उच्च शिक्षाका नाममा ४० अर्ब रूपियाँ विदेशिने अवस्था

२०७५ असार २१ बिहीबार १४:०४:०० मा प्रकाशित

काठमाडौं, २१ असार । विश्वविद्यायलको शैक्षिक गुणस्तर सुधार विद्यार्थीको विदेश पलायन रोक्ने अनिवार्य सर्त भएको विज्ञहरू बताउँछन्।
नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनी बढेसँगै नेपालबाट विदेश जाने रकम पनि बढ्दै गएको अधिकारीहरूले बताएका छन्।

शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूका कारण वर्षेनी सवा खर्ब रूपियाँको हाराहरीमा रकम विदेशीएको देखिन्छ।

तर नेपाल राष्ट्र ब्याङ्कका एक जना अधिकारीले यो आर्थिक वर्ष विद्यार्थीहरूका कारण ४० अर्ब रूपियाँ विदेशिने अवस्था रहेको बताएका छन्।

एक जना शिक्षाविद्ले नेपालका विश्वविद्यालय र कलेजहरूले गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति रोक्न नसकिने जनाएका छन्।

उच्च शिक्षा

यो वर्षमात्र विदेशमा पढ्न जानका लागि ५६ हजार विद्यार्थीले सरकारी स्वीकृति अर्थात ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएको शिक्षा मन्त्रालयले जनाएको छ।

गत वर्षको तुलनामा यो संख्या झन्डै १८ हजारले बढी हो।

विदेशमा गएर उच्च शिक्षा लिने नेपाली विद्यार्थीको मोह ह्वात्तै वढ्दै जानुको कारणबारे नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले भने, “नेपालमा राम्रा शिक्षाका अवसरहरु पर्याप्त छैनन्, पढाइ पश्चात रोजगारीका अवसरहरु पर्याप्त छैनन्। यावत कारणले विदेश जाने प्रचलन बढ्यो र यो हरेक वर्ष वढ्दो छ।”

यो वर्ष विद्यार्थीहरू सबैभन्दा धेरै अष्ट्रेलिया, त्यसपछि जापान, अमेरिका, ब्रिटेन र भारतमा गएको देखिन्छ।

सार्वजनिक कलेज र विश्वविद्यालय सुधार गर्नैपर्छ, गुणस्तरीय पढाइ सुनिश्चित गर्नुपर्छ र त्यसका लागि सबैभन्दा ठूलो कुरा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ
केदारभक्त माथेमा, शिक्षाविद्

खर्च

विदेशमा पढ्न जाँदा कुन देश, पढाइको विषय, विश्व विद्यालय अनुसारको शुल्क र बसोबाससहित एक विद्यार्थीको कम्तिमा १५ देखि २० लाख रूपियाँ खर्च हुने गरेको शैक्षिक परामर्श दिने संस्थाहरुको भनाइ छ।

त्यस हिसाबमा ५६ हजार विद्यार्थी बाहिरिँदा झण्डै १ खर्व १२ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिन सक्ने देखिन्छ।

तर स्वीकृति लिएका सबै पढ्न नजाने र केहीले छात्रवृत्तिसमेत पाउने हुनाले रकम कम देखिएको राष्ट्र ब्याङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए।

उनले भने, “यो वर्षको ११ महिनालाई आधार मान्ने हो भने ३४ अर्ब रूपियाँ बाहिर गइसकेको छ। त्यो हिसाबले यो आर्थिक वर्षमा करिब ४० अर्ब रुपियाँको हाराहारीमा पैसा बाहिरिने देखिन्छ।”

पछिल्ला वर्षहरूमा पढ्नका लागि विदेश जाने क्रम उच्च वर्गमा मात्रै नभइ मध्यम वर्गीय परिवारमा पनि बढ्दै गएकोले नेपालबाट रकम बाहिरिने क्रम बढ्दै जाने शिक्षा क्षेत्रका जानकारहरूको चिन्ता छ।

सुधार

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमा नेपालका विश्वविद्यालयहरूले शैक्षिक गुणस्तर नसुधारेसम्म विद्यार्थीहरू विदेशिने क्रम कम नहुने बताउँछन्।

उनी भन्छन्, “सार्वजनिक कलेज र विश्वविद्यालय सुधार गर्नैपर्छ, गुणस्तरीय पढाइ सुनिश्चित गर्नुपर्छ र त्यसका लागि सबैभन्दा ठूलो कुरा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ।”

विश्वविद्यालयहरू गुठी जस्ता सार्वजनिक निकायहरूले सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिलेको प्रणालीले जबाफदेहिता र गुणस्तरीय शिक्षा दुवै सुनिश्चित गर्न नसक्ने उनले बताए।

कतिपय जानकारहरूले शैक्षिक निकायहरू तलैदेखी राजनीतिक छायाँमा परेको भन्दै त्यसमा तत्कालै सुधार आउने अवस्था नरहेको बताउँछन्।

नेपाली शिक्षा प्रणालीले अभिभावक र विद्यार्थी दुवैको विश्वास जित्ने अवस्था नआएसम्म उच्च शिक्षा हासील गर्न देशबाट बाहिर जान चाहने युवाहरूको संख्यामा कमी नआउने उनीहरूको दृष्टिकोण पाइन्छ। (बीबीसीबाट)

ताजा खबर