यस वर्षको जी सिनेमा अवार्ड काठमाडौंमा हुने

२०७५ श्रावण ६ आइतबार १७:३९:०० मा प्रकाशित


काठमाडौं । चर्चित फिल्मी पुरस्कार जी सिनेमा अवार्ड वितरण गर्ने स्थल यो वर्ष नेपाल छानिएको छ । भारतकै लोकप्रिय मानिएको जी सिनेमा अवार्ड वितरण कार्यक्रम नेपालमा आयोजना गर्न आवश्यक तयारी समेत सुरु गरिएको थाहा भएको छ। 

आगामी डिसेम्बरमा अवार्ड समारोह नेपालमा गर्ने सम्बन्धमा पूर्व तयारी र आवश्यक प्रबन्ध मिलाउन एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदा सहितको टिम यतिबेला काठमाडौंमा छ।

  उनीहरुले नेपालमा फिल्म सिटी निर्माण गर्न अनुमति पाए तयार रहेको जानकारी सरकारलाई दिएको थाहा भएको छ।

 यो टिमले फिल्मसिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ। अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको अनुभव सुनाए। उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्न प्रारम्भिक कार्य सुरु भइसकेको बताए।

चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाडांैमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणा पनि गरे।

उनीहरुले शनिवार साँझ प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटेर यस सम्बन्धी जानकारी पनि गराएको थियो । प्रधानमन्त्री ओलीले अर्वाड समारोहकै अघिपछिको मिति पारेर काठमाडांैमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरे ।

नेपाली कलाकारहरुसमेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले जया प्रदाले नेपाल भारत सम्बन्धका लागि सांस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको सुनाएकी थिईन्।

  वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्य अमर सिंहले प्रधानमन्त्री ओलीको समृध्द नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुशी हुन सक्ने धारणा व्यक्त गरेका थिए।

त्यस अवसरमा नेपालका वरिष्ठ सिने कलाकार नीर शाहले नेपाली फिल्म उधोगको समग्र अवस्थाको जानकारी प्रस्तुत गर्दै भारतमा नेपाली भाषीहरुको ठूलो जनसंख्या रहे पनि विभिन्न कारणले गर्दा नेपाली फिल्महरुको प्रदर्शन हुन नसकिरहेको बताए।

  चन्द्राले सोलुखुम्वूमा आफूले निर्माण गरेको १४० मेघावाट क्षमताको जलविधुत आयोजना बाँकी रहेको चालीस प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री ओलीमार्फत नेपाललाई हस्तान्तरण गर्ने घोषणा समेत गरे। यसैगरी चन्द्राले आफ्नो तर्फबाट पशुपति मन्दिर परिसरमा सिसी क्यामेरा र सौर्य बत्ती जडान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
 

ताजा खबर