यसकारण दुख पनि भुलिन्छ , कैलाश यात्रामा

२०७५ श्रावण ५ शनिबार १०:१६:०० मा प्रकाशित

जिवीत छँदै साक्षात् भगवानको दर्शन गर्न पाइने अवसरको लागि म लगायतको टोली मानसरोवर कैलाश यात्रा गर्न तयार भयौं । अकस्मात् बनेको यो यात्रा कष्टकर हुन्छ भन्ने सुनेको भएपनि शिवजीको दर्शनको लालसामा सुख त्याग गर्न तत्पर भएँ । भगवानप्रतिको भक्तिभाव र समर्पण लिएर हरेक कठिनाइ छिचोलेर मानसरोवर पुग्दा जुन अनुभूति भयो, त्यस अनुपम आत्मसन्तुष्टीको लागि यी सबै दुःख कष्ट गौण थिए। 

हिन्दु, बौद्घ, जैन, शिखहरुको आस्थाको धरोहर मानसरोवर र कैलाश पर्वत सृष्टिकै सुन्दर गहना हो । संसारभन्दा माथि अलग्गै उभिएको छु जस्तो अनुभव हुने यो धर्तीको शिरमा आफुलाई पाउँदा मैले सृष्टिकर्ता साक्षात्  भगवान शिवजी र जगत जननी माता पार्वतीको दर्शन पाएको भान भएको कुरा अझै मेरो मानसपटलमा ताजै छ । मेरो यहि धर्तीको स्वर्ग यात्राको क्रममा देखे–भोगेका अनुभूतिलाई यहाँ बाँड्ने जमर्को गरेको छु । 

यात्राको सुरुवात

कैलाश यात्रा जोखिमपूर्ण छ भन्ने थाहा भएपनि म लगायत २४ जनाको हाम्रो टोली तयार भइसकेको थियो । असार ८ गते सबै साथीभाइहरुसँग बिहान ८ बजे भेट्ने टुंगो लागेकाले सोही अनुसार तयारी गरियो ।

टिमुरेमा भेट्ने सल्लाह गर्दै धार्केको टोलीका लागि ४ वटा मध्ये एउटा स्कर्पियो गाडी त्यतै पठाइयो । म भने परिवारको सद्भाव लिई टोखाको बाटो हुँदै शिवपुरी बाबालाई मनभरि नमन गर्दै सफल यात्राको आशीर्वाद माग्दै टोलीसँग रसुवागढीका लागि अघि बढें । 

ट्रेकिङ एजेन्टको हरकत

कैलाश पर्वतको ‘टुर प्याकेज’ ठमेलस्थित काठमाडौं होलीडे ट्रेकिङ कम्पनीको थियो । सो प्याकेज अनुसार दिउँसोको खाना स्याफ्रुुबेंसीमा खाने, त्यसपछि ३ बजेसम्म खुल्ने चाइनिज इमिग्रेशन कार्यालयमा समय अगावै पुगेर त्यसरात केरुङमा बस्ने योजना तय भएको थियो । तर अचानक स्याफ्रुबेसींमा पुगेर रोकिएको गाडी त्यहाँबाट अगाडि बढेन ।

त्यसदिन स्याफ्रुबेसींकै बास भएकोले केरुङ घुम्ने चाहना अपुरो हुँदा मन खिस्रिक्क भयो । रातको १० बजेतिर चाइनिज एजेण्टलाई पैसा नबुझाएकाले रोड परमिट नआएकाले हामी ७–८ जना बोर्डरतिर गयौं र पैसा लिनलाई एजेण्टलाई नेपालतिरै बोलायांै । 

नेपाली गाइड मोती भट्टराईले हाम्रो इमिग्रेशन शुल्क तिर्न बोकेको उक्त रकम चाइनिज एजेण्टलाई दिनै लाग्दा नेपालको सशस्त्र प्रहरीले बढि पैसा बोकेको भन्दै रु १२ लाख जफत ग¥यो । 

हामीले व्यक्तिगत भनाइ राख्दा नमानेका सशस्त्रका अधिकृतको व्यवहार सहयात्री भाई पुष्प गौतमले ‘सोर्स’ लगाएपछि अलिक नरम हुँदै गयो । त्यसपछि यो घटना जनपद प्रहरीकोमा पुग्यो र पुनः ‘सोर्स’ लगाएपछि झमक्क साँझमा इन्स्पेक्टर ‘साहेब’ ले आ–आफ्नो पैसा कागज गराई फिर्ता दिए । तर उनले उक्त रकम फिर्ता गर्ने क्रममा आफुले चाहेमा यो घटनालाई कर कार्यालयको जिम्मा लगाउन सक्ने ‘फुर्ति’ चाहिं देखाएरै छाडे। 

शुक्रबार यसरी नै बित्यो, शनिबार र आइतबार इमिग्रेशन बिदा हुनाले हामीलाई अत्यास लागिसकेको थियो। सोमबार जाने पक्का भएपनि एकजना साथीको पासपोर्ट र परमिटमा नाम फरक भएकाले सच्याउनुपर्ने बहानामा यात्रा एकदिन पर स¥यो। काठमाडौैं होलीडेले गफ लाउँदै, हेलिकप्टरमा पासपोर्ट झिकाएर भोलि १० बजेसम्ममा केरुङ लैजानै बतायो। 

नभन्दै १० बजेतिर हेलिकप्टरको आवाज आयो। हेलिकप्टरमा पासपोर्ट पनि आएछ र हामी सबैको यात्रा अगाडी बढ्यो। तर काठमाडौै होलीडेले फेरि अर्को छल गरेको रहेछ। टोली काठमाडौं फर्केला भन्ने डरले होला रसुवागढीतिर बास बसाउन मात्र लगेको रहेछ। समस्या के हो भनेर एजेन्सीले नबताउने,त्यो अवस्थाप्रति गाइडहरु पनि अनभिज्ञ भएकाले पट्यार लाग्दो बसाइ लम्बीइरहेको थियो। 

केरुङका पशुपतिनाथ र कामी समाज

स्याफ्रुबेसींका सुरेशजीले हामीलाई चाइनिज इमिग्रेशन लगे। त्यहाँ चाइनिज पुलिस र सेनालाई भोटे भन्दा रैछन्। उनले भोटेहरुको बखान गर्दै, बिनाकारण रिसाउने बानिहरुको बेलिविस्तार लगाए। हालसालैको एउटा घटना सम्झिंदै उनले बताए,‘अस्ति एउटा एजेण्टलाई लात्तले भकुरे। यिनीहरुको मनमा दयामाया केही हुन्न, भरे हामीलाई समेत अप्ठेरो पार्छन्।’ 

करिब २ घण्टा जाँचेपछि हामी बल्ल तिब्बत छि¥यौं। त्रिशुलीमा मिसिने भोटेकोशीको किनारैकिनार हामी लगभग १ घण्टामा २६ सय मिटर उचाइमा रहेको केरुङ पुग्यौं। 

केरुङको पशुपतिनाथ हेर्ने इच्छा अनुसार त्योस्थान पुग्दा मन्दिरभित्र भगवान शिवजीको सट्टा बुद्घको मूर्ति रहेको पायौं। हामीले पशुपतिनाथ भित्रका बुद्घलाई भक्तिभावपूर्ण नमस्कार ग¥यौं। झट्ट हेर्दा काठमाडौंका पशुपतिनाथको झल्को दिने त्यो मन्दिर जंगबहादुर राणाको पालामा बनेको भनिए पनि पुष्टि गर्ने केही प्रमाण भेटिएन।

त्यस्तै केरुङमा विशेषगरी रसुवातिरका नेपालीहरु व्यवसाय गर्दा रहेछन्। लगभग २५०० नेपालीको बसोबास रहेको जानकारी एक नेपालीले हामीलाई दिए। उनी भन्दै थिए, ‘यहाँ अलि पर एउटा कामी टोल छ, पहिले त तिब्बतीहरुले हेपेर राखेका थिए। अहिले त चाइनाले पुरै टोललाई कम्पाउण्ड गरेर राम्रा घरहरु बनाएर भव्य तरिकाले राखेको छ।’ उनले थपे, ‘अहिले त हेर्नुहोस् यहाँ पनि ४–४ वटा रेडलाइट एरिया खुलेका छन्, चाइना कम बाठो छ तिब्बती भोटेहरुलाई यस्तैमा अल्मल्याउने दाउ हो।’ 

उनीसँगको कुराकानी छोट्याउँदै हामी होटलतिर लाग्यौं। तर मलाई अहिले पनि कामी टोल कस्तो थियो होला भन्ने खुल्दुली लागिरहेकै छ।

सागाको शान नेपालीको मान

वरीपरी हिउँ पर्ने २६ सय मिटर रहेको एकदमै सानो आकारको उपत्यका जस्तो स्वरुपको केरुङ पुग्दा एकैछिन सबैलाई रनाहा लागेजस्तो भएको थियो। 

सागा जानुअघि गाइडले हामीलाई ब्रिफिङ गरे र त्यसपछि उनले लेक नलाग्ने औषधि सबैलाई बाँडेकोमा मैले पनि एक गोली खाइदिएँ। भोलिपल्ट बिहानीको खाजा सकेर ९ बजे यात्रा सुरु भइसकेको थियो। 

त्रिशुलीमा मिल्ने भोटेकोशी केरुङ भन्दा झण्डै ९० किलोमिटर उत्तरबाट झरेको रहेछ। हामी त्यही भोटेकोशीको शिरतिर जानेक्रममा उचाइ बढ्दा अक्सिजन कम भएको अनुभव गर्दै ५२ सय मिटरको उचाईमा पुग्यौं।

त्यसपछि आफूसँग भएको लसुन, अदुवा, बिस्कुट, सातु एकअर्कामा बाँडेर आत्मीयता साटेका थियौं। केरुङबाट सागा २ सय ४० किलोमिटर थियो। रमाइला फाँट, चौंरीका झुण्ड, हिमालका मनोरम दृश्य हेर्दै हामी नयाँ यात्री यी सबै अनुभूति पहिलोपल्ट आँखाभरी कैद गर्दै अघि बढिरहेका थियौं। केही वर्ष पहिलेसम्म फेरीबाट तर्नुपथ्र्यो अरे। तर अहिले ब्रम्हपुत्रमा पुल बनेपछि पुलनजिकैको उत्तरपट्टि कुनै हिमाली पहाडको फेदीमा सागाको बजार रहेछ। 

केही समय अघिसम्म पुराना परम्परागत घर भएको सागामा आधुनिक घरहरु बनेका ३–४ वर्ष भएछ। भारतीय भनेपछि नकारात्मक सोच बोकेका चाइनिज तिब्बतीहरुले रसुवागढी नाकाबाटै खाना बस्नदेखि बोलीचालीको हरेक व्यवहारमा कसिकसाउ र रुखो व्यवहार गर्दा रहेछन्। नेपालीले जस्तो इण्डियनले आफ्नै मेस चलाउन नपाउने रहेछन्। खाए पनि नखाए पनि छाकको २ सय युआन दिनैपर्ने। मानवीय हिसाबले भन्नु पर्दा दुःखलाग्दो रहेछ। 

यस्तै क्रममा सागामा मैले जुत्ता किन्दा सुरुमा मलाई भारतीय ठानी वास्ता नगरेपनि नेपाली भएको परिचय दिएपछि ३० युआन घटाएर खरिद गर्न पाएँ। नेपाली भएकोले उक्त मान पाएकोमा दंग पनि परें।  

‘हाइप्रोफाइल’ पटेल भाइसँगको भेट

केरुङ पुग्ने क्रममा भारतीय मूलका अमेरिकाबासी पटेल भाई मेरा हितैसी बने। उनी हामीभन्दा २ दिन अघिबाट स्याफ्रुबेसीं बसिरहेका रहेछन्। गुजरातमा जन्मिएर तन्नेरी हँुदा आर.एस.एस.मा सक्रिय रहेका उनको अहिले पनि संगठनमा विशेष सम्बन्ध रहेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत यदाकदा कुरा गरिरहने उनलाई विश्व स्वास्थ्य संगठनले एक नयाँ प्रकृतीको क्षयरोगको उन्मूलनका लागि अनुसन्धान गर्न जिम्मा दिएपछि त्यो जिम्मेवारी सफल तुल्याउन शिवजीसँग आशीर्वाद उनी कैलाश यात्रामा निस्केका रहेछन् ।

मानसरोवर सुन्दरता 

ल्हासाबाट आएको दुइ लेनको पक्की बाटो मानसरोवरबाट अघि बढ्दै जम्मुको छेउछेउ हँुदै ताजकिस्तानको बोर्डरसम्म जाँदो रहेछ। बाटोमा देखिने सुन्दर हिमालहरु, कतै लटरम्मै तोरी फुलेका पहेंला फाँटहरु, ठूलाठूला घाँसे चौरहरु, चौंरी, भेडा, मृग, घोरल, घोडा, जेब्राका झुण्डहरुको मनोरम दृश्यहरुले सबैको थकान बिर्साएको थियो। अझ बायाँतिर टाढा टाढा देखिने सुन्दर हिमालहरु हाम्रै नेपाली हिमाल हुन् भन्ने सुन्न पाउँदा मन गद्गद् भइरह्यो।

मानसरोवर पुग्न लाग्दा बाटोमा चाइनिज अध्यागमनको कार्यालय रहेछ। त्यहाँबाट पनि हामी अघि लाग्यौं। बाटोमा ठूलो ताल र हिमाल देखियो। सबैले यही हो मानसरोवर र कैलाश पर्वत भनेर देखाए। तर त्यो त भगवान शिवका पनि गुरु मानिने मानक हिमाल र हनुमान ताल पो रहेछ। यसरी हेर्दाहेर्दै लगभग ७ किलोमिटर अघि बढेर हामी मानसरोवरको प्राँगणमा बास बस्न पुग्यौं।

सागाबाट अघि बढेपछि हाम्रो थप दुर्दशा सुरुभएको थियो। कारण थियो– अव्यवस्थित तथा दुर्गन्धित चर्पी।     महिला पुरुष कक्ष अलग भए पनि ती कक्ष खुला थिए। ठूला आकारका सेफ्टी ट्याङ्कीलाई बिर्को लगाई तिनैमा प्वालहरु बनाइ चर्पीको स्वरुप दिएका रहेछन्। पानी र निकास बिनाका खुल्ला चर्पी त्यति सजिलै बिर्सन सकिने छैनन्।
मानसरोवरको अवस्था पनि त्यस्तै रहेछ। हामी बस्ने होटलको पछाडि पट्टिको भागमा त गाइको गोबर खेतमा बाक्लै फिँजाए जस्तो खुट्टा टेक्ने ठाउँ नै थिएन। पेटको समस्याको कारण धेरैपल्ट भित्र–बाहिर गर्नुपरेकाले मैले प्रकृतिलाई नियालेकै रहेनछु। 

थोरै आरामको महसुस हुनासाथ बाहिर निस्किएर आकाशलाई हेरेपछि बल्ल थाहा भयो, म त संसारको शीरमा पो रहेछु,आकाशकै छेउमा उभिएजस्तो। पृथ्वी त तल हेर्नुपर्ने। ओ हो क्षितिज पनि तल रहेछ। 

सूर्यास्तको समय हुनै लागेको थियो। मानसरोवरको वल्लो किनारदेखि पल्लो किनारसम्मको इन्द्रेणीको मनोरम दृश्यले स्वर्ग प्रकट भएझैँ लाग्यो। हेर्दाहेर्दै सूर्यका किरणको अलौकिक दृश्यले होला मानसरोवरको तालमा सेतो कार्पेट बिछ्याए जस्तो देखियो। आकाशमा विचित्रका आकृति देखिए। हाँसका बथानले पानीमा पौडँदा सृजित स–साना छालमा सूर्यको प्रकाश पर्दा झिलिमिलि बत्ती बलेझैँ देखियो। मानसरोवरको पवित्रता र सुन्दरताको चर्चा जति गरे पनि अधुरै रहन्छ। 

अग्रज दाजु अनन्त खनाल यी दृश्यहरुको फोटो लिनमा मस्त हुनुहुन्थ्यो। उहाँका अनुसार ‘बाबा’ ले त्यस बेलासम्म ६ वटा रुपको दर्शन दिई सक्नुभएको थियो। 

सुस्मा स्वराजको हैकम

मानसरोवर तलाउमा पनि भारतीय तीथयात्रीहरुले स्नान गरेपछि भित्री कपडा त्यहीँ छाडेर फोहोर बनाएका रहेछन्। उनीहरुको यस्तो लापरवाही देखेर चाइनिजहरु रिसाएकाले मानसरोवरमा स्नान गर्न प्रतिवन्ध नै लगाउनु परेको रहेछ। 

केहीवर्ष पहिले कुनै एक भारतीय तीर्थयात्रीले मानसरोवरमा नुहाउनका लागि पानीमा पाइला मात्र के राखेका थिए, चाईनिज पुलिसले देखेर गाली गरेछन्। टाढाबाट आएका तीर्थयात्रीलाई मानसरोवरमा स्नान गर्न नपाउँदा नमीठो हुने नै भयो। ती यात्री पनि कम रहेनछन्। उनले गोजीबाट मोबाइल निकालि भारतीय नेतृ सुस्मा स्वराजलाई फोन गरेछन्। केही समयपछि जंगिदै रिसाउने ती पुलिस भारतीय तीर्थयात्रीको छेउमा आएछन् र विनम्र भएर भनेछन्, ‘तपाईंहरु उ त्यहाँनेर नुहाउन सक्नु हुन्छ।’

कोमा (परिक्रमा) नजाने निर्णय 

बेलुकीको खाना पनि कसैले खाएनन्। मेरो त झन कुरै भएन। चाईनिज गाईड आए, स्वास्थ्य जाँँच गर्न अक्सिजन तथा मुटुको धड्कन नाप्ने मेसिन औंलामा लगाए। हामी सबै पास थियौं त्यसपछि उनले कोमा (परिक्रमा) गर्न जानेहरुले नाम दिन भने। कोमा ४२ किलोमिटर लामो ३ दिनको रुट थियो। गाडी नजाने भएकाले बन्दोबस्तीको सामान बोक्न घोडा तथा याक प्रयोग हुने रहेछ।

अघिल्लो दिन कोमा जाने यात्रीमध्ये ४२ वर्षकी युवतीसहित २ जनाको मृत्यु भएको खबर भर्खर सुनेका थियौं। अक्सिजन र मुटुको धड्कन ठीक भए पनि पखालाले धेरै गलाएकाले मैले आराध्य देव भगवान शिवजीसँग कोमामा जान असमर्थ भएकामा क्षमा याचना गरिसकेको थिएँ। भोलिपल्ट थाहा भो सबै साथीहरुले कोमामा नजाने निर्णय गरेछन्।

मानसरोवर स्नान

जे जस्तो भएपनि नुहाउन जान तयार भए र मेरो शरीर फूल जस्तै हलुका भयो । मैले साक्षात शिवदेवको दर्शन पाएझैँ लाग्यो। न्यास, ध्यान र प्रार्थना गर्नलाई सुअवसर जुराइदिनुभए झैं लाग्यो। हामी केहि साथीहरु मानसरोवरको पश्चिमतिर नुहाउने स्थानतिर लाग्यौं। तलाउमा डुबुल्की मारेर नुहाउनेलाई पुलिसले २४ घण्टा थुन्छ रे भन्ने खबर पाएर पण्डितजीले नुहाउनका लागि प्लास्टिक बाल्टी र मग बोक्नु भएको थियो। त्यही बाल्टीमा पानी भरेर मैले पनि स्नान गरे। उहाँहरुले त लुकिछिपी एकएक डुबुल्की मारिहाल्नुभयो । 

माता पार्वतीको प्रतिक रहेको मानसरोवरमा स्नान गरेपछि प्रसन्न चित्तले गायत्री जप गर्दा माता पार्वती साँच्चै मुस्कुराउनु भएको भान भयो। देवी माताको काखमा पुगेर ज्ञात–अज्ञात सम्पूर्ण देवी देवताहरु स्तुति गर्दा अलौकिक आनन्दले मन भरिएजस्तो लाग्यो। पण्डितजी संस्कृत मन्त्रहरु पढिरहनु भएको थियो, मैले धुप जलाएँ, दियो बालेर देवी देवताको स्तुति गरिरहेँ। त्यस्तै पितृहरुलाई तर्पण पनि दिएँ र गोरखनाथ परिवारका तर्फबाट लाखबत्ती बालेर पितृहरुको उद्घार गर्ने कर्म पनि सम्पन्न गरियो। 

बाबाको घरमुनी यमद्घारको गेट

केही टाढाबाट हामीले बाबाको दर्शन पाएकै थियौं। अब नजिकैबाट बाबालाई साक्षात्कार गर्ने धोको पुरा गर्न हामी धारचेनतिर लाग्यौं। 

लगभग ११–१२ किलोमिटर दुरीमा यमद्घारको गेट भएको स्थान रहेछ। यो स्थानबाट कैलाश पर्वतको पश्चिमी मोहडा लगभग ५ सय मिटर दूरीमा देखिँदो रहेछ। यहाँ मन्दिर आकारको सानो गेट पनि रहेछ । गेट परिक्रमा गरी पार गरेपछि यात्रीहरु एकपटक बाबाको ध्यान गर्ने, प्रभुसँग साक्षात्कार हुने गर्दा रहेछन् । यहाँ ध्यानमा लीन हुनेलाई प्रभुले प्रत्यक्ष दर्शन दिएको कथाहरु सुन्न पाइयो। मैले पनि ध्यान गर्ने प्रयास गरें।

यो बिन्दुबाटै ४२ किलोमिटर लामो कोमा सुरु हुँदो रहेछ। कोमामा ५६५० सम्मको उचाई पार गर्दै जानुपर्ने, आपत विपत् आइलागेमा उद्घार प्रायः असम्भव भएकोले यसलाई यमद्वारको गेट भनिएको रहेछ जस्तो लाग्यो। 

चाईनिज भाका र रसुवागढी नाका

यमद्वारको गेटबाट अगाडि बढेसँगै हाम्रो यात्राको गन्तव्य टुंगो लागेको थियो। हामी सबैजना भगवान शिवदेवको आराधना सकाएर धारचेन आइसकेका थियौं। घिनलाग्दा चर्पी, अस्वस्थ शरीर, टाउको दुख्ने, वाकवाकी लाग्ने, खान केही नसक्ने सबैलाई भइरहेको थियो। मलाई पनि केरुङ पुगे शरीरलाई शान्ति मिल्छ भन्ने थियो। तर अबेर भएकोले सोही दिन सागा आउन नसकिने रहेछ, त्यही भएर धारचेनमा बसियो। 

यसैक्रममा गोरखनाथ बाबाले अनन्त दाजुलाई एक रात सागामा बास बस्नलाई निर्देशन दिनु भएको भन्ने कुरा आयो। तथापी हामी एक दिनअघि केरुङ आएर शान्तिले बस्न सक्थ्यौं। अन्ततः केरुङबाट नेपालतर्फ ओरालो झर्दा सबैका अनुहार खुशीले बल्नै लागेको देखिन्थ्यो। पटेल भाईको अमेरिकी ‘स्केजुल’ बिग्रीएर बाटोभरी उदास भएपनि अहिले खुशी नै देखिन्थे।

रसुवागढीको चाईनिज इमिग्रेशनमा लाम लागियो, बाटोभरी कडा निगरानी गर्ने चाईनिज सेना पुलिसले यहाँ छोड्ने कुरै भएन। सबै ठाउँमा कडीकडाउ गर्ने सेनाले कसैको शरीरको खान तलासी नलिएकोमा मलाई अचम्म लाग्यो। यदि चाइनिज सरकारले सम्पूर्ण शरीरको पनि जाँच गर्ने हो भने एक तोला सुन ल्याउन पनि सोच्नै पर्ने हुँदो रहेछ भन्ने कुरा मैले ठम्याएँ।

नेपाल  छिरेपछि फेरि पुरानै जात्रा दोहोरियो, हामी सुरेशजीले मिलाएको गाडीमा चढीसकेका थियौं। लगेज कुरेर बस्दाबस्दै गाडी खोज्दै चाईनिज पर्यटक आए। उनीहरुले हामी चढेको गाडीलाई काठमाडौं जानको लागि २० हजार दिएपछि हामीलाई भटाभट उतार्न लाग्यो। सुरेशजीले ती गाडी प्रति गोटा १४ हजारमा मिलाएका रहेछन्। साथीहरुले धैर्य गुमाए, सबै गाडी रिजर्भ भएकाले हामीलाई गाडी पाउन नै मुस्किल भयो। ११ बजे आएका हामी ३ बजेसम्म भोकभोकै तनावमा भौतारीयौं।

अन्त्यमा जसोतसो गरेर गाडी मिले पछि साढें चार बजे स्याफ्रुबेसीमा खाना खाएर हामी काठमाडांैका लागी रमाना भयौ । राती मात्र हामी घर   पुग्यौं ।  
(भर्खरै मानसरोवर कैलाश दर्शन गरेर फर्किएका युवा उद्यमी गौतमको यात्रा संस्मरण)

ताजा खबर