मोरङका दर्जन स्थान बाढीको उच्च जोखिममा

२०७५ असार १७ आइतबार १२:४४:०० मा प्रकाशित

 उर्लाबारी, मोरङ, १७ असार । जिल्लाका एक दर्जनभन्दा बढी स्थान बाढीको उच्च जोखिममा छन् । 

नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती जोखिममा परेका हुन् । बर्खा लागिसकेकाले सम्भावित विपत्का बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले विशेष गरी अति जोखिममा परेका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दैआएको छ । 

जिल्लामा बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केशलियालगायत ठूला नदीले वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको रेडक्रस जिल्ला सभापति सुबोधकुमार सिंहले जानकारी दिए । रेडक्रसले तयार पारेको सूचीअनुसार बक्राहाका कारण सो नदीका आसपासका बासिन्दा अति जोखिममा छन् । 

बक्राहाका कारण मिक्लाजुङ गाउँपालिका– ६ मधुमल्ला, उर्लाबारी नगरपालिका–१ मेचेडाँगी, रतुवामाई नगरपालिका– ५ गोविन्दपुर, ९ र १० को इटहरा, सुनवर्षी नगरपालिका – ६ गाविन्दपुर र ७ को बरडंगा, पथरीशनिश्चरे–५ हसन्दहका बस्ती बाढीको अति जोखिममा रहेको बताइएको छ । 

यस्तै रतुवाका कारण रतुवामाई नगरपालिका– ८ र १० को इटहरा, ७ को सिजुवा, ३ को महादेवाका बस्ती बाढीको अति जोखिममा छन् । लोहन्द्रा नदीका कारण बेलवारी– ५ का मटियारी र धोकरधरका बस्ती पनि स्थलगत अध्ययनका क्रममा अति जोखिममा रहेको पाइएको रेडक्रस मोरङका वरिष्ठ अधिकृत कुमारप्रसाद निरौलाले बताए । 

गडिया खोलाका कारण सोराभाग र केसलिया खोलाका कारण विराटनगर महानगरपालिका– १२ दरैयाबस्ती र ४ को इग्राही बाढीको अति जोखिममा छन् । रेडक्रसका अनुसार बाढीका कारण गत वर्ष मोरङमा १४ जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । विभिन्न खोलामा आएको बाढीका कारण गत वर्ष जिल्लामा तीन हजार ५०० बढी घरपरिवार विस्थापन भएका थिए । 

“बाढीका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहहरुले बजेट छुट्याएका छन् । यस वर्ष नगरपालिकाका सबै वडामा जनप्रतिनिधि निर्वा्चित भएर आइसकेकाले बाढीबाट हुने क्षति र जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गरिएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बताउँछन् । बाढीको जोखिम हुने स्थानका वडाध्यक्ष तथा सदस्यलाई विशेष जिम्मेवारीसमेत दिइएको छ । 
नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण तथा बाढीका कारण विस्थापित भएकाको उद्धार र उनीहरुको व्यवस्थापनका निमित्त गाउँसभाबाट बजेट विनियोजन भइसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । जिल्लामा बक्राहा खोलाले सबैभन्दा बढी धनजनको क्षति पु¥याउँदै आएको छ । (रासस/फायल तस्बिर)

ताजा खबर