जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै नेपाल एयरलायन्स

२०७५ असार २१ बिहीबार १२:०८:०० मा प्रकाशित

काठमाडौं, २१ असार । राष्ट्रिय ध्वजाबाहकले पहिलो वाइडवडी जहाजको आगमनसँगै लामो दुरीको गन्तव्यमा जहाज उडाउने तयारी गरेको छ ।

नेपाल देखि अष्ट्रेलिया तथा अमेरिकासम्म जहाज उडाउने लक्ष्य भएपनि नेपाल एयरलायन्सले नयाँ गन्तव्यको रुपमा जापान, कोरिया र साउदी अरबमा फ्लाइट सञ्चालन गर्ने तयारी गरिरहेको छ । यि क्षेत्रमाहरु साताको ३ दिन उडान भर्ने एयरलायन्सको योजना रहेको छ ।

हाल नेपाल एयरलायन्सले क्वाला लुम्पुर, दोहा, बैंकक, दुबई, बैंगलोर, मुम्बई र नयाँ दिल्लीमा मात्र अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा अबदेखि साउदी अरबको रियाद, कोरियाको सोल र जापानको राजधानी टोकियोसम्म उडान भर्न कार्ययोजना बनाइसकेको छ ।

रियाद र सोलको उडान दशैं अगाडिसम्म हुने तयारी गरेको नेपाल एयरलायन्सले टोकियोको लागि असोजको पहिलो हप्तासम्ममा उडान शुरु हुने जनाएको छ ।

टोकियोको नारिता अन्तर्राष्ट्रिय एयरपोर्टमा नेपालीहरुले सबैभन्दा बढि प्रयोग गर्ने एयरपोर्टमा पर्छ । हाल नेपालीहरुले थाइ एयरवेज, क्याथे ड्रयागन, चाइना साउदर्न, कोरियन एयर र सिंगापुर एयरलायन्स मार्फत् यो गन्तव्यमा गइरहेका छन् । नेपाल एयरलायन्सको आगमन पछि सिधा फ्लाइट हुने तथा भाडादर पनि नेपाल एयरलायन्सको सुपथ हुने हुँदा यसबाट नेपाली विद्यार्थी र जापानमा बस्दै आएका अन्य नेपालीहरु लाभान्वित हुने भएका छन् । त्यस्तै पर्यटकहरुलाई पनि नेपाल आउन सजिलो तथा सुपथ हुने भएको छ ।

पहिलो वाइडवडी नेपालमा आइसकेको र दोश्रो आउने क्रममा रहेकोले नेपाल एयरलायन्सले गन्तव्यहरु थप बनाउने कार्यमा लागेको हो । तथापी गन्तव्यहरु थपेपनि व्यवस्थापन विगत्को जस्तै गैर जिम्मेवार भएमा नेपाल एयरलायन्सले अपेक्षाकृत सफलता हासिल गर्न सम्भव नरहेको यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

ताजा खबर