साउन १६ देखि दोहामा दैनिक उडान भर्दै नेपाल एयरलायन्स

२०७५ श्रावण २ बुधबार १२:१४:०० मा प्रकाशित

काठमाडौं, २ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलायन्सले साउन १६ देखि कतारको राजधानी दोहाको लागि दैनिक उडान गर्ने भएको छ । यसअघि सातामा ३ दिन उडान गर्ने गरेको नेपाल एयरलायन्सले नयाँ वाइडवडी जहाज आएसँगै अहिलेको जारी गन्त्व्यमै उडान संख्या बढाउने योजनालाई मुर्त रुप दिन लागेको हो ।

विगत्मा दोहामा सातामा ३ दिन मात्र उडाउने त्यसमा पनि विभिन्न कारणले उडान ढिलो हुने जस्ता समस्याले यो क्षेत्रमा नेपाल एयरलायन्सको उपस्थिती कमजोर थियो । यसको विपरित हिमालय एयरलायन्सले दोहामा दैनिक २ उडान सम्म भर्ने गरेकोमा हाल सातामा ९ उडान भर्दै आएको छ ।

साउदी अरब, दुबई, यमन जस्ता खाडि मुलुकहरुसँग कतारको सम्बन्ध बिग्रिएसँगै उक्त क्षेत्रका जहाजहरुले कतारतर्फको उडान रद्द गरेका थिए । अहिले काठमाडौंबाट कतार जानको लागि नेपाल एयरलायन्स, हिमालय एयरलायन्स, ओमान एयर र केहि भारतीय एयरलायन्स मात्र नेपालीको छनौटमा पर्ने गरेको थियो । कतार एयरवेजको भाउ अत्याधिक महँगो भएकोले पनि कमै यात्रुको छनौटमा पर्ने गरेको छ ।

दोहामा नेपाल एयरलान्यसको दैनिक सिधा फ्लाइट हुने भएपछि यसबाट विशेषगरी कतारमा कार्यरत नेपालीहरु लाभान्वित हुनेछन् । अन्य एयरलायन्सको तुलनामा नेपाल एयरलायन्सको भाडा सुपथ तथा समय परिवर्तन गर्न तथा टिकट रद्द गर्न लाग्ने शुल्क पनि कम रहेको छ ।  

केहि समयअघि नेपाल ल्याइएको वाइडवडी जहाज उडान भर्न तयार भएको नेपाल एयरलायन्सले जनाएको छ । त्यस्तै दोश्रो वाइडवडी जहाज यहि साउन ११ मा नेपाल आउने तालिका रहेको छ ।

दुईवटै एयरबस जहाज आएसँगै नेपाल एयरलायन्सले नयाँ गन्तव्य उडान गर्ने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ । कोरियाको इन्चेन, जापानको नारिता र साउदी अरबको रियादमा पनि आगामी दशैं भित्रै उडान भर्ने योजना रहेको छ ।   

ताजा खबर