६ महिनामा ५ लाख पर्यटक नेपाल भित्रिए

२०७५ श्रावण ३ बिहीबार ११:५०:०० मा प्रकाशित


काठमाडौं, ३ साउन । नेपालमा घुम्न आउने पर्यटकको संख्या यस अंग्रेजी वर्षको पहिलो ६ महिनामा ५ लाख नाघेको छ । यसरी पर्यटक बढ्नुमा भारतीय र चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनु एक कारण रहेको बताइएको छ ।

पर्यटन बोर्डले दिएको जानकारी अनुसार पहिलो ६ महिनामा ५ लाख २० हजार पर्यटक नेपाल घुम्न आएका छन् । यसमध्ये नेपाल घुम्न आउनेमा भारतिय पर्यटकको संख्या सर्वाधिक रहेको छ । कुल ९६ हजार ३ सय भारतीय पर्यटक यस वर्ष आइसकेका छन् । त्यस्तै यहि अवधिमा ७५ हजार ७ सय चिनियाँ पर्यटक नेपाल घुम्न आएका छन् । यि दुई राष्ट्रले कुल पर्यटक संख्याको ३० प्रतिशत ओगटेका छन् ।

चिनियाँ पर्यटक विशेष गरि जनवरी देखि मार्च महिनासम्ममा ठुलो संख्यामा भित्रिएका हुन् भने भारतिय पर्यटक अप्रिल र मे महिनामा भित्रिएका हुन् । भारतिय पर्यटकहरुको ठुलो संख्या धार्मिक पर्यटनको माध्यमबाट नेपाल आएका हुन् ।

यस्तै युरोप तथा अमेरिकी क्षेत्रबाट आउने पर्यटक पनि बढ्दो क्रममा रहेको छ । तथापी युरोपियन र अमेरिकी पर्यटक आउने मुख्य सिजन अक्टोबर देखि डिसेम्बर रहेको जानकारी पनि पर्यटन बोर्डले दिएको छ ।  

यस वर्ष करिब १२ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटन बोर्डले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि जानकारी दिएको छ ।

 

ताजा खबर