इन्टरनेट सेवाको अभावमा तथ्याङ्क सङ्कलनमा ढिलाइ

२०७३ फाल्गुण ६ शुक्रबार १२:०५:०० मा प्रकाशित

सोलुखुम्बु, ६ फागुन ।  गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् ।

 

भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन् ।

सङ्लकन भएको तथ्याङ्क प्रत्येक दिन कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र सुविधा नभएकाले गाविसमा खटिएका प्राविधिक सदरमुकाम आउनुपरेको लगत सङ्कलन सम्पर्क कार्यालय सल्लेरी सोलुखुम्बुका सम्पर्क अधिकृत लोकुचाराज दासले बताए।

 

इन्टरनेटले कार्यक्षेत्रमा काम नगर्दा प्राविधिकले पनि दोहोरो दुःख पाएको उनले बताए। ‘डाटा अप्लोड’ का लागि जिल्लाको डाँडापारिको गाउँ विकास समिति भनेर चिनिने ‘गोली’ बाट दुई दिन हिँडेर सदरमुकाम आइपुगेको सर्वे इन्जिनियर रामकुमार पाख्रिनले भने, “इन्टरनेटकै समस्याले नियमित काममा बाधा पुगेको छ ।”

 

इन्टरनेट नहँुदा सङ्कलन गरेको डाटा ट्याब्लेटबाट उड्ने र डिस्प्ले जानेसम्मको समस्या भोग्नुपरेको इन्जिनियर पाख्रिनको दुःखेसो  छ । प्राविधिक समस्याका कारण काममा ढिलाइ हुनका साथै समयमा डाटा सङ्कलन गर्न कठिनाई हुने जिल्लाका अधिकांश प्राविधिकको गुनासो छ ।

 

भूकम्प गएको करिब २२ महिनापछि बल्ल तथ्याङ्क सङ्कलनको काम सुरु भएको जिल्लामा इन्टरनेटको समस्याले गर्दा अझ काममा ढिलाई हुने भएको छ ।

 

सम्बन्धित निकायकै काम ढिलो भएमा पीडितले यसवर्ष पनि सबै प्रक्रिया पूरा गरी घर बनाउन ढिला हुने गुनासो गर्न थालेका   छन् । गाउँमा इन्टरनेटले काम नगरेपछि प्राविधिकलाई पनि सदरमुकाम आउन र जानमै अधिकांश समय खर्चनुपरेको छ भने जिल्लाको चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा तथ्याङ्क सङ्कलनको काम नै सुरु भएको छैन ।

 

यसैगरी, लगत सङ्कलन सम्पर्क कार्यालय सोलुखुम्बुले भूकम्पपीडितको नाम यस अघिको सूचीमा छुटेको भए गाविस सचिवमार्फत टिपाउन भूकम्पपीडितलाई आग्रह गरेको छ । रासस

ताजा खबर