नेपालमा उडान भर्न सलाम एयरको प्रक्रिया सुरु

२०७५ श्रावण ४ शुक्रबार १३:२५:०० मा प्रकाशित

काठमाडौं, ४ साउन । ओमानको पहिलो बजेट एयरलायन्स सलाम एयरले काठमाडौंमा उडानको लागि अनुमति मागेको छ ।

करिब १८ महिनादेखि सेवा सुरु गरेको सलाम एयरलायन्सले काठमाडौंमा उडानको स्वीकृती माग्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ ।

सन् २०१४ मा भएको द्विपक्षीय हवाइ सम्झौता अनुसार ओमानको एयरलायन्सले नेपालमा सातामा २८ वटा सम्म उडान भर्न पाउने शर्त उल्लेख छ । सोही सुविधा नेपाली पक्षलाई भएपनि नेपाली एयरलायन्सले हालसम्म ओमानमा सिधा उडान गरेको छैन ।

हाल ओमान एयरले मस्कटबाट काठमाडौंसम्म दैनिक २ उडान भरेपनि सिजनमा दैनिक ३ उडान भर्ने गरेको छ ।

सलाम एयरले नेपालमा जहाज उडाउने स्वीकृती पाएमा आगामी दशैंसम्ममा उडान सुरु गर्ने जनाएको छ । मस्कटबाट सिधा काठमाडौं उडाउने योजना रहेको यस एयरलायन्सले हाल विभिन्न क्षेत्रिय र अन्तर्राष्ट्रिय गरि कुल १२० स्थानमा उडान भरिरहेको छ ।

सलाम एयरको आगमनसँगै पाकिस्तान, कतार, दुबई जाने भाडा सुपथ हुने विश्वास गरिएको छ ।

 

ताजा खबर