पर्व र समय सुधारको माग

२०७५ असार ९ शनिबार २१:०६:०० मा प्रकाशित

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ । 

वर्षको छोटो दिन मंसिर पूर्णिमा, लामो दिन जेठ पूर्णिमा, दिन र रात बराबर हुने फागुन र भदौ पूर्णिमा, यससँग सम्बन्धित फागुन र असार संक्रान्ति विसं २०७६ को पञ्चाङ्गमा उल्लेख गर्न माग गरिएको हो । पर्व समय सुधार राष्ट्रिय समाज नेपालले नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग यस्तो माग गर्ने निर्णय गरिएको होे । 

शनिबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्यले पात्रोमा चार वटा विन्दुलाई विशेष नाम दिइएको बताए । 

“दिन र रात बराबर हुने दिन वर्षमा दुईपटक वैशाख १ र कातिक १, सबैभन्दा लामो दिन साउन १, सबैभन्दा छोटो दिन माघ १ गतेको चार वटा विन्दु हाम्रो संस्कृतिअनुसार महत्वपूर्ण दिन हन्, यी चार विन्दुका वरपर हाम्रा चाड पर्व घुम्छन्, यसका लागि यी विन्दु सही ठाउँमा हुनुपर्छ, अहिले यो क्रम बिग्रिएको छ”–उनले भने । 

प्राचीनकालमा यो विन्दु ठीक भए पनि हाल दिनरात बराबर हुने दिन चैत ७ र असोज ७ गते परेको कार्यपत्रमा उल्लेख छ । यसैगरी दक्षिणायन विन्दु साउन १ नभै असार ७ र उत्तरायण विन्दु माघ १ नभै पुस ७ मा सरेको ज्योतिष गणितबाट स्पष्ट हुने सहप्राध्यापक आचार्यको भनाइ छ । 

कार्यक्रमको निर्णय सुनाउँदै नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभागका प्रमुख प्राज्ञ दीनेशराज पन्तले पात्रोमा भएका शास्त्रविरुद्धका विषय परिमार्जन गर्दै जानुपर्ने बताए । पञ्चाङ्ग निर्णायक समितिको सदस्य समेत रहेका उनले सुधारका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए । 

कार्यपत्रमाथि समितिकै सदस्य कीर्तिमदन जोशीले टिप्पणी गर्दै पात्रो सुधारका लागि सबैको सहयोग आवश्यक भएको सुनाए । 

कार्यक्रममा इन्जिनियर हरिनारायण मल्ल, समाजका अध्यक्ष महेश्वर जुजु राजोपाध्या, महासचिव कनकविक्रमध्वज जोशी, डा उत्तम कर्माचार्य, नेपाल विश्व हिन्दू महासंघका अध्यक्ष केदारनाथ दाहालले समय एवं पर्व सुधारका लागि छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । विसं २०६४ देखि नै पर्व सुधारको विषय उठे पनि टुंगोमा पुग्न सकेको छैन । रासस

ताजा खबर