बेलायतमा गुञ्जियो नेपाली कविता 

२०७५ असार १७ आइतबार १५:४५:०० मा प्रकाशित

काठमाडौँ, १७ असार । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न भएको छ । 
प्राकृतिक र ऐतिहासिक महत्वको कुम्ब हिल नेपाली कविताका स्वरले गुन्जिएको थियो । काव्ययात्रामा डा सुनिल महर्जन, अभियान घिमिरे, मञ्जु न्यौपाने, सञ्जु बजगाईं, विभाष सापकोटा, मीना महर्जन, राजेश्वरी घिमिरे, सुयश बजगाईं, मुकेश श्रेष्ठ, विजय सापकोटालगायतले कविता वाचन गरेका थिए। 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले बेलायतका विभिन्न शहरमा आयोजना गरिने काव्ययात्राका क्रममा वाचित कवितालाई सङ्ग्रहको रुप दिइने जानकारी दिए। कवि अजिता सिंखडाले काव्य यात्राबाट आफू उत्साहित भएको र यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

साहित्य प्रतिष्ठानले बाह्र वर्षदेखि नेपाली साहित्यको वेबसाइट ‘समकालीन साहित्य डट कम’ सञ्चालन गर्नाका साथै नियमित रुपमा नेपाली भाषाको अनुसन्धानमूलक पत्रिका ‘प्रवासन’ र विभिन्न साहित्यिक पुस्तक प्रकाशन गर्दै आएको साहित्यकार विजय सापकोटाले जानकारी दिए। रासस

ताजा खबर