पाँचथरका पहिलो सगरमाथा आरोहीको नागरिक अभिनन्दन

२०७४ जेठ २० शनिबार १८:४७:०० मा प्रकाशित

सन्देश सुब्बा - पाँचथर, २० जेठ । जिल्लाका पहिलो सगरमाथा आरोही शुसील शेर्मा र लेखक गुरुङ रामप्रकाश समथिङलाई शनिबार फिदिममा नागरिक अभिनन्दन गरिएको छ । जिल्लास्थित विभिन्न नागरिक संघ–संस्थाहरु आयोजनामा शेर्मा र समथिङलाई अभिनन्दन गरिएको हो ।
शेर्माले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर र समथिङले नेपाली साहित्यिक इतिहासमै एकैपल्ट २२ उपन्यासको बिमोचन गरेर जिल्लाको प्रतिष्ठालाई उच्च बनाएको भन्दै दुई ब्यक्तित्वलाई अभिनन्दन गरिएको हो । उनीहरुलाई जिल्लास्थित विभिन्न दुई दर्जन संघ–संस्थाले अभिनन्दन गरेका थिए ।
जिल्लाको कुम्मायक गाउँपालिका–२, माङजाबुङका शेर्माले शैनिक जागिर छाडेर वि.सं. २०६६ सालदेखि हिमाल आरोहणको तयारी थालेका थिए । उनले गएको जेठ ६ गते बिहान आणविक भट्टी निशस्त्रीकरणको सन्देश दिंदै सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।
त्यस्तै फिदिम बजारबासी लेखक समथिङले गत वैशाख नौ गते काठमाण्डौंमा एकैपल्ट आफ्ना २२ औपन्यासिक कृतिहरुको बिमोचन गरेका थिए । समथिङको उक्त कार्यलाई गिनिज बुक वल्र्ड रेकर्डमा लेखाउँने प्रक्रिया समेत अघि बढाइएको छ ।
फिदिम स्थित पाँचथर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित कार्यालय र नागरिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको प्रमुख आतिथ्यता तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा खबर