को हुन् विश्वको पहिलो महिला शंकराचार्य 

२०७५ श्रावण ३ बिहीबार १७:४१:०० मा प्रकाशित

काठमाडौँ, ३ साउन । विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरीलाई यहाँ सम्मान गरिएको छ । 

नेपाल व्यापार संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा हिन्दू धर्मावलम्बीहरुको सर्वोच्च पदमा शंकराचार्य बनेकी हेमानन्दलाई सम्मान गरिएको हो । 

  नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली महिला हिन्दू धर्मको गुरुका रुपमा शंकराचार्यको भूमिकामा पुगेकी भन्दै यसले नेपाल र नेपालीमा गौरवको अनुभूति भएको बताए । “४० देशका महिलालाई पछि पार्दै गिरी शंकराचार्य बन्नुभएको छ, यो नेपाल र नेपालीका लागि खुशीको क्षण हो”, केसी भने। 

  सांसद गगनकुमार थापाले शंकराचार्यको पदवी पाउने विश्वकै पहिलो महिला बन्नुभएकामा गिरीलाई बधाई दिँदै नेपालको हिन्दू जागरण र संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे। 

काँग्रेस नेता गुरुराज घिमिरेले हजारौँ वर्षदेखि चलिआएको शंकराचार्यको उपाधि प्राप्त गरेकामा नेकपाका सांसद मुकुन्द न्यौपानेले विश्वका हिन्दूहरुको प्रतिनिधित्व गर्दै नेपाली महिलाले शंकराचार्यको पद पाएकामा नेपाल र नेपालीको शीर उचाइमा पुगेको बताए। 

राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले शंकराचार्यको हजारौँ वर्षको इतिहासमा नेपाली महिलाले विश्वका महिलालाई उछिन्दै उक्त पदवी पाएकामा यसले हिन्दू धर्मको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

विश्व हिन्दू परिषद्का अध्यक्ष अजय सिंहले मानव सभ्यता र सनातन हिन्दू धर्मको इतिहासमा शंकराचार्यको उत्तराधिकारी बनेकामा खुशी व्यक्त गरे। “विश्वको हिन्दू धर्मको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ,” उनले भने। 

शंकराचार्य गिरीले विश्वका हिन्दू धर्मावलम्बीको माया, प्रेम, सद्भावका कारण आफू शंकराचार्य बनेको बताउँदै विश्वमै हिन्दू धर्मको रक्षाका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरिन्। “नेपालको सनातन धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको छ, त्यसलाई जोगाउनका लागि म लाग्नेछु”, उनले भनिन्। 

नेपाल हिन्दू महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारी, व्यापार संघका अध्यक्ष कुमार कार्की, व्यापार संघका उपाध्यक्ष हरि गौतमलगायतले हिन्दू धर्म र संस्कृतिको विकासका लागि सबै लाग्नुपर्ने बताए। शंकराचार्य हुनुअघि गिरीले महामण्डलेश्वर र आचार्य महामण्डलेश्वरको भूमिका निर्वाह गरेकी थिईन्। रासस
 

ताजा खबर