किताबमा लोकेसन एउटै मिलेको चाहि पक्का हो।

तपाईँका किताब पढेर कुन उमेरका पाठक बढी प्रभावित भएको पाउनु भएको छ?

हेर्नुेस्, एउटा गीत लोकप्रिय हुनलाई एउटा समूहमा गाएर मात्र हुँदैन । एउटा गीतले बच्चा देखि बृद्धसम्मलाई छुन्छ । किताब पनि त्यहि हो । आर्ट, सिनेमा पनि त्यहि नै हो । सामान्यतया मलाई अब फेसबुकमा आउने मेसेजहरु जसमा आफ्नै फेसबुकको पनि दायरा हुन्छ, कति वर्ष मुनिकाले खोल्न नपाइने भन्ने । तर, मैले किताब पढेर पाएको मेसेजहरु चाहिँ आठ, नौं कक्षाका विद्यार्थीहरुको पनि  मेसेज पाएको छु । एकजना त चौरासी वर्ष उमेर टेकेका पाठक पनि हुुनुहुन्छ । अब म कुन उमेर समूहले मात्रै मेरो किताब पढ्छन् भनौं !

तपाईको लेखनले नेपाली समाजलाई के दियो?

यसमा मुख्य कुरा के हो भने किताब भनेकै पहिलो कुरा आर्ट हो, कला हो । यसलाई कसले कसरी लिन्छ भन्ने पाठकहरुमा भर पर्ने कुरा हो । खानु अघि हात धुनु पर्छ र बाथरुम गएपछि हात धुनु पर्छ भन्ने जसरी यो स्पष्ट हुँदैन । तर के हुन्छ भने मेरो किताब ‘कर्नाली ब्लुज’ मा त्यस्तो ठूलो सन्देश केही पनि छैन । मैले योजना बनाएर सन्देश राखेको पनि हुँदिन तर बाबु छोराको सम्बन्ध हेर्दै गएपछि कतिले किताब सकिए पछि बुबालाई कपडाहरु किनेर गिफ्ट दिए । मलाई बुबाको एकदमै माया लाग्यो भने । मैले खासमा बुबालाई माया गरुँ भन्ने सन्देश त दिएको हैन तर पाठकहरुले त्यस्तै सन्देश पाए अनी आफ्नो बुवालाई गिफ्ट दिए। 
अब ‘फिरफिरे’ मा पनि बोक्सीको कुरा छ । यस्तो पनि हुन्छ भनेर लेखिसकेपछि कति आक्रोशित पनि भए । तर मैले विषय देखाउने हो तर त्यसबाट पाठकहरुले आफ्नो हिसाबमा सन्देश लिईरहनु भयो।

आफूलाई कसैले घमण्डी लेखक भनेर कुरा काटेको सुन्नुभएको छ?

हाम्रोमा राजनीतिक रुपमा पनि बिध्वंश नै छ । जता हेर्यो भष्टाचार र बिध्वंश मात्र देखिन्छ । बिध्वंशकोबीचमा कस्तो हुन्छ भने तपाईं अलिकति सफल जस्तो देखिनु भयो भने त्यो भईनै हाल्छ । हामीलाई त्यतिकै त्यो मान्छे सफल भएको जस्तो पनि लागिहाल्छ । अर्को के हुँदो रहेछ भने, म ‘फुल टाइम’ लेखक छु । म पारिश्रमिक आफ्नो सिर्जनाबाट पाउँछु । पाठकले माया गर्नुहुन्छ । त्यसको रोयल्टीबाट जीवन बाँचिरहेको छु। मेरो जीवनमा कोही पनि हाकिम छैन क्या ! हाकिमहरुका पनि तह हुन्छन् एउटाले जागिर खायो भने त्यो भन्दा दश तह माथी होलान् हाकिमहरु ।  त्यसैले पनि अनेक हाकिम खुशी बनाउँदा नरम हुने शैली सिकिन्छ होला ।

त्यो स्वभावले त्यस्तो हुन्छ होला । त्यो स्वभावले कसैलाई खुशी बनाउनु छैन । कोही खुशी हुँदा पनि मलाई मतलब हुँदैन र कोही दुखि हुँदा पनि । त्यो भएपछि म एउटा स्वाभिमानी मान्छे भर्यन्छ होला भन्छु। अर्को चाहि के भने कहिलेकाहीँ तपाईं योबाट केही लिनुछ भन्ने आशा राख्नु भयो भने तपाईले गरेका केही गल्तीहरु र उसका केही गल्तीहरु पनि ठ्म्याउन सक्नुहुन्छ । तर,बोल्न सक्नुहुन्न । मलाई त्यो स्थिति छैन । म स्पष्ट बोल्न सक्छु र एउटा स्वतन्त्र मान्छे भएको हुनाले त्यस्तो हुने होला । बाटोमा हिँड्दा केही मान्छे चिनेको छैन तै पनि त्यतिकै माया लाग्छ भने केही मान्छेसँग त्यतिकै रिस उठ्छ। मुख्य यसमा तपाईं अलि सफल जस्तो देखिनुभयो भने अलि घमण्डी हो कि भन्ने आउँछ!

एकपटक त तपार्इंलाई अभिनयको सनक पनि चढेको हो नि?

अब कस्तो हुन्छ भने बाहिरबाट आईसकेपछि मुख्य काम भनेको पढ्ने कलेज जाने हुन्छ । कलेज पछि को फुर्सद हुन्छ नि त्यो फुर्सद हुँदा आफु कस्तो सर्कलमा गइन्छ,त्यो सर्कलले त्यस्तो बनाउँछ ।  अभिनय, नाटकमा पनि एकचोटि कोशिस गरौं न त भनेको हुनाले गएको हो । मलाई लाग्छ त्यो थानकोटबाट छिर्ने हरेक युवाहरु मध्ये ९० प्रतिशतलाई एकपटक मनमनै नायक नायिका बन्ने रहर चाहिँ हुन्छ । त्यसमध्ये म एउटा हुँला तर समयसँगै म त्यता अल्मलिन किनभने त्यो मेरो क्षेत्र पनि होइन र त्यसमा लागेर म सफल पनि हुन्न थिएँ होला । त्यसैले मैले आफ्नो रुचिको बाटो रोजें।

 कविता पनि लेख्नुभएको छ, तपाई कवि कि लेखक ?

कविता भनेको एउटा यात्राको शुरुवात गर्दा गर्ने हो । लेखनको सुरुआत् कविताबाट गरियो । कविता लेख्नलाई सहज पनि हुने तर पछि आएर गद्यहरु आउन थाले । पाठकलाई कविता भन्दा बढि मन पर्यो । अनि मलाई  गद्य लेख्दा बढि आनन्द आउन थाल्यो । अर्को कुरा मुख्य के हो भने लोभ जसलाई पनि हुन्छ । के लोभ हुन्छ भने पहिले गरेको सिर्जना धेरै भन्दा धेरैले पढुन् भन्ने लाग्छ तर जसले मलाई लाग्दैन भन्छ त्यो सबैभन्दा बढि मूर्ख हो । कि त एकदमै आदर्शवादी हुनुपर्यो । अर्को कुरा कति चिजहरु कवितामा दिन सकिँदैन । जस्तो कर्नाली ब्लुज मा भएका कति प्रसंगहरु मैले कविता बनाउन खोजेको भए र त्यो कविता बनाएर छापेको भए दुई चार जनालाई मन पनि पर्थ्यो होला तर किताबले जति प्रभाव पार्यो सायद कविताले त्यो प्रभाव पार्दैनथ्यो होला । आख्यानले त बुन्दै बुन्दै ल्याउँछ नि। कविता थोरै समुहको चिज हो र कविता एकदमै भिन्न चिज हो । म लेख्न बढि रुचाउने मान्छे  । अब दिनदिनै कविता त लेख्न सकिन्न नि । एउटा राम्रो कविले जीवनमा बीसवटा पनि राम्रो कविता लेख्दैन । लेख्न त साठीवटा पनि लेख्ला तर उ बाँधिने बीसवटामा नै हो तर पछि गएर दुईतीनवटा कवितामा बाँच्छ मान्छे।

समकालिन लेखकमा आफुलाई एक, दुई र तीन नम्वरमा राख्नु पर्यो भने कति नम्वरमा राख्नुहुन्छ?

नम्वरिङ गर्ने कुरामा मलाई बिश्वास नै लाग्दैन । अब नम्वरमा राख्ने नै हो भने पनि सबैभन्दा तल्लो नम्वर मेरै होला। 
प्रस्तुति : सुकृत नेपाल

 

  

ताजा खबर