साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको भीड

२०७४ श्रावण २ सोमबार ०८:३६:०० मा प्रकाशित

काठमाडौँ, २ साउन । साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । 

बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । 

पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उनले बताए । 

प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गरेका थिए । बिहान ८ बजेसम्म ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको कोषले जनाएको छ । 

पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ । रासस 

ताजा खबर