नेपाल एयरलायन्सको ‘वाइडबडी’ जहाज काठमाडौं आइपुग्यो

२०७५ असार १४ बिहीबार १०:३८:०० मा प्रकाशित


काठमाडौं, १४ असार । नेपाल एयरलायन्सको बहु प्रतिक्षित पहिलो वाइडबडी जहाज अन्नपूर्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार बिहान ल्याण्ड गरेको छ ।

उक्त जहाज विदेशी पाइलटले फ्रान्सबाट सिधै काठमाडौं ल्याएका हुन् । ९एन–एएलवाइ रजिष्ट्रेशन भएको एयरबस जहाजले अबको एक महिना भित्र उडान भर्ने जानकारी नेपाल एयरलायन्सले दिएको छ । उक्त जहाजको पहिलो गन्तव्य दुबई हुनेछ ।

नेपाल एयरलायन्सले हाल भारतको नयाँ दिल्लीमा मात्र बिहान दैनिक उडान भर्ने गरेको छ । साँझमा दिल्लीको उडान साताको ३ दिन मात्र छ । त्यस्तै मुम्बई, बैंगलोर, दोहा, बैंकक, दुबईमा सातामा ३ उडान भर्दै आएको छ भने क्वाला लुम्पुरमा साताको ४ उडान भर्दै आएको छ ।

नयाँ जहाजले हाल यिनै गन्तव्यमा थप उडान गर्ने र ३ महिना पछि नयाँ गन्तव्यमा उडान भर्ने नेपाल एयरलायन्सनको योजना रहेको छ ।

त्यस्तैगरी धौलागिरी नामको अर्को वाइडबडी जहाज साउन महिनाको मध्यतीर आइपुग्ने तालिका रहेको छ । दुबै जहाजको आगमन पछि नेपाल एयरलायन्सको अन्तर्राष्ट्रिय उडान नियमित हुने तथा यात्रुले मितव्ययी रुपमा हवाइ यात्रा गर्न पाइने विश्वास गरिएको छ ।

वाइडबडी जहाजमा इकोनोमी तर्फ २५६ सिट र बिजनेश क्लास तर्फ १८ सिट गरी कुल २७४ यात्रु बोक्ने क्षमता हुन्छ । यस जहाजले यसअघि नै परिक्षण उडान भरिसकेको छ ।

 

ताजा खबर