भाले मौरी र कांग्रेसको कथा 

२०७५ श्रावण ३ बिहीबार १७:५५:०० मा प्रकाशित

बर्तमान समयमा मुलुकलाई जोड्ने योजकको आवश्यकता छ भने त्यो बिपी कोइराला हुन सक्छन्। कंग्रेस पार्टीमा त कोइराला मार्ग निर्देशक ब्यक्तित्व नै हुन्। उनको सवालमा पार्टीभित्र प्रयत्न, संघर्ष, नेतृत्व, बिचार, सिद्धान्त, कार्यक्रम आदिमा पार्टीभित्र कुनै विमति पाइन्न। यसको खास कारण कोइरालाको बिद्रोही जीवनशैलीको चेतना पनि हो। पार्टीभित्र आफू कमजोर भएको अवस्थामा बिचार कार्यान्वयनको लागि पार्टी कब्जा गरेको दृष्य, राणा शासन विरुध्दको सशस्त्र क्रान्ति, पञ्चायत विरुद्धको संघर्ष, जेलनेल, प्रवास, मुद्दा आदिको स्थुल दृश्य दिलदिमागमा आइरहनाले पनि उनीमाथि थप बहस हुन नसकिरहेको हुनसक्छ। त्यसैले उनी र उनको बिचारप्रति प्रतिबद्धहरुको लाम नै आजको कांग्रेस भएको छ। बिपीकै आलोकमा जन्मिएका नेतृत्वहरु, सिद्धान्तनिष्ठ कार्यकर्ताहरुले जेलनेल, प्रवास, शहीद आदिको सूचिमा नाम दर्ता गराए।

यो समयमा आइपुग्दा बिपी माथिको दुई थरी बिचारहरु आइरहेको पाइन्छ। पहिलोथरी परम्परागत बुझाई राख्नेहरु छन्। उनीहरु भन्छन् कि बिपीले यसो भन्नु भएको छ। त्यसकारण उसो भन्नुभएको छैन। फलाना पुस्तक भाषण, निबन्धमा यति भन्नुभएको छ । उति भन्नु भएको छैन। त्यसकारण यति गर्न सकिन्छ उति गर्न सकिँदैन। उनीहरु कोइरालाको कोट, टाँक, चस्मा आदिको व्याख्याबाट टाढा जान सक्तैनन्। यो बुझाई ज्यादै प्राविधिक, जडशुत्रवादी, निरस बुझाई हो। यो ब्याख्याले बर्तमान परिस्थिति, मुलुक, पार्टी, गरिबी निवारणलाई सहयोग गर्न सक्तैन। यो लाल बुझक्कडवालाहरु बिपीको परम्परागत बुझाईलाई कोचार्दै पार्टीलाई एलिटहरुको क्लब बनाउने दाउमा उभिएकाहरुको बिश्लेषण हो । उनीहरु सोच्छन् कि पार्टी बिपीले बनाइदिए। सिद्धान्त उनकै हो।

यसैको सम्मानित पोष्ट पनि कब्जा भएको छ या हुनेवाला छ। बाँकी टाउको दुखाउनु पर्ने, दुख गर्नुपर्ने छैन मुलुक, लोकतन्त्र, राष्ट्रियता, समाजवाद, मानव अधिकार आदिको लागि। बर्तमान मर्यादाक्रममा राज्य सत्तालाई उपयोग गर्दै अमनचयन गर्ने भन्नेहरुको सोच हो यो। यो अराजनीतिक तर्क हो। भाले मौरी जस्तै परिश्रम गर्न नचाहने तर अरुले जम्मा गरेको रस चुसेर बसिरहनेहरुको सोच हो अथवा यथास्थितिवादी प्रतिगामी सोच।

अर्काथरि छन्, बिपीलाई आजको सन्दर्भमा रचनात्मक सिर्जनात्मक या गतिशील बुझाई राख्नुपर्छ। गतिशीलतामा आधारित बुझाई राख्नुपर्छ। अग्रगामी चेतनाकासाथ बुझ्नुपर्छ भन्नेहरु। 

उनीहरु बिपीलाई मानकिकरण गर्दै बर्तमानको उर्जा उत्प्रेरणाको रुपमा प्रयोग गर्छन्। बिद्रोह क्रान्तिको चेत पक्षलाई बोकेर हिँड्छन्। गतिशीलताको दृष्टिकोणबाट सोच्छन्। बिपीको समृध्द मुलुक निर्माणप्रतिको ब्यग्र चाहनालाई आजको उत्तरआधुनिक नेपालको सिम्बोलको रुपमा प्रयोग गर्न रुचाउँछन्। यही प्रस्थान बिन्दुमा टेकेर मानक ब्यक्तित्वको संघर्षमय जीवनलाई श्रध्दा गर्र्दै देशलाई शक्तिशाली, राष्ट्रलाई समृध्द, राज्यलाई सर्बसमाबेशी, नागरिकलाई सम्पन्न बनाउन चाहन्छन्। अथवा यो शताब्दिको आगमन आव्हानमा बिपीको उपस्थिति देख्छन्। 
हुनत बिपीलाई लिने सन्दर्भको बहस अहिले पार्टीभित्र सुसुप्त अवस्थामा नै छ।

सतहमा आइसकेको छैन। पार्टीभित्र टीम कलह नै प्रधान बनाइएको छ। बिचार पक्षमा खासै काम भइरहेको छैन। यही कारण चुनावी परिणाम पनि खुम्चिदै गइरहेको छ। तर कालान्तरमा पार्टीभित्र हुने आन्तरिक बिचार संघर्ष भनेकै बिपीलाई बुझ्ने लाइन हो भन्ने संकेत देखिन थालेको छ भन्न सकिन्छ। परम्परागत र अग्रगामीका बीच शक्ति संघर्ष हुने प्रस्टै देखिन्छ।

उसो त अहिले पार्टीलाई कमजोर अवस्थामा पुर्याउने काम तिनै बिपीलाई कोट, टाँक, चश्मा, टोपीको आवरण बुझाइबाट बाहिर जान दिन हुँदैन भन्नेहरुबाट भएको हो। या तिनै परम्परागत, जडशुत्रवादी, लालबुझक्कडहरुले पार्टी नेतृत्व कब्जा गरेको अवस्था छ। उनीहरु चाहन्छन, पार्टीभित्र केही फेरबदल नहोस्, संगठन पनि सानै होस्, बिचारको पक्षमा किन अनावश्यक बहस गर्ने भन्ने यो हानिकारक सामन्तवादी सोच पार्टी मुलुक निर्माणको लागि ज्यादै अराजनीतिक असामाजिक घटिया छ। तर तिनै परम्परागत जमातले पार्टी संरचना कब्जा गरेर बसेका छन्। यो दुर्भाग्य हो। यो पार्टी मुलुकको लागि शुभसंकेत हैन। अशुभ संकेत हो।

यो सिद्धान्तप्रतिको गलत बुझाई अबलम्बन गरे बमोजिमको जीवन चरित्रबाट आएको परिणाम हो। जसबाट सकारात्मक रिजल्ट सम्भव छैन। परिवर्तन सम्भव छैन। जसको उपचार नखोजेर पनि सम्भव छैन। जसको उपचार पात्र र चरित्रमा खोजेर पनि सम्भव छैन। त्यसैकारण बैचारिक अभियानहरुको खाँचो भएको हो। विद्रोह क्रान्तिहरुको खाँचो भएको हो। सप्तऋषी युवाहरुको अभियान, दश भाई युवाहरुको युवकत्वको रोडम्याप, बुट पालिस सांकेतिक विद्रोह आएको हो। मानविय मूल्यहरुको स्थापना नभएसम्म यो निरन्तर कायम रहनेछ। समय, युगले माग गरिरहनेछ। विश्वकै मानव बस्तिहरुमा लोकतान्त्रिक मूल्य सहितको समतावादी राज्य सत्ता अस्तित्वमा नआएसम्म।

बिपी कोइराला आज जिवीत भएको भए नयाँ विषयमा बहस संवाद जरुर गर्थे नै। नयाँ समय बिषयहरुको सन्दर्भमा धारणाहरु राख्थे। मुलुकलाई अवश्य दिशानिर्देश गर्थे। उनी नभएकाले आज नयाँ समय बिषयको बारेमा उनी बोल्दैनन् भन्दैमा उनको अग्रगामी भावना, भाषा, शब्द, अक्षरहरुलाई कू गर्न मिल्दैन। अपब्याख्या या आफ्नो पायकको ब्याख्या गरिहिँडन मिल्दैन। त्यसैकारण बिपी कोइरालालाई आज विपठन या पुर्नपठन गर्न जरुरी छ। उनको विदेश नीति, गणतन्त्र, संघियता, समाजवाद, राष्ट्रियता, समावेशीता, धर्मनिरपेक्षता, मानव अधिकार, बहुदलियता, गरिबी निवारणको सवाल आदिमा नीतिगत कार्यक्रमहरु बनाएर परिचालन गर्न जरुरी छ । बिचारको दृष्टिकोणले देश जोड्ने योजक चिन्ह बिपी नै हन्। जनताले शासकविरुद्ध गरेको पहिलो र ठूलो क्रान्ति पनि २००७ सालको क्रान्ति नै हो।त्यही क्रान्तिले बैचारिक रुपमा देश जोडेको हो।

हुनत बिपी नेपाली कांग्रेस पार्टीको मात्रै पेवा हैनन् भन्ने मेरो प्रष्ट धारणा छ। राष्ट्र निर्माणको लागि जुनसुकै पार्टीले गर्ने लगानी यत्नहरुमा उनको लिगेसी रहन्छ। स्वतन्त्र, समानता, सामाजिक न्यायको पक्षमा चालिने कदमहरुमा उनको साथ रहन्छ। अधिकारबाट बन्चित जनताहरुले गर्ने बिद्रोहका प्रति उनको समर्थन रहन्छ।  गरिबीको बारमुनि रहेकाहरुले शासकका विरुद्ध गर्ने आन्दोलन विद्रोहमा उनको हस्ताक्षर रहन्छ। उनको गतिशीलतालाई यसरी केलाएर मापन गर्न सकिन्छ। यो बिषयहरुमा कुद्ने पार्टीहरुसँग कोइराला सँगसँगै हिँडिरहेको पाइन्छ। त्यसकारण कुनै पार्टी या कांग्रेसले मेरो मात्रै गाडधन हो भन्छ भने त्यो पनि सोह्रै आना गलत बुझाई हो। बिपी त बिषय, बिचारसँग सम्बन्धित नाउँ हो। क्रान्ति आन्दोलनसँग सम्बन्धित ट्रेडमार्क हो। समयसँगसँगै कुद्ने प्रवाहको पदचाप हो। 

पार्टीको तर्फबाट बिपीलाई हेर्दा त ठीकै होला। बिपीको तर्फबाट पार्टीलाई हेर्दा भने आज कांग्रेस पार्टी बिचार, विषय विहिन अलि असान्दर्भिक भइरहेको पाइन्छ। राजनैतिक, सामाजिक, सांस्कृतिक, मानविय विषयहरु बेल्ग्रेल्ति समाजमा छरपस्टिएका त छन्। तर ती बिषयहरुको धुलोमैलो लाग्छ कि भनेर  पार्टी भागिरहेको छ। यसरी बिचारको फ्रिजिङ प्वाइन्टमा आइपुगेको छ। त्यहाँ केही एलिटहरु जम्मा भएर सुकिलोहरुको सानो पार्टी सिपी मैनालीको माले जस्तो बनाउने ध्याउन्नमा विशेषगरि बर्तमान परम्पराग पक्ष या सरकारी अधिकारीहरु बल गरेर लागेका छन्। यो फ्रिजिङ प्वाइन्टलाई भत्काएर तरल बनाउने आँट आजको अग्रगामी युवा पुस्ताले गर्नु परेको छ।

 (लेखक बिपी अध्ययन प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष हुन्।)

ताजा खबर