सुरु भयो डोलेश्वर र आशापुरीमा एकमहिने मेला

२०७४ श्रावण १ आइतबार १२:०९:०० मा प्रकाशित

भक्तपुर, १ साउन । साउनको पहिलो दिनबाट लाग्ने एकमहिने मेला सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आज आइतबारदेखि सुरु भएको छ । 

आइतबार बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि ‘केदारनाथको शिर’ डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला सुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले बताए। यो मेला साउन मसान्तसम्म लाग्ने छ ।

समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने बताए। थापाका अनुसार लामबद्ध भएको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहिने मेला सुरु भएको छ । सो मन्दिरको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहँदै आएको छ । रासस 

ताजा खबर